नेपाली पर्यटकले ब्युँताउँदैछन् पोखरा

आयोमेल

काठमाडाै‌

कोरोना कहरले आक्रान्त मुलुकको पर्यटन उद्योग बिस्तारै तंग्रिने क्रम सुरु भएको छ। झन्डै डेढ वर्षदेखि कोरोना महामारीले थलिएको पर्यटन उद्योग अझै केही अवधि नेपाली ?(स्वदेशी) पर्यटकको भरमा बाँच्नुपर्ने निश्चित छ।

संघीय राजधानी काठमाडौंपछि मुलुककै दोस्रो ठूलो पर्यटन गन्तव्य पोखरा लामो समय सुनसान भएपछि अहिले ब्युँतिन थालेको छ। फेवाताल लेकसाइडदेखि पोखरा उपत्यका वरिपरिका पुराना तथा नयाँ गन्तव्यमा बिस्तारै चहलपहल र रौनक बढ्न थालेको छ।

यस्तो चहलपहलमा विदेशी पर्यटक भने देख्न पाइँदैन। लेकसाइड, विश्व शान्ति स्तुपा, सराङकोट, महेन्द्र, चमेरे, गुप्तेश्वर महादेव गुफा, डेभिस फल, विन्द्यवासिनी मन्दिर, तालबाराही मन्दिर, बेगनास ताल, रुपा तालदेखि नयाँ थपिएका बन्जी जम्प, जिप फ्लायर, महादेवको ठूलो शालिक, टापु रिसोर्टको ‘हात’ र झुलामा झुल्नेहरू सबै नेपाली पर्यटक हुन्।

कास्की जिल्ला प्रशासनले असोज १ बाट सबै क्षेत्र खुला गरेपछि बिस्तारै चहलपहल पनि बढ्दै गएको छ। यसमा स्थानीयको आवागमन त बढ्ने भयो, त्यसमाथि बाहिरबाट आउने नेपाली पर्यटकको आवागमन त विशेष नै हुने पर्यटन तथा होटल व्यवसायीको अनुभव छ।
 

प्रकाशित मिति: : 2021-10-04 10:43:00

प्रतिकृया दिनुहोस्