मंगला गाउँपालिका-५ स्थित अर्मन हाडेभिर गाउँ, म्याग्दी खोलाको किनार।
बिहानै एक युवा गमबुट लगाएर बंगुर फार्मको सरसफाइमा खट्छन्। सरसफाइपछि बंगुरलाई चहारा दिन्छन्।
यो संगै बाबियाचौर बजारमा कुखुराको मासु पसलमा पनि व्यस्त रहन्छन्, उनी। बाइकमा चहारा ओसार्नेदेखि, बंगुरको रेखदेख, टनेलमा तरकारी र मासु पसलमा आफै खट्छन्। उनको दिनचर्या दिनहुँ यसरी नै बित्छ।
आफ्नो कामप्रति उनको लगाब अच्चमैको छ, कडा मिहेनत गर्छन्। उनी आफ्नो कर्ममा गर्व गर्छन् र खुशी छन् पनि।
उनी हुन् २२ वर्षे ठिटो- विमल सापकोटा।
बुबा तारानाथ सापकोटा कृषिमा कार्यरत छन् भने आमा चित्रकला गृहणी हुन्। उनका एक दिदी र भाइ पनि छन्। दिदीको बिहे भइसक्यो। भाइ बुटवलमा इन्जिनियरिङ अध्यनरत छन्।
विमलभित्र सानैदेखि कृषिकाे साेख थियाे। उनकाे साेखलाई प्राथमिकतामा राखेर अभिभावकले पनि 'एसइइ'पछि मालिका गाउँपालिकाको बिमस्थित किसानी माविमा कृषि अध्ययनकै लागि कक्षा ११ मा भर्ना गरिदिए। भर्ना भएकाे ६ महिना जति उनले जेनतेन पढे। तर विस्तारै पढाइमा उनको ध्यान पटक्कै गएन।
पढाइ छोडेर घर नजिक खेतबारीमा कृषि फार्मतिर लागे। उनले कुखुराको फार्म खोले। टनेलमा तर्कारी फलाउन थाले। र भैसी पनि पाले।
केही समय अगाडी उनीभित्र बंगुर फार्म खोल्ने रहर पनि चल्याे। ब्लक आफैले बनाए। ढुंगामाटो आफैं बोके। रात-दिन खटेर आखिर बंगुर फार्मको टहरो खडा गरेरै छाडे। र बंगुर फार्म सञ्चालनमा ल्याए।
ब्राह्मणकाे छोरोले बंगुर पाल्न लागेकाे खबर सुनेपछि सुरु-सुरुमा गाउँलेहरूले कुरा काट्ने गरेकाे उनी अहिले पनि सम्झन्छन्। 'तर काम गर्न कुनै जात-पातले रोक्दैन, सबै काम एउटै हो।', उनी उत्साहित हुँदै भने।
त्यसो त, आफूलाई सानैदेखि कृषि पेशाप्रति मोह जागेको उनले बताए। पिता कृषिमा जागिरे भएकै कारण उनीभित्र पनि कृषिप्रति मोह जाग्यो। आमाले पनि छोरोको रहरलाई प्राेत्साहन गर्दै पुर्ण सहयोग गरिन्। 'मलाई घर-परिवारबाट पुरा सहयोग र साथ मिलेको छ', उनले सुनाए।
सँगैका साथीहरु उच्च शिक्षा हासिल गर्न र जागिरको लागि शहर पसे। गाउँघरका युवाहरु वैदेशिक रोजगारतिर होमिए। शहर-बजार पसे। तर यस्ता विषयमा उनकाे खासै ध्यान गएन।
'बाबाले सानैमा अभिभावक गुमाउनु भयो। सानैमा टुहुराे भएपछि मामाघरमा हुर्किनु भो', उनले सम्झदै भने, 'बाबाको कृषिप्रतिको मेहनत र लगाब देखेर मेराे पनि कृषितिरै मन बस्यो।'
उमेरले भर्खर २२ वर्ष टेकेका विमलले सुजु थापा मगरसँग गत माघमा प्रेम विवाहसमेत गरे। अन्तरजातीय बिहे भए पनि घर-परिवारको सहमतिमा बाजा-गाजा बजाएर धुमधामले उनकाे बिहे सम्पन्न भयाे।
बिहेकाे लागि जातभन्दा पनि मन मिल्नुपर्नेमा उनकी आमा चित्रकलाले पनि जाेड दिइन्। छोरोको कृषिप्रतिको लगाव देखेर उनी दंग नै छिन। छोरोको हरेक पाइलामा उनी सहयोगी भुमिका निभाउँछिन्।
हाल बंगुर फार्ममा १२ वटा ल्याण्डरिस प्रजातिको बंगर हुर्कदैछन्। विमलले अब बंगुरको पाठो हुर्काउने र बिक्री वितरण गर्ने योजना बनाएका छन्। उनी खोरको आकारअनुसार थप बंगुरका पाठाहरु थप्ने याेजनामा पनि छन्।
तीन महिनाअघि खोलेको बंगुर फार्मसँग अहिले उनी सन्तुष्ट नै छन्। ८ लाख खर्च भएकाे थियाे। खोर ठूला र फराकिला छन्। पानी पिउनलाई युटुव हेरेर निप्पलसमेत निर्माण गरेका छन्।
कृषिकाे यात्रा सुरु गरेकाे लगभग दुई वर्ष भइसक्याे। अहिलेसम्म जे गरे, आफैले सकेकाे गरे। कहीकतैबाट सहयाेग आएन। उनले हात फिजाएनन् पनि।
पछिल्लाे समय वर्षेनी लाखौ युवाहरु रोजगारको लागी विदेशिन बाध्य छन्। हजारौ युवाहरु विदेशिएका बेला विमलले भने 'बि एण्ड बि कृषि तथा पशुपंछि फार्म' सञ्चालन गरेर गाउँघरमै पसिना बगाउदै उदाहरणीय कामको सुरुवात गरेका छन्।
उनको जोश-जाँगर र मिहेनतले अन्य युवाहरुलाई पनि स्वदेशमै गरे के हुँदैन भन्ने सन्देश प्रवाह गरेका छन्।
विमलजस्ता युवाहरुलाई पलायन हुनबाट रोक्न सरकारले सक्दो आर्थिक सहयोग र तालिम प्रदान गर्दै हौसला बढाउन आवश्यक देखिन्छ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्ः