काे हुन् वर्मन ? जसकाे खुट्टामा ढाेगेर प्रचण्डले आशीर्वाद लिए

Breaknlinks
Breaknlinks

सुलिचौर र रुइनिवाङलाई छुट्याएर बग्ने खोला आफ्नै लयमा सुसाइरहेको थियो।

फर्साचौरको पहिरोबाट ओरालो झरिरहेका थिए, केही सोल्टी- सोल्टीनाहरु। 'जेदो' र 'नमस्ते'को सम्बोधनसहित किनमेलमै व्यस्त थिए- अधिकांश मानिसहरु।

त्यही भीडकाे बीच एक जना वृद्ध मेरो आँखामा परे। जसकाे शीरमा भादगाँउले टोपी थियाे। आँखामा मोटो चस्मा थियाे। कम्मरदेखि घुँडासम्म कछाड र माथि खरानी रङको कमिजसहित अस्कोट थियाे।

सडककाे दाहिने डिलबाट दुई खाेलाकाे संगम हेर्दै रुइनिवाङ उक्लिरहेका वृद्धलाई सुरुमा मैले चिनिनँ। हातमा लठ्ठी बाेकेर हिँडिरहेका ती वृद्ध र मेराे दुरी विस्तारै नजिक हुँदै गयाे। यसकारण कि उनी सुलिचौरबाट रुइनिवाङ उक्लिरहेका थिए भने म रुइनिवाङबाट सुलिचौर झरिरहेको थिएँ।

समय लगभग अपरान्ह भइसकेकाे थियाे। ठ्याक्कै कति बजे र कति मिनेट भन्ने यकिन छैन/बिर्सिगएँ। ती वृद्ध र म बीचकाे दुरी विस्तारै छाेटिदै गयाे।तब भने बल्ल मलाई ती वृद्धकाे अनुहार कहीँकतै देखेकाेजस्ताे लाग्न थाल्याे। चिनेकाेजस्ताे लाग्न थाल्याे।

अन्ततः केही क्षणमै मैले उनलाई ९० प्रतिशत चिनिहाले। रुइनिवाङ-सुलिचौरकाे उकालो-ओरालाेमा भेटिएका ती वृद्ध थिए- वर्मन बुढा।


एक कार्यक्रममा अथिति बन्दा

त्यो संयोगको भेट पाँच वर्षअघि आजकै दिन भएकाे थियाे। अर्थात ०७३ साल असाेज १ गते त्यही रुइनिवाङ-सुलिचौरको उकालो-ओरालोमा अनपेक्षित तरिकाले भेट भएका थियौँ- वर्मन र म।

उनीसँग भेट हुँदा म जिल्लाको 'रेडियो राेल्पा', रुपन्देहीबाट प्रकाशित हुने 'बुटवल टुडे दैनिक' र काठमार्डौबाट प्रशारण हुने सामूदायिक सुचना नेटवर्क (सिआइएन)मा आवद्ध थिए।

पेशाकै कारण भनाैं, वर्मनसँग भेट हुनुभन्दा अगावै मलाई उनको जीवनका थुप्रै किस्साहरु थाहा थियो। उनको व्यक्तित्वबारे अध्ययन गरिसकेको थिए।

त्यसाे त उकालो-ओरालोमा भएकाे त्याे संयाेगकाे भेटभन्दा पहिल्यै नै मैले उनलाई सदरमुकामकाे एउटा कार्यक्रममा पनि भेटिसकेकाे थिए। तर त्यतिबेला उनीसँग खुलेर व्यक्तिगत कुराकानी गर्ने माहाेल जुरेन। हामी आफ्नै हठातमा थियाैं, सायद।

संयोगवश, त्यसकाे ठीक दुई महिनापछि मैले उनीसँगै रुइनिवाङ-सुलिचौरको उकालो-ओरालोमा दोस्रो पटक भेट्ने मौका पाए। केही वर्षदेखि वर्मनलाई साेध्नुपर्ने जिज्ञासाहरु मसँग प्रशस्त थिए। अन्ततः संयाेगले उनीसँग दाेस्राे भेट भएपछि म दङ्ग !

त्यसअघि व्यक्तिगत रूपमा प्रत्यक्ष कुराकानी नभएको कारण मलाई अझै पनि शंका लागिरहेको थियो कि- उनी साँच्चिकै वर्मन बुढा हुन् वा वर्मनकाे अनुहारजस्तै देखिने काेही अन्य पात्र।

शंकाबाट मैले पनि छुटकारा पाउन सकेन। शंकामा पुर्णविराम लगाउन मैले उनलाई सोधिहालेँ, 'बा, जेदो ! तपाई वर्मन बुढा हो नी, हैन ?'

