हिन्दू संस्कृतिमा प्रत्येक दिन कुनै न कुनै चाडपर्व आइरहन्छ। दुःख, पिर बिसाउने ठाउँ नै चाडपर्व हुने गर्छन्। खुसी र हर्कले सबैको घरमा बास गर्छ। पर्वहरू अनेकौं छन् तर दसैंको महत्व भिन्न छ। बडा दसैं यसै भनिन्दै न। सात समुद्र टाढा हुने परदेशी पनि दसैंका दिन घर टुप्लुक्क आईपुग्छन्। हिन्दूहरूले दसैं विभिन्न तरीकाले मनाउँछन्। त्यसमा पनि नेपालीहरूले मनाउने तरिका भिन्न एवं मनमोहक हुन्छ। नेपाली जहाँ भए पनि धुमधामले दसैं मनाउँछन्।
भारतको मणिपुर राज्यमा पनि नेपाली भाषीहरू बसोबासो गर्छन्। नेपालीहरूको विशेषता के छ भने जहाँ गए पनि आफ्नो धर्म अनि संस्कृति छोड्दैनन्। नेपाली समूहको टोलमा पसेपछि नेपाल देशको स्वरूप देखिन्छ। मणिपुरको कुरा गर्दा पनि नेपालीले आफ्नै भिन्नै नेपालीत्व स्थापित गरेका छन्। नेपाली सबै चाडबाड हर्षोउल्लासका साथ मनाउछन्। दसैं पर्व नेपालीको महान पर्व हो। मणिुपरका नेपालीले पनि यो चाडलाई बडो हर्षका साथ मनाउने गर्छन्।
सोह्र श्राद्ध लागेपछि दसैं आएको चहलपहल बढ्न थाल्छ। घर श्रृङ्गार्ने काम सुरू हुन्छ। आजभोली पो इँटा र सिमेन्टका घर बनिने भएर घरमा दसैंको बेला पेंट हुन लागे। भाडा दिएर मजदुरहरूले घरलाई झलमल्ल बनाइदिन्छन्। आजभन्दा दुई दशक अगाडिको कुरा गर्दा मणिपुरमा नेपाली भाषीका घरहरू प्रायशः माटा र खरले बनाएका हुन्थ्ये। सोह्र श्राद्ध लागेपछि पहेलो माटो, कमेरो (सेताे माटो), रातो माटो खोज्न लाग्थे। वर्षभरी घरभित्र कुना काप्चामा थुप्रिएका फोहाेर, सिङ्गार निकालेर आफैं घर लिप्थे। रातो माटो अनि ब्याट्रीको कालो पाउडर पानीमा घोलेर भित्ताको फेदामा, दैला-झ्यालमा बुटा हान्थे। चिटिक्क पारेर दुलही समान घरलाई सिङ्गार गर्थे।
घर चिटिक्क बनाएपछि दसैं आएको लाग्छ। सोह्र श्राद्ध सकिएपछि नवरात्री सुरू हुन्छ। नवरात्रीको पहिलो दिनमा मन्दिरमा दुर्गा माताको मूर्ति वा तस्वीर राखिन्छ। प्रत्येक घरमा जमरा राख्छन्। कसैकसैले घरमै दुर्गामाताको स्थापना गरी व्रत राख्दछन् नवमीं सम्म। मन्दिरमा दिनैपिछ्चे पूजापाठ अनि भजन किर्तनको गुन्जनले गाउँमा अलग्गै हर्षको परिवेश दिन्छ। परदेशमा काम गर्ने छोरा-छोरीकाे घर आउने ताँती लाग्छ। छोरा-छोरी घर आएकाले सबैको घरमा खुशी नै खुशी छाउँछ। परेदशीहरू गाउँघर डुलिरहेका हुन्छन्।
नेपालीको दसैं खसीको कुरा नगरी अपुरो हुन्छ। ‘दसैं आयो, खसी कहिले काट्ने’ प्रायको वार्तालापमा सुन्न पाइन्छ। सप्तमीको दिनबाट दसैंको चहलपहल झन् बढ्न लाग्छ। ‘नयाँ’ पूज्नेले सप्तमीमा जिउँदो माछो, म्वाँ, हाँस पूजा गर्छन् दैव भाकेर। अष्टमीमा गाउँभरी खसी काटिन्छ। केही घर छाडेर सबैको घरमा मासु पाक्छ। गाउँ नै मासुको बासनले दसैंलाई बडा दसैं आएको पार्छ। नवमींमा बलि गर्ने प्रथा लगभग सकियो। १५/२० वर्षअघि मैले नै गाउँमा बलि हानेको देखेथें। खसी, राँगो हानेर मातालाई रक्ती (रगत) नचढाए पनि प्रायले कुखुरा या फललाई पशु जस्तो रूप मानेर काट्छन् अनि देवी, जमरा, हतियारको पूजा गर्छन्।
नवरात्री लागेपछि सामूहिक रमाइलो झन् आकर्षकको केन्द्र हुन्छ। गाउँमा नाटक मंचन, सांस्कृति कार्यक्रम, नाचगान, खेलको प्रतियोगिता धूमधामसँग हुन्छन्। गाउँबासीले बडो आनन्दका साथ भाग लिने गर्छन्। दसैंको छेउछाउ वर्षमा दिने दान एवं धान मन्दिरमा बुझाउँछन्।
दशमीका दिन बिहानै सबै गाउँले मिलेर दुर्गामातालाई बाजा बजाएर नाच्दै, भजन गर्दै धूमधामसँग नदीमा लगेर विसर्जन गर्छन्। मन्दिर आएर पूजा गरेको प्रसाद, जमरा अनि विजय दशमीकाे टिका लिएर घर जान्छन्। सबैले साइतको टिका घर–घर पठाउछन्। परिवारका सबै सदस्य एकत्रित भएर अग्रजबाट टिका थाप्छन्। आशीवार्द लिन्छन्। आफन्ताकाेमा विजय दशमीको टिका थाप्न जान्छन्। नौला दुल्लादुलही काशेली बोकेर खुसीसँग बिहेपछिको पहिलो आशीवार्द थाप्न हिँडेको देखिन्छ। दशमीपछि पनि टिका लगाएपछि भने खेतमा पहेंलै पाकेको धान काट्न जान्छन्। टिका लगाएर न भ्याएकाले पूर्णिमासम्म टिका लगाइरहन्छन्। पूर्णिमासम्म सबैको निधार रङ्गीविरङ्गी हुन्छ।
मणिपुरमा अरू जाति भएकाले पनि नेपालीको पर्व देखेर खुशी भएको देखिन्छन्। ‘निधारमा चामल टास्ने पर्व’ भनेर हँसी ठट्टा पनि गरिराखेको हुन्छन्। मणिपुरका मूल बासिन्दा मैतेइँ हिन्दू हुन्। उनीहरूले पनि नवरात्री र दसैं मनाउछन्। नवरात्री लागेपछि दुर्गामाताको प्रतिमा स्थापित गरेर नौं दिनसम्म पूजन गर्छन् अनि दशमीमा विसर्जन् गछर्न। उनीहरू नवरात्रीलाई ‘पानथोइबी इरापात’ भन्ने गर्छन्। यहाँ नागा, कुकी अर्का मुख्य जनजाति हुन्। यीनीहरूले क्रिस्चियन धर्म मान्छन्। नेपाली परिवारसँग राम्रो चिनजान हुनेहरूले दसैंमा टिका समेत लगाउने गर्छन्।
मणिपुरको दसैंले नेपालको दसैंलाई बिर्साउने गर्दछ। बडा दसैं सकिएपछि अर्को सालको दसैंको प्रतिक्षामा बस्न लाग्छन्। दसैं, दसैं हो, महान पर्व, खुसीको पर्व।
सबैलाई दसैंको शुभकामना।