श्रीमती मालार्डलाई बिसञ्चो नै त थिएन तर उनी पूर्ण स्वस्थ पनि थिइनन्। पछिल्ला कतिपय वर्षदेखि मुटुको व्यथाले उनलाई निरन्तर दुःख दिइरहेको थियो। यहीबीच अचानक उनलाई श्रीमान्को मृत्युको दुःखद खबर दिनुपर्ने भयो। परिचितहरूले यस कुरामा निकै हेक्का पुर्याए र उनका श्रीमान्को मृत्युको समाचार सुनाउँदा बज्रपात पर्ने जस्तो गरी नभई सकेसम्म सहज होस् भन्ने गरी बिस्तारै थाहा दिए।
उनलाई यो निर्मम समाचार सुनाउन उनकै बहिनी जोसेफिन अगाडि सरेकी थिइन् र अड्की-अड्की अनि आधा लुकाए जस्तो गरी त्यो सब भनेकी थिइन्। उनका पतिका साथी रिचर्ड्स पनि त्यहीँ, उनकै नजिक, थिए। उनी नै ती मानिस पनि थिए जसले सर्वप्रथम अखबारको कार्यालयमा रेलगाडी दुर्घटनाको खबर र त्यससँगै दुर्घटनामा ‘मर्नेहरू’को सूचीमा ब्रेन्टली मालार्ड भन्ने नाम पनि सामेल रहेको समाचार थाहा पाएका थिए। उनले यो समाचारको सत्यता जाँच्न दोस्रोपटक आएको टेलिग्राम पनि जाँच-परख गरेका थिए र अन्य कुनै अल्पभाषी वा अति मृदुभाषी परिचितलाई त्यो समाचार ब्रेरन्टलीको घरमा सुनाउन खटाउनुभन्दा उनलाई आफैँले त्यहाँ पुगेर सुनाउन हतार भएको थियो।
उनले यो समाचार सुनिन् तर अन्य धेरै महिलाहरूले जस्तो प्रतिक्रिया जनाइनन्, उनी भर्खर आफूले सुनेको कुरा पत्याउनै नसकेको जस्तो गरी स्तब्ध पनि देखिइनन्। उनी बहिनीको अँगोलोमा बेरिएर केवल एकपटक ह्वाँह्वाँ गर्दै डाँको छोडेर रोइन्। अनि केही क्षणपछि दुःख, व्यथा र पीडाको आँधी मत्थर भयो, उनी एक्लै घरभित्र आफ्नो कोठातिर लागिन्। उनको चाहना थियो- उनलाई पछ्याउँदै अरू कोही पनि भित्र नआओस्। परिणाम त्यस्तै भयो।