उनले पुलुक्क म तिर हेर्दै भने, 'हो, तर मैले चिनिनँ नि तपाईंलाई !'

मैले हाँस्दै भने, 'तपाई मलाई चिन्नुहुन्न, तर तपाईलाई म राम्ररी चिन्छु। अनि अहिले कहाँबाट आउनु भएको ? कहाँ जान लाग्नु भएको ?'

उनले मेरो अनुहारलाई एकछिन एकहोरो भएर हेरिरहे। र भने, 'दाङबाट आएको बाबु, घर जान लागेको।' त्यतिबेला उनका केही आफन्तहरु पनि सँगै थिए।

उनीसँग भेट भएपछि सुलिचौर पुग्ने मेरो हठातले आराम गर्यो।  मूड बद्लियाे र उनीसँग गफ गर्दै पुनः रुइनिवाङ नै फर्किएँ।


आफ्नै गाउँ थवाङमा 

(सुलिचौर-रुइनिवाङ बजार सदरमुकामपछिको दोस्रो ठूलो बजार हो। यस बजारबाट पूर्वी रोल्पाका लगभग २० वटा गाविसका नागरिकहरु लाभान्वित हुँदै आएका छन्। अहिले भने स्थानीय तहको नयाँ संरचनाले व्यापारिक माहाेल परिवर्तन भएको छ।)

वर्मन र म गफ गर्दै-गर्दै सिधैँ रुइनिवाङ जीपपार्क पुग्यौँ। उनका आफन्तीहरु पनि हाम्रो अगाडि-अगाडि हिँडिरहेका थिए। जीपपार्क पुगेपछि छेवैमा रहेकाे भट्टीजस्ता देखिने एउटा चिया पसलमा पस्याैँ।

यदि उनीसँग भेट हुन्छ भन्ने पहिल्यै थाहा पाएको भए वा आयोजित हुन्थ्यो भने मैले उनलाई सोध्नुपर्ने जिज्ञासा र प्रश्नहरु तयार पार्थे होला। तर भेट भयो, संयोगले।

उनीसँग सामान्य तरिकाले नै संवाद सुरू भयाे। वास्तवमा उनी मैले सोचेकोभन्दा पनि शालिन र भद्र रहेछन्। उनको मिठासपूर्ण बोल्ने शैलीले म हृदयदेखि पुलकित भए। सायद, जाे काेही पनि हुनसक्छ।

उनका आफन्तीहरु आसपासका पसलहरुमा किनमेल गर्दै थिए। तर वर्मन र म भने चिया गफमा। मैले उनलाई जिस्काउँदै भने, 'तपाईलाई त मान्छेहरु कछाड बुढा भन्छन् नि !'

उनी हाँसे। हाँस्दा उनका चाउरिएका छाला गुजुक्क परेको स्पष्ट देखिन्थ्यो। जवाफ फर्काउँदै भने, 'भन्नेले भन्छन् नि बाबु, कछाड लगाउनै सजिलो लाग्छ। फेरि यो हाम्रो मौलिक सभ्यता र संस्कृति पनि त हो नि।'

थप्दै मैले उनलाई सोधेँ, 'कति वर्ष हुनुभयो ? अझै पनि यस्तो ठाउँ-ठाउँ पुग्नुहुँदो रहेछ त !'

चिया टेबलमा आइसकेकाे थियाे। पहिलाे चुस्की लिँदै उनले भने, '८६ वर्ष भइयो नि। काम परेपछि मात्र बाहिर जान्छु। नत्र गाउँमै रमाइलो लाग्छ। अब त बुढेसकालले पनि चाप्यो। पहिलेजस्तो जाँगर चल्दैन।'

उनी वि.सं १९८७ साउन १७ गते जन्मिएका रहेछन्, थवाङमम। मैले अझै थपे, 'तपाईलाई त मान्छेहरु पाको कम्युनिष्ट नेता पनि मान्छन्, कसरी बन्नु भयो त नेता?

मैले यति सोध्नबित्तिकै उनले हतपत्त भनिहाले, 'बाबुले त पुराना कुराहरु पो कोट्याउन लाग्नु भयो, पत्रकार हुनुहुन्छ कि के हो ?'

