उर्लाबारीकी रोजिनाको रहस्यमय मृत्यु, हत्या गरेकाे माइती पक्षकाे आरोप

मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरमा एक जना महिलाको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव फेला परेको छ।

२२ वर्षीय रोजिना गिरीको आइतबार बिहान लोबेडमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। घाँटीमा सल बाँधिएको अवस्थामा रोजिनाको शव फेला परेको र शरिरमा पनि निलडाम भएकोले मृतकका माइती पक्षले हत्या गरेको आरोप लगाएका छन्।

नातिनीको शंकास्पद अवस्थामा शव फेला परेकोले घटना रहस्यम रहेको भन्दै प्रहरी प्रशासनले घटनाको निष्पक्ष छानविन गरिनुपर्ने उनका हजुरबुवा यामकुमार गिरीले बताए। ‘नातिनीको शवको प्रकृति हेर्दा घटना रहस्यमय रहेको छ। घाँटीमा सल बाँधिएको छ', उनले भने, 'तर, शव लोबेडमा घोप्टो परेकाे अवस्थमा अवस्थामा फेला परेको छ। अनुहारमा भाग पनि पुरा कालो भएर शरिरमा चोटपटक लागेको छ।'

‘नातिनीको हत्या गरेपछि आत्महत्या देखाउन झुण्डाएका हुनसक्छ,’ हजुरबुवा यामबहादुरले भने, ‘यस घटनामा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुुसन्धान सुरू गरिनु पर्दछ।’

मृतक रोजिनाको गत भदौमा विनोद काफ्लेसँग विवाह भएको हो। रोजिनाको माइती उर्लाबारी ८ दुर्गापुरी हो। उनीहरूको प्रेम सम्बन्धपछि विवाह भएको थियो। विनोदले विवाह गरेपछि करिब ६ महिना अगाडि वैदेशिक रोजगारका लागि विदेशमा छन्।

उनीहरूले इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको हजुरबुवा यामबहादुरले बताए। मृतक रोजिनाको अनुहारमा निल डाम छ भने शरीरमा पनि चोट देखिएको बताइएको छ। आइतबार नै शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले जानकारी दिए। उनका अनुसार आज शवको पोस्टमार्टम हुनेछ । रिपोर्ट आएपछि घटनाको विवरणबारे जानकारी पाइने उनले बताए। 

शवको प्रकृति हेर्दा आत्महत्या गरेको हुनसक्ने उनले जानकारी दिए। कोठामा भित्रबाट चुकुल लगाएर लोबेडमा घोप्टो परेको अवस्थामा मृत भेटिएको उनको भनाइ छ। शरीर लोबेडमा रहेको भएपनि फेनमा सल बाँधिएको र कोठाको चुक्कुल भित्रबाट लगाएको पाइएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ। प्रहरीले भने झुण्डिएका कारण रगत सोहोरिएर निलडाम हुनसक्ने जनाएको छ।

‘हामीले शवलाई पोस्टमार्टम गर्न पाठाएको छौं,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्नेछ। अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं।’

माइती पक्षले घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरूद्ध किटानी जाहेरी पनि दिने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2021-09-20 15:42:00

प्रतिकृया दिनुहोस्