‘३० वर्षमा पटक पटक मन्त्री बनेँ, तर काठमाडौंमा निजी घर पनि जोड्न सकिनँ’ : विजयकुमार गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू लामो समय सत्तामा रहे पनि काठमाडौंमा घर जोड्न नसकेको दाबी गरेका छन्।

आफू अहिले पनि भाडाकै घरमा बसिरहेको उनको भनाइ छ। ललिता निवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारले बुधवार पत्रकार सम्मेलन गरेर आफूले कुनै लाभ नलिएको दाबी गर्दै काठमाडौंमा घर नभएर डेरामा बस्नुपरेको धारणा राखे।

आफ्नो सम्पूर्ण राजनीतिक जीवन खुला किताबसरह रहेको भन्दै उनले आफूले आजसम्म राष्ट्रलाई हानी नोक्सानी पुग्ने र आफूलाई मात्र लाभ हुने कुनै पनि गैरकानुनी काम नगरेको दाबी गरे। ‘सेवा र समर्पणसहित राजनीति गरेको व्यक्ति हुँ। त्यसकै लागि समर्पित पनि छु,’ उनले भने।

२०४८ सालदेखि पटक पटक मन्त्री र उपप्रधानमन्त्री पदमा रहँदा पनि आफूले कानुनले दिएको सुविधाबाहेक नियमविपरीत कनै पनि लाभ नलिएको उनको भनाइ छ।

‘यति लामो समय मन्त्री भएका नेताको काठमाडौंमा बास बस्ने आफ्नो निजी निवास पनि नभएको र भाडाको घरमा बसिरहेको भन्ने कुरा सुन्दा यहाँहरुलाई आश्चर्य पनि लाग्न सक्ला, तर यथार्थ यही हो। मैले मन्त्री पदको जिम्मेवारी पाउँदा सदैव आफ्नो र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेको थिएँ, जो यहाँहरूले पढ्न बुझन सक्नुहन्छ,’ उनले भनेका छन्।

ललिता निवास जग्गा प्रकरणमा पनि आफूले पदीय जिम्मेवारीअनुसारको भूमिकाबाहेक अन्यथा केही नगरेको गच्छदारले उल्लेख गरेका छन्। ‘यसमा कोही कसैसँग कुनै किसिमको लाभ लिएको छैन। यस्तो अवस्थामा पनि मेरो खुला, सादा र स्वच्छ, जीवनलाई ध्वस्त पार्ने कुटिल उद्देश्य राखी किन र के कारणले निराधार आरोप लगाई मुद्दा लगाइएको हो, मलाई आश्चर्य लागिरहेको छ,’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2021-09-22 20:22:00

प्रतिकृया दिनुहोस्