साेही पसलकी साहुनीतिर टाउकाे फर्काउँदै मैले पनि हँसिलाे मुद्रामा भने, 'होइन नि बा, तपाई त जीवित इतिहास हो। तपाईरुहरुको दुःखबाटै त हो हामीले नयाँ सिक्ने भनेको।'


थवाङस्थिति आफ्नै घरमा बिएल नेपालीलाई अनुभव सुनाउँदै

त्यसपछि उनले झाँक्रीसँगको किस्सा सुनाए।

००७ सालमा राणा शासन अन्त्य भए पनि गाउँमा जनतामाथि मुखियाहरुको दमन र अत्याचार रोकिएका थिएन। त्यतिबेला थबाङको मुखिया थिए, कांग्रेसनिकट कृष्ण झाँक्री।

झाँक्रीले गाउँमा जे भन्यो त्यही हुनुपर्ने। जुन संस्कार वर्मनलाई मन परिरहेको थिएन। झाँक्रीको शाषण देखेर वर्मनभित्र विस्तारै विद्रोह सुरु भइसकेको थियो। मुलतः उनले ०१२ सालमा गाउँका केही युवाहरु जम्मा गरेर मुखियालाई 'लाइन'मा ल्याउने सल्लाह गरे। साथीहरुले पनि वर्मनलाई भरपुर साथ दिए। र एकदिन वर्मनकै समूहले मुखिया झाँक्रीलाई नराम्ररी कुटे।

मुखिया नै कुटेपछि उनीमाथि तत्कालिन प्रशासनले निगरानी बढायो। उनी दुश्मन बने। यहाँसम्म कि मुखियाहरुको अत्याचार नसहेका वर्मनलाई विभिन्न जालसाजी र झुटा मुद्दा लगाएर पक्राउ गराइयो। र उनलाई थुनियो छिमेकी जिल्ला प्युठानको एउटा कारागारमा।

कारागार बन्याे 'टर्निङ प्वाेइन्ट'

वर्मनको लागि उक्त कारागार सजाय नै जीवनको 'टर्निङ पोइन्ट' बन्यो। कारागारभित्रै उनको भेट तत्कालिन समयका चर्चित कम्युनिष्ट नेता मोहनविक्रम सिंह र खगुलाल गुरुङसँग भयो। एक महिनाभन्दा बढी कारागारमा बस्दा उनीहरुबाटै वर्मनले पहिलोपल्ट कम्युनिष्ट सिद्धान्त र विचारधारालाई नजिकबाट बुझ्ने मौका पाए। 

अझै भन्ने हो भने त्यही कारागारले नै वर्मनलाई एक कुशल र परिपक्व कम्युनिष्ट नेता बनायो। कारागारबाट मुक्त भइसकेपछि उनले आफैले कुटेको मुखिया झाँक्रीलाई समेत कम्युनिष्ट बनाइ छाडे।

०१२ सालमा उनले किसान संघ बनाएर पहिलोपल्ट कम्युनिष्टको बीज रोपे। त्यसपछि उनले रोल्पाकै अन्य विभिन्न ठाउँसहित रुकुम, सल्यान, प्युठान र दाङसम्म पुगेर संगठनहरु निर्माण गरे।

०१५ सालमा गाउँलेहरुले वर्मनलाई मुखिया बनाए। ०१५ सालको आम चुनावमा पनि थबाङको सबै भोट कम्युनिस्टलाई गयो। जसको नेतृत्व वर्मनले नै गरेका थिए। पञ्चायतकालमा पनि उनी थबाङका प्रधानपञ्च भए।

०३७ सालमा भएको जनमत संग्रह सम्झदै उनले भने, 'सरकारका प्रतिनिधिले जिल्लाभरीका सबै प्रधानपञ्चहरुलाई सदरमुकाममा बोलाएर निर्दलमा भोट हाल्न दबाब थिए। तर मैले चै उतिबेलै त्यसमा समर्थन जनाउँन सकिनँ। अरु सबैले त हुन्छ पनि भने। तर मैले मानिनँ। थवाङको सबै भोट बहुदललाई गयो। त्यसपछि मलाई राज्यविरोधीको संज्ञा दिँदै सरकारले निशाना बनायो।'

अन्ततः आफैले भनेअनुसार उनी सरकारकाे निशानामै परे। र, ०३७ सालकाे मंसिरमा सरकारले शान्ति सुरक्षाको मुद्दा लगाएर उनलाई पक्राउ गराएर जेलमा थुन्याे। जेलमै बितेको प्रधानपञ्चको अवधिलाई सम्झदै उनले थपे, ‘सरकारले काँतरपन देखाएर २७ महिना जेल हाल्यो। तर म पनि के कम, पञ्चायतविरुद्ध आन्तरिक रुपमै थबाङलाई नै तयार पारेँ।'


काठमाडाैंमा वर्मन

जसकाे प्रभाव पञ्चायतले ०३८ सालमा गरेकाे आम निर्वाचनमा पर्‍याे। ‍उनै वर्मनकाे अगुवाइमा थबाङले पूर्णरुपमा बहिस्कार गर्दै शून्य मत खसाल्यो।

