प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’, यस्ता छन् तीन एजेण्डा

File Photo
File Photo

एकपछि अर्को विवादमा मुछिदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्।

सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फूलकोर्टमा छलफल गर्ने प्रचलन छ।

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि चौतर्फी दबावमा परेको न्यायिक नेतृत्व फुलकोर्ट बोलाएर आफू यो प्रकरणमा नमुछिएको सन्देश दिन चाहन्छ।

सर्वोच्च बार एसोशिएसनले प्रधानन्यायाधीशलाई भेटेरै र नेपाल बार एसोशिएसनले विज्ञप्तिमार्फत प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो। 

यो बैठकले सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको संयोजकत्वमा गठित गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्ने सम्वन्धी प्रतिवेदनमाथि समेत छलफल गर्ने सर्वोच्चका एक न्यायाधीशले बताए। उनका अनुसार फुलकोर्ट बैठकले यस विषयमा छलफल गरी प्रतिवेदन ग्रहण गर्ने र प्रतिवेदनले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्दा संशोधन गर्नुपर्ने निर्देशिका र कार्यविधिमा संशोधनको गृहकार्य पनि गर्नेछ।

आज बस्ने भनिएको बैठकमा दसैं अवधिमा मुद्वा सुनवाइ गर्ने न्यायाधीशहरूको नामसमेत तय गरिने ती न्यायाधीशको भनाइ छ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा दिने चलन छ। यो बीचमा बन्दीप्रत्यक्षीकरणलगायतका अत्यावश्यक मद्दाको सुनुवाइ गर्न सिमित न्यायाधीशलाई जिम्मा दिने चलन छ। कुन दिन कुन न्यायाधीश उपस्थित भएर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा पनि फुलकोर्टमा छलफल हुने उनले बताए।

प्रकाशित मिति: : 2021-10-05 09:38:00

प्रतिकृया दिनुहोस्