शिक्षकबाट निवृत्त भएपछि लेखनमा जमेका साहित्यकार दलबहादुर

लोकान्तर

काठमाडौं

दलबहादुर गुरुङ निवृत्त शिक्षक हुन् । उनले पढाउन छाडेको गत असारमा ७ वर्ष पुग्यो।

अहिले आएर उनलाई शिक्षण पेशा जाँगिर होइन, समाज परिवर्तन गर्ने यात्रा रहेछ जस्तो लाग्न थालेको छ।

यतिबेला उनी साहित्य सिर्जनामा छन्, उनी सामाजिक सेवामा छन्। उद्यमी महिलाका संघर्ष र सफलताका कथालाई बुनेर पौरखी पात्र पुस्तक लेखिसकेका छन्। उनको लेखाइ, अध्ययन र वाचन लोभलाग्दो छ।

लेखकका रूपमा आफ्नो परिचय फराकिलो बनाउँदैछन् उनी। उनी प्रगतिशील लेखक संघ रुपन्देही शाखा अध्यक्ष पनि हुन्।

दलबहादुर भन्छन्, ‘निरन्तर जो साधनामा लागिरहन्छन् उनीहरूको जीवन सुन्दर हुन्छ।’ उनलाई मोसफलको साहित्यका ताराका रूपमा पनि लिइन्छ।

सदा हँसिलो मुहारमा देखिने गुरुङ थकित मुद्रामा कहिल्यै देखिन्नन्। पाल्पाको तिनाउको दोभानमा जन्मिएका दलबहादुर गुरुङले नसोध मलाई (गीतिनाटक), आस्थाका स्वरहरू (चटनीसंग्रह), चिट्ठी साहिँलीलाई (यात्रा संस्मरण), नौ फन्का (लामो कविता), हात्ती करायो (बालगीत) लेखिसकेका छन्।

संरक्षण यात्रा उनको प्रकाशोन्मुख कृति हो। उनले विभिन्न साहित्यिक र सामाजिक संघसंस्थाबाट थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । सन् २०१८ मा डब्ल्यूडब्ल्यूएफ संरक्षण पुरस्कार प्राप्त गरेका उनले शैक्षिक योजना तथा व्यवस्थापन र स्वास्थ्य शिक्षामा स्नातकोत्तर गरेका छन्। 

प्रकाशित मिति: : 2021-10-09 21:04:00

प्रतिकृया दिनुहोस्