त्यसो त ०३२ सालमा नै मोहन वैद्यले थवाङलाई आफ्नो राजनैतिक कर्मथलो बनाएका थिए। त्यति मात्र नभएर ०३६ सालमा कृष्ण सेन 'इच्छुक' र ०३८ सालमा रामबहादुर थापा 'बादल'ले समेत थबाङलाई राजनैतिक कार्यथलो बनाउँदा वर्मनले नेतृत्व गरे।

यस मामलामा पुष्पकमल दाहाल 'प्रचण्ड' भने ०४२ सालमा मात्र पहिलोपटक थबाङ पुगेका थिए। तीन दिनसम्म थवाङमै बसेर प्रचण्डले वर्ग-संघर्षको खाका तयार पारे। प्रचण्ड पहिलाेपल्ट थवाङ पुग्दाकाे क्षण सम्झिदै वर्मनले भनेका थिए, 'प्रचण्डलाई मैले जानेकाे र सिकेकाे विचारबाट मार्गदर्शन गरे। म सँग पहिलाेपल्ट भेट्दा प्रचण्डले खुट्टामा ढाेगेर आशिर्वाद मागेका थिए। मैले साथ  दिन्छु भन्दै आशिष दिएँ।'

यसबीचमा वर्मनले राजनीति र जीवनका विभिन्न आरोह अवरोहहरु पार गरे। पछि बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि ०४८ सालमा भएको निर्वाचनमा वर्मन क्षेत्र नम्बर १ बाट उम्मेदवार बने। यतिबेलासम्म उनी ६० वर्ष पुगिसकेका थिए। उनी विस्तारै राजनैतिक जीवनबाट आराम लिन चाहन्थे। तर उनलाई सक्रिय बनाइराख्न बाबुराम भट्टराई नै प्रस्ताव बोकेर दाङ पुगे।

आफ्नो नजिकका नेता तथा कार्यकर्ता र गाउँलेहरुको प्रोत्साहनपछि उनी उम्मेदवारको लागि तयार बनेका थिए। क्षेत्र नं २ बाट कृष्णबहादुर महरा उम्मेदवार थिए भने क्षेत्र नं १ बाट वर्मन। उक्त निर्वाचनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालिन समयका चर्चित नेता बालाराम घर्तीलाई दुई हजारभन्दा बढी मतअन्तरले पराजित गरे।


प्रचण्ड निवासमै वर्मन

कछाडमै थवाङदेखि संसद भवनसम्मकाे यात्रा

मध्यपश्चिममै राजनैतिक दौडधुप गरिरहेका वर्मन अन्ततः चुनाव जितेपछि राजधानी पुग्नुपर्ने भयो।

चुनाव जितेर राजधानी जानु सामान्य कुरा थियाे। तर वर्मन सबैकाे लागि फरक र चासोका पात्र त्यतिबेला बने, जब गाउँघरमा लगाइने मौलिक कछाड र छातीमा दुवैतर्फ छड्के पारेर लगाइने खाडी कपडाको भाङ्ग्रोको पोशाकमा उनी सिंहदरबार र संसदमा प्रवेश गरे।

दाउरा-सुरुवाल, कोट-पाइन्टमा चिटिक्क परेर सिंहदरबार र संसदमा जाने नेताहरु वर्मनलाई देखेर आश्चार्य मान्थे। सायद, मनमनै गिज्याउँथे पनि। तर, वर्मनलाई पोशाकको विषयमा उल्झिरहनु थिएन। उनी आफ्नो विचार, सभ्यताप्रतिको चेत र संस्कृतिमा पुर्णरुपमा विश्वस्त थिए।

गाउँ होस् वा राजधानी, जाडो होस् वा गर्मी। वर्मनको लागि मौलिक कछाड सबैभन्दा प्रिय पोशाक थियो। 


राजधानीमा कछाडकै पाेशाकमा वर्मन

अनि राजा विरेन्द्रले उनलाई एकहाेराे हेरिरहे

अन्ततः उनले पहिरिने कछाडको किस्सा राजा विरेन्द्रसँग पनि जोडियो।

भएछ के भने, संसद्मा राजा वीरेन्द्र आउने निश्चित भएपछि संसदका एक कर्मचारीले सबै सांसदहरुलाई अनिवार्य दाउरा-सुरुवाल लगाउन सुचना जारी गरे। सुचना अनुसार सबै सांसदहरु दाउरा सुरुवालमै उपस्थित भए। तर वर्मनