- ‘ओहो, कति शीतल हावा चलेको। आफ्नो ठाउँमा यस्तो आनन्द छ। उता फ्यान चलाएर बस्नुपर्छ।’
- ‘हो त नि, यस्तो शीतल हावा त कतै गए पनि पाउदैन !’
तीन महिनाअघि लमजुङको पस गाउँमा थिएँ।
गाउँमा चिसो हावाको बयान अनौठो लाग्छ। चिसो हावा त गाउँमा बाह्रैमास चल्छ। यसको कुनै मोल हुँदैन। शहरमा पो चिसो हावाको लागि पैसा तिर्नुपर्छ।
यसै पनि शहरमा मन बुझाउन गाह्रै हुन्छ। त्यसैले पस गाउँमा थिएँ। गुरुङ संस्कृतिको धनी गाउँ पस गाउँमा पहिलो चोटी पुगेको थिएँ।
पस गाउँमा पुग्नुको एउटै काम थियो- पस गाउँ महोत्सव अवलोकन।
बिरानो ठाउँमा नौलो मान्छेको संवादले पहिलो चोटी तानिएँ। बाफिएको शहरभन्दा केही टाढा चिसो हावाको स्वाद, त्यसमाथि पस गाउँको सुन्दरता। त्यसै-त्यसै रोमाञ्चित भइरहेको थिएँ।
यहीँबीच गमबहादुर र मजमबहादुर गुरुङसँग बातचीत सुरू भयाे। उनीहरू दुवै जना भूपु ब्रिटिश आर्मी रहेछन्।
मैले पनि आफ्नो परिचय दिएँ। म यसै पनि उत्साही थिएँ। झन् 'लाहुरे' शब्द सुनेपछि 'ओभर एक्साइटेड' भएँ।
लाहुरेका गफ सुन्न मन पराउछु। हुन मन पराइनँ। खैर, लाहुरे गफ सुन्ने सौभाग्य मिलेको थियो।
उनीहरू दुवै जना बालसखा। लाहुरे पनि सँगै भएका रहेछन्। गमबहादुर ८ वर्षपछि आफ्नो जन्मथलो फर्किएका रहेछन्। मजमबहादुर चाहिँ १३ वर्षपछि।
'१३ वर्षपछि पैतलाले आफ्नो माटो टेक्दा कस्तो अनुभव भयो ?', मजबहादुरलाई सोधेँ।
‘आफू जन्मेकाे, हुर्केकाे ठाउँ। पाहिलेभन्दा धेरै विकास भएछ। त्यो डाँडामा हामी रोपाइँ गर्न जान्थ्याैं। अहिले झारै-झार पलाएर जान पनि डर लाग्ने भएछ।’
गमबहादुरको पनि प्रतिक्रिया उस्तै थियो।
झमक्क अँध्यारोमा पनि उनीहरुको अनुहार धपक्क बलेको देखिन्थ्यो। गुँड छोडेर आहारा खोज्न निस्केको उनीहरु वर्षौ पछि गुँडमा फर्किएका थिए।
बढी त बाध्यताले परदेशिएका थिए उनीहरु, थोरै रहर पनि थियो। लाहुरे घर फर्किदा काँधमा 'टेपरेकर्ड' बोकेर गीत घन्काउँदै गाउँ छिर्ने उकालो उक्लिरहँदा लाहुरेको एक झल्को हेर्नकै लागि वेशीसम्म पनि झर्थे रे, उनीहरु !
‘अहिले त लाहुरेको के इजत छ र, बाबु। पहिला त लाहुरे आयो भनेपछि गावै रमाइलो। तल वेशीबाटै रमाइलो हुने नि! हामी पनि हेर्न जान्थ्याैं’, मजबहादुरले सुनाए।
गल्लाको पछि लागेर छाती नाप्न जानुअघि दुवैको उमेर त्यस्तै १६/१७ को थियो रे ! ठ्याक्कै उमेर त याद छैन उनीहरुलाई। तर, लाहुरे हुँदा जति उमेर भए पनि १६ वर्ष नै लेखाउनू पर्थ्याे रे !
