पाेखरेलीका घर–घरमा मःम पुर्‍याउने लाहुरेनी

लाहुरेको जिन्दगी। सुख चयनको जिन्दगी। आरामको जिन्दगी। शान सौकतको जिन्दगी। आम मानसमा लाहुरेप्रति यस्तै सोचाई आउँछ। मिनु पुर्जा र पुष्पा पुन पनि लाहुरेनी हुन्। तर, उनीहरुको जिन्दगी लाहुरेनीको जस्तो होइन। यी दुई आरामलाई हराम ठान्छन्। उनीहरु दिनभर व्यस्त हुन्छन्।

पोखरा ३० ढुंगेपाटनमा बसोबास गर्ने पर्वतकी पुष्पा म्याग्दीकी मिनु आरामको जिन्दगी छोडेर उद्यममा लागेका छन्। आफूहरु जस्तै दिदीबहिनीलाई पनि उद्यममा लगाएका छन्।

बसाई सरेर आएदेखि साथी बनेका पुष्पा र मिनुले पहिलो चरणको लकडाउन सुरु हुनुभन्दा १ महिनाअघि ‘दिदीबहिनी मःम उद्योग’ सञ्चलानमा ल्याएका छन्। आफू पनि उत्पादनमुलक काममा लाग्ने महिला दिदीबहिनीलाई पनि स्वरोजगार बनाउने उद्देश्य अनुसार कम्पनी सुरु गरेका यी दुई लाहुरेनीले कम्पनी सुरु गरेको महिना दिन नबित्दै राम्रो बजार पाउदै थियो।

०७६ चैत ११ देखि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्‍याे। ‘सुरु भएको १ महिना जति भएको थियो। लकडाउन भयो। अरु दिदीबहिनी बिदामा बस्नुभयो। हाम्रो काम रोकिएन, घरघरमै मःम पुर्‍ययायौं,’ दिदीबहिनी मःम उद्योगकी सञ्चालक पुष्पाले भनिन्।

विश्व नै कमजोर पार्ने महामारीले कैयौं व्यवसायी पलायन हुन पुगे। तर, महामारीबीच जन्मिएको ‘दिदीबहिनी मःम उद्योग’ भने अझैं फैलिदै छ।

‘पहिला त हामी एउटै समाज हौं, साथी भयौं। उहाँको घर म्याग्दी। मेरो पर्वत। यहाँ बसाई सरेर आईसकेपछि हामी एउटै ढुंगेपाटन पुन मगर समाजका कनेक्ट भयौं,’ पुष्पाले उद्योग र कम्पनीको सुरूवातबारे अघि सुनाइन्, ‘हामी एउटै संस्थाको सदस्य भई सकेपछि मित्रता बढ्दै गयो। सोचाई मिल्दै गईसकेपछि साथीको सम्बन्ध घनिष्ठ भयौं। त्यसपछि बसि राख्नु भन्दा केही गरौं भन्ने सोच आयो।’

उनीहरु दुवैका श्रीमान लाहुरे हुन्। भारतीय सैनिकका रुपमा कार्यरत छन् दुवैका श्रीमान।

‘श्रीमान त दुवैको कमाईमा हुनुहुन्छ। उहाँको पनि इन्डियन आर्मी। मेरो पनि,’ पुष्पाको हो मा हो मिलाउदै मेनले भनिन्, ‘श्रीमानको कमाई खाएर मोबाइल मात्रै हेरेर बस्नु भन्दा अरु पनि केही काम गर्न पाए हुन्थ्यो भनेर दिमागमा छटपटी हुन्थ्यो सधै। के–के गर्ने के गर्ने भनेर सोच्दासोच्दै केही प्रोडक्टिभ काम गरौं  न भन्ने सोच आयो। उत्पादनमुलक काम गर्‍याे भने हामी मात्रै होइन। हामी जस्तै अरु महिलाहरु पनि हुनुहुन्छ। उहाँहरुलाई पनि समेट्न सकिन्छ भन्ने लाग्यो र सुरु गर्‍यौं।’

कुनै काम गर्न हुटहुटी चाहिन्छ। त्यो भन्दा धेरै सीप। अरु काम गर्न अरु काम गर्न ज्ञान नभए पनि मःम बनाउन सामान्य तालिमले पुग्ने विचारले मःम व्यवसाय थालनी गरेको उनले सुनाइन्।

‘सामान्य तालिम पाए सबैले सक्नुहुन्छ। सबैलाई सजिलै समेट्न सकिन्छ भन्ने सोच आयो। यति पढ्नुपर्छ भनेर पढाई गरेको सर्टिफिकेट पनि चाहिएन,’ उनले भनिन्, ‘अहिले फेरि रोजाई पनि कस्तो भने कि मम कि चाउमिन हुन्छ। खाजा खादा कि मःम कि चाउमिन हुन्छ। त्यसैले हामीले मःम रोज्यौं। अरु दिदी बहिनीलाई पनि समेट्न सकेका छौं।’

यसअघि ब्युटीपार्लर तालिम पनि लिएकी रहिछन् मेनुले। सानै उमेरमा बिहे भएपछि श्रीमानको साथ लागेर लाहुर (भातर) पनि गएकी रहिछन्। उद्यमशिलतामा जम्ने योजना पहिलेदेखि नै बनाए पनि अन्तिममा आएर मःम उद्योग नै उचित लागेको उनले सुनाइन्।

७ कक्षा पढ्दापढ्दै बिहे गरेकी पुष्पाले भने अझैंसम्म बिट मारेकी छैनन्।

‘०५८ सालमा बिहे भएको हो। बिहे भएपछि पढ्न हुँदैन भन्ने थियो। बिहे गरेर पढेको मान्छेलाई समाजले छुट्टै दृश्टिकोणले हेथ्र्यो। यस्तो अटेरी गरेको भन्ने थियो। त्यसैले मैले पढाई छोडेको थिएँ,’ उनले सुनाइन्।

बिहेपछि ८ कक्षा पास गरेपछि उनको पढाई छुट्यो। श्रीमानको पछि लागेर उनी पनि लाहुर पुगिन्। पढाई छाडेको ११ वर्षपछि पुनः उनले पढाइ रोजिन्।

लाहुरेकाे सपना बाेकी बर्मा पसेका ‘भुत्ते साहु’को जेरी पसल, जसले राजा महेन्द्रबाट बक्सिस पाए

‘सानै उमेरमा बिहे गरेर पढाई छुट्यो। फुपुको छोरा मामाको छोरी हक लाग्छ भन्ने हुन्छ। ७ कक्षामा पढ्दा बिहे भयो। ८ कक्षा पास गरें। अनि पढेर के हुन्छ ? के पाउछौं भन्ने कुरा आयो ?’ उनले सुनाइन्, ‘पछि समय बित्दै जाँदा पढाइको महत्व कति रहेछ ? थाहा भयो। छोराछोरी जन्मिए। श्रीमानसँग इन्डिया पनि गएँ। ८ क्लास पास गरेर छोडेको ११ वर्षपछि फेरि एसएलसी दिएको हो।’

८ कक्षा पास गरिसकेपछि ९ कक्षा नपढी एसइई (एसएलसी) दिन पाउने व्यवस्था छ। उनले व्यवस्था मैले पनि उपभोग गरिन्। नियमित क्याम्पस जान नपाए पनि घरमै स्वःअध्ययन गरेर पढाइलाई निरन्तरता दिएको उनले सुनाइन्।

‘मास्टर्स दुई वर्ष हो। ६ महिना सकिन लाग्यो। एक्जाम् हुँदैछ। १८ महिना संघर्ष गर्दै छु। टियु (त्रिभुवन विश्वविद्यालय) मा ब्याचलर जोइन भएको थिएँ। घरमै बसेर एक्जाम दिन गएँ। घर धन्दा हेर्ने हुँदै छ,’ उनले भनिन्।

अहिले मःम उद्योगमा लागेपछि समय निकाल्नै धौधौ भएको छ, मेनु र पुष्पालाई। ‘यसमैमा व्यस्त भएका छौं। आर्थिक सपोर्ट पनि भईरहेको छ। अरु दिदी बहिनीलाई पनि समेट्न सकेका छौं। यसबाट सन्तुष्ट छौं,’ उनीहरुले भने। उनीहरुको उत्पादन पोखरा र तनहूँको खैरेनीटारक्षेत्रसम्म पुग्छ। 

मःम तयार पार्नेदेखि घर–घरमा पुर्‍याउने काममा उनीहरु दुवै जना जुट्छन्। पहिलाको तुलनामा बिक्री दर घटेको उनीहरुले सुनाए। अहिले लगभग २,३ सय प्लेट मम बिक्री भईरहेको छ।

नेपाल सरकार घरेलु उद्यमीबाट लेखनाथ उद्योग वाणिज्य संघसँग समन्वयमा १० दिने उद्यमशिलता तालिम लिएपछि व्यवसाय गर्ने आँट पलाएको उनीहरुले सुनाए। काम सुरू गर्न चुनौतीहरु भए पनि आँटेपछि पूरा गर्न सकिने उनीहरको तर्क छ।

अहिले दिदीबहिनी मःम मा ६ जना महिलाले रोजगारी पाएका छन्।

घरधन्दा सकेर बिहान १० बजेदेखि काममा जुट्का उनीहरु बेलुका ५ बजेसम्म मःम उद्योगमै व्यस्त हुन्छन्। कहिले त ८, ९ बजेसम्म पनि मःम घर–घरमै पुर्‍याई रहेका हुन्छन्। 

भोकको संघर्षः उनीहरुलाई के थाहा, यहाँ सोनु कसरी बाँचिरहेको छ भनेर (भिडियाे)

१२ लाख लगानी गरेर फलाएको च्याउ पुर्न बाध्य भएका किसानको कथा (भिडियो)

लाहुरेसँग एक साँझ

प्रकाशित मिति: : 2021-09-29 09:14:00

प्रतिकृया दिनुहोस्