‘वि.स.२०१५ सालमा तत्कानीन राजा महेन्द्र पोखरा भ्रमणमा आएको बेला उनकै स्वागतका लागि विभिन्न स्वागतद्धारहरु बनाइएको थियो। मीठाइका परिकारहरुको एउटा स्वागतद्वार बुवाले बनाउनु भएको थिया। राजा महेन्द्रले पनि जेरी चाख्नु भएछ। उहाँलाई औधी मन परेछ। मिठाई मन परेपछि बुवालाई रत्न मन्दिरमै बोलाएर मीठाइ बनाउन लगाउनुभयो राजाले, बुवाले मिठाई बनाएर राजाकै हातबाट सम्मान स्वरुप बुबाले बक्सिस पनि पाउनु भएको थियो।’
बाहिर साउने झरी दर्की रहेको छ। सघन होइन, सिमसिम। राजुकमार चुल्याजु पीठो उभाउँदै तेलमा जेरीको आकार निकाल्दै, कुराकानी गर्दैछन्। जेरी लिन र चाख्न आउनेहरुको सानोतिनो भीड नै खडा छ। घडीमा बिहानको ८ पनि बजेको छैन। पोखरा भीमसेन टोलको जेरी पसलमा हामी जेरी खादै, जेरी जस्तै मिठो गफ पनि सुन्दै थियौं। यो त्यहीँ ठाउँ हो, जहाँ एकसय वर्ष लामो इतिहास बोकेको ‘भुत्ते साहुँ’को जेरी पसल। परम्परा धान्दै अझैं पनि स्वादले ग्राहक लोभ्याउने जेरी पसल कस्तो रहेछ? हेर्न र जान्न हामी त्यहाँ पुगेका थियौं।
०००
जेरी पसलको कथा म्यान्मार (बर्मा)बाट सुरु हुन्छ। राजुकमारका बुबा सिद्धिलाल चुल्याजु। जाे, लाहुरेकाे रहर पालेर भारत पसे। उनी भारत हुँदै म्यान्मार छिरे। त्यहाँ चार–पाँच वर्ष रहँदा पाककला सिके। लाहुरे हुन बर्मा हिँडेका सिद्धिलाल मीठाई पसले पो भए...।
वि.स. १९९० सालतिर म्यान्मारबाट फर्केर राजकुमारका बुवा सिद्धिलाल चुल्याजुले पोखरामा जेरी पसल खोले। बुवाको मियो पच्छ्याउदै राजकुमारले अझै पनि बिडो थामिरहेका छन्।
चुल्याजु जब 'भुत्ते साहु' बने
पोखराको इतिहास कति नै लामो छ र!
भर्खर बस्ति बस्दै थियो। अहिले जस्तो घरैघर त्यो बेला कहाँ हुनु ? अहिले जस्तो व्यापार व्यवसाय पनि थिएन। व्यापार चल्ने, गर्ने ठाउँ भैरव टोल, गणेश टोल नै थियो। जहाँ अहिले व्यापार चल्न मुश्किल छ। हो, अहिलेको न्युरोड, नयाँबजार र चिप्लेढुंगा क्षेत्रमा कंक्रिटका अग्लाअग्ला बिल्डिङले भरिएपछि व्यापार त्यतै स-यो। भैरव टोल, गणेश टोल अहिले शून्यप्राय छ।
०००
लाहुरबाट सिकेको सीप लगाइ राजकुमारका बुवाले जेरी पसल थापे। त्योबेला जेरी पसल चलाउने सिद्धिलाल एक्ला थिए। उनले बनाएको जेरीको स्वाद चाख्न पल्किएका ग्राहकहरूले उनलाई साहु भने। जेरी पसलका साहुजी सिद्धिलाललाई जेरी पारखीहरुले नै नयाँ नाम राखिदिए ‘भुत्ते साहु’।
कालान्तरमा जेरी पसलको नाम नै ‘भुत्तेको जेरी पसल’ रह्यो। सिद्धिलालमा मात्र सीमित रहेन, यो नाम। उनका छोराहरूसम्म जोडियो। भित्तामा साइन बोर्ड छैन। तर, मान्छेहरू ‘भुत्तेको जेरी पसल’ भनेपछि चिनिहाल्छन्।
पोखरेलीहरूका लागि त यो नाम नौलो होइन। तर पोखरा आसपासका मान्छेहरू घुम्न आउँदा ‘भुत्तेको जेरी पसल’मा जेरी खान हत्तपत्ति छुटाउन्नन्।
राजकुमारको परिवारलाई जेरी पु-याउन भ्याई नभ्याई हुन्छ। राजकुरमारसहित उनकी श्रीमती र छोराछोरी उनलाई सघाई रहेका भेटिन्छन्।
राजकुमार तात्दै गरेको कराईको तेलमा जेरीमा बुट्टा भर्छन्। उनकी पत्नी दयालक्ष्मी तयार भइसकेको जेरीमा चिनीको रस मिसाउछिन्। छोराछोरी आउने ग्राहकलाई मिठाई पोको पारेर दिन्छन्।
जेरीसँगै लाखमरी, ऐठे, खस्ता, लालमोहन आदि मीठाइहरु पसलमा तयार हुन्छ। दसैं, तिहार चाडपर्वमा भुत्तेको जेरीको विशेष माग रहन्छ पोखरामा। बिहेबारी, नेवारका विभिन्न पूजापाठमा सेलरोटी, फिनी र अनरसाको माग आउछ।
‘पहिला पहिला त घिउमै पोल्थ्यौं,’ राजकुमारले अघि सुनाए, ‘त्यसपछि खाटी महमा डुबाएपछि एक फरक स्वाद थपिन्थ्यो। अहिले त घिउ महंगो भयो। त्यसैले आजकल हामी सनफ्लो तेलमै पोल्छौं। घिउमा बनाउने हो भन महँगो पर्छ। सबैलाई खान पनि मिल्ने भनेर तेलमा बनाउछु।’
कोभिड १९ महामारीले उनको व्यापार पनि घट्यो। सामान्य अवस्थामा पनि १० हजार बढीको व्यापार हुन्थ्यो। अहिले पाँच–छ हजारमा खुम्चिन पुग्यो। घर बाहिर निस्किन पनि डर छ। तै–पनि जेरीको स्वादले लोभ्याएर पाइला उतै डोहो-याई हाल्छ। सुरक्षा सतर्कता अपनाएरै भए पनि जेरी चाख्न आइ रहन्छन् ग्राहकहरु। यसैले त राजकुमारलाई पुर्खाको पेशा छोड्न मन लागेको छैन। आफ्ना छोराछोरीले पनि यो काम सिकुन्। बावुको पेशा अघि पनि बढाउन भन्ने लाग्छ रे ! राजकुमारलाई। तर, कर भने लगाउन्नन्। छोराछोरी ब्याचलर पढ्दै पढ्दै छन्। फुर्सदमा बाआमालाई काम सघाउछन्।
चिप्लेढुंगा मास्तिर लागेपछि भीमसेन मन्दीर पुगिन्छ। मन्दीरबाट दुईचार घरमाथि लागेपछि दाहिनेपट्टि एउटा पुरानो दुई तलाको घर देखिन्छ। कसैलाई ‘भुत्तेको जेरी पसल’ कुन हो ? सोध्नु भयो भने सबैले भन्दिन सक्छन्, ‘ऊ त्यही हो।’