हिजोआज आकाशमा उडेका छैनन्, प्याराग्लाइडिङ।
न आउछन् घुमन्तेहरु पहिले जसरी। फेवाको पानी कहिले किनारमा बेस्सरी छाल हान्छ। कहिले शान्त बस्छ।
प्याराग्लाइडिङ आकाशमा उड्न छाडेदेखि शून्य-शून्य छ, खपौदी। समय पनि त अरु बेलाजस्तो छैन। एक मिनेटको अन्तरमा दुई–तीन वटा प्याराग्लाइडिङ अवतरण हुन्थे। प्यारा पाइलटले यात्रु ओराल्थे। आकाशमा उडेकालाई पर्खिरहेका हुन्थे। तब न रमाइलो हुन्थ्यो। व्यापार हुन्थ्यो।
सोनुप्रसाद गौड कसैलाई पर्खिरहेका छन्। घरि आकाशतिर हेर्छन्। घरि पर–परसम्म आँखा तन्काउँछन्। हो, प्याराग्लाइडिङ उड्न छाडेदेखि उनको व्यापार ओरालो लागेको छ।
प्यारा पाइलटहरु यात्रुलाई सुरक्षित अवतरण गराएपछि आउँथे। कोही जुस मगाउथे। कोही चट्पट मगाउथे। फास्टफुड आइटम जे खान मन छ मगाउथे। यात्रुहरु पनि चिसो पिउँदै आकाशतिर हेर्दै मन शितल पार्थे। मनमनै भन्थे, ‘त्यत्रो उचाईबाट झरियो !’
समय उस्तो रहेन। कोभिड–१९ ले दैनिकी नै उल्टो बनाइदियो। संक्रमण न्यूनीकरण तथा रोकथामको लागि सरकारले देशव्यापी लकडाउन जारी गर्यो। कामधन्दा छोडेर मान्छे घरभित्रै बस्नुपर्ने उर्दी जारी भयो। यहाँसम्म त सोनुको दैनिकी ठीकठाकै चल्दै थियो। बिहान बेलुका दुई छाक जोहो भइहाल्थ्यो।
केही दिनसम्म त ठिकै भयो। व्यापार गर्नुपर्ने थिएन। ग्राहक भड्किने पीर पनि रहेन। परिवारका सदस्यहरु सबै साथै थिए। अलिअलि बचत पनि थियो। सोचेका थिए रे, ‘बिहान बेलुका दालभात खान पुगे त भयो नि ! बाँकी लकडाउन खुलेपछि गरौँला।’
संयोग पनि कस्तो भइदियो भने– यता लकडाउन सुरु हुनु, उता श्रीमती बिरामी हुनु ! अलिअलि भएको बचत पनि बिस्तारै सकिँदै थियो। काँधको नशा च्यापिएर थला परेकी श्रीमती निको पार्न कहाँसम्म पुगेनन् सोनु। मणीपाल अस्पताल हुँदै भैरहवा, गोरखपुर लखनउसम्म। तैपनि श्रीमतीलाई निको पार्न सकेनन्।
पहिलो लकडाउन ताका लखनउमा श्रीमतीलाई लिएर पुगेका थिए रे, सोनु। बिरामी श्रीमती च्यापेर लखनउ त पुगे। तर, पहिला कोभिड १९ जाँच्नु परेछ। ठीकै हो संक्रमणको डरलाग्दो अवस्था छ। जाचौँ न, यही विचारेर उनी प्रयोगशाला गए।
प्रयोगशाला त गए तर कोभिड १९ जँचाउन सकेनन्। भइदिएछ के भने, एक जनाकै स्वाब जँचाएको २० हजार रुपैयाँ चार्ज ! कोभिड १९ जाँचेकै २० हजार तिर्नुपरे, अरु उपचार गराउँदा के हाल होला ? खल्ति छामे। त्यो पनि रित्तिँदै थियो।
जुन आश लिएर श्रीमतीलाई जचाउन निस्केका थिए, त्यो त पूरा हुन सकेन। अन्तिममा, मन अमिलो पार्दै सोनु श्रीमती लिएर पोखरा फर्के। केही दुखाई कम गर्ने औषधी लिएर। अहिले पनि श्रीमती रोग बोकेर बाँचिरहेकी छिन्। बेलाबेला बेस्सरी गाह्रो हुन्छ।
श्रीमतीको अवस्था हेरेर सोनु बेस्सरी कुँडिन्छन्। अनि आफैँलाई सम्झाउँछन्, ‘पहिला लकडाउन त खुलोस्। ग्राहक पहिलेझैँ आउछन् अनि पैसा कमाएर उसलाई निको पार्छु।’
लकडाउन एकातिर दुई छाक जोहो गर्ने मेसो खोस्यो। अर्कातिर, प्राणभन्दा पनि प्यारी जीवन संगिनीको बेहाल। बेलाबेला त आत्महत्या गर्ने सोच पनि आउँछ रे उनलाई। तर, परिवार सम्झेर आत्तिन्छन्। अनि, एक्लै निचोरिन्छन्।
मनले त मान्छ नि आज दुःख छ। एक दिन सुखका दिन पनि आउने छ भनेर। भोको पेटले के मान्थ्यो ? जोहो त गर्नैप¥यो। लकडाउनमा पाए जति सबै काम गरे।
कहिले ज्यामी काम गर्न ठेकेदार खोजी हिँड्थे। कहिले बल्छि थापेर माछा मार्न हिन्थे। लकडाउनमा छाक टार्न उनले के–केसम्म गरेनन्।
पीरै-पीर बोकेर मान्छे कतिञ्जेल बाँच्छ ? सोध्यो भने, सोनु फिस्स हाँस्दा हुन्। अनि मनमनै भन्दा हुन्, ‘म जत्ति।’
सोनु दम्पत्तिका अहिले दुई छोरा छन्। ठूलो छोरा ५ लागे। तर, राम्रोसँग बोल्न सक्दैनन्। छोरालाई राम्रोसँग बोल्न सिकाउने स्कुल खोज्दै पोखरा खुब चाहारे सोनुले। तर, अहिलेसम्म भेटेका छैनन्। भेटे पनि के र ! पढाउन खर्च चाहियो।
उनको हजुरबुवा/आमा यहाँका होइनन्। बा’ले पखेटा खोल्दिए। उनी पखेटा फड्कार्दै भैरहवाबाट पोखरा आइपुगे। कहिलेकाही चाडबाडमा सोनु परिवार बोकेर गाउँ झर्छन्। त्यहाँका लागि पोखरा सुखीहरुको सहर हो।
भन्छन् रे, ‘ऊ पोखरेली आए,, पोखरेली आए ...’
तर, उनीहरुलाई के थाहा ? यहाँ सोनु कसरी बाँचिरहेको छ भनेर।