लाहुरे भएपछि दुवै जना छुट्टा-छुट्टै पल्टनमा परेका रहेछन्।
दुवै जना ०४३ मा रिटायर्ड भए। गमबहादुरले 'रिसर्भिस ब्रुनाइ'मा १० वर्ष सेवा गरे। ०५४ मा 'ब्रुनाइ जिआरयु' (गोरखा जिआरयु) युनिटबाट बिदा भए।
त्यसपछि तीन वर्ष पोखरामै बसे, लमजुङ समाजको उपाध्यक्षको कार्यवाहक सम्हालेर। त्यसपछि इन्डोनेसिया गए। तीन वर्ष 'सेक्युरिटी ट्रेनर' भएर काम गरेका रहेछन्।
‘ट्रेनिङ गराउन मुश्किल। मैले अलि-अलि जानेको ब्रिटिश आर्मीमा इंग्लिस थियो। तर, इन्डोनेशियाको भाषामा ट्रेनिङ गराउन पर्ने’, उनले अनुभव सुनाए, ‘वर्षमा ३ देखि ४ वटा ब्याच भर्ती गराएर ट्रेनिङ गराउन पर्ने। स्यालरी कम थियो। ११ सय युएस डलर थियो। एशियन देशको लागि ठूलो १ लाख दश हजार जति नेपाली हुने।’
सन् २००६ देखि लण्डनमा बस्छन्, गमबहादुर। त्यहाँ पनि उनी सेक्युरिटीको काम नै गरे। त्यहाँ बस्दा ६० वर्षदेखि माथि उमेरको मान्छेलाई वृद्ध भत्ता दिने नियमम छ। अहिले नियम चेञ्ज भएको ०६७ पूरा भएर ०६८ मा लाग्नुपर्छ। वृद्ध भत्ता खानेहरु एक महिनाभन्दा धेरै बाहिर बस्न पाउदैनन्। जुनै देश गए पनि महिनादिन भित्र इन् हुन पर्छ।
गमबहादुरका तीन छोरा ब्रिटिश आर्मीमा छन्। जेठो छोरा त रिटायर्ड हुने बेला भयो रे ! ३ महिनाअघि भेट हुँदा १० महिनापछि पेन्सन आउछ भन्दै थिए।
मजमबहादुर गुरुङ ब्रिटिश सेनाको 'सेकेण्ड लेफ्टेन' पनि भएका रहेछन्। सन् १९९३ मा रिटायर्ड भएर नेपाल आए। दुई वर्षपछि आँगोला साउथ अफ्रिका सेक्युरिटी ब्रिटिश आर्मी गए। नाै वर्ष सेक्युरिटी कम्पनीमा काम गरेर नेपालमै बस्ने मनासय बोकेर उनी स्वदेश फर्के।
नेपाल फर्केर पोखरा बस्न थाले। तीन वर्ष हिमाली समाजको उपाध्यक्ष काम गरे। तीन वर्ष काम गर्दा-गर्दै फेरि अमेरिकाको डिभी पर्यो। उनी उतै लागे। साढे १३ वर्षदेखि अमेरिकामै छन्।
अमेरिकाबाट आएको दुई महिना भएको रहेछ। ‘सबै इष्टमित्र यतै छ बाबु, के गर्ने उता बसेर पनि। पहिला दुख थियो। विदेश जानुपर्यो। धेरै बसें अब नेपालमै बस्छु’, मजमबहादुरले गम्भीर भएर भने।
मजमबहादुर पनि तीन वटा छोराका बाबु हुन्। दुई वटा छोरा (जेठा र माइला) हङकङमा रहेछन्, सपरिवार। कान्छो छोरासहित उनी अमेरिका बस्दै आएका रहेछन्।
डिभी पर्दा २१ वर्षभन्दा मुनिको बच्चा लैजान पाउने व्यवस्था छ। उमेर हदबन्दीले जेठा र माइला छोरा अमेरिका जान नपाएका रहेछन्।
संयोग, दुवै जना लाहुरे भए पनि युद्धमै होमिनु परेको रहेनछ।
ब्रिटिश र इन्डोनेशिया सन् १९६४/६५ मा युद्ध भएको थियो। उनीहरु भर्ती हुनुभन्दा तीन वर्षअघि लडाइँ सकियो। सन् १९९३ मा रिटायर्ड भए। अहिले त लडाइँमा जानुपर्छ। २४ वर्ष काम गर्दा एकचोटी पनि लडाइँ जानु परेन रे !
अन्तिममा मैले सोधेँ, 'अब नेपालमै बस्नुहुन्छ कि उतै फर्किने ?'
मजमबहादुरले भने- अब भने नेपालमा नै बस्ने विचार गरेको छु। विदेशमा धेरै बसियाे।
गमबहादुर भनु- अब ५/६ वर्ष जति विदेश बसेर सबै मिलाएर म पनि यतै आएर बस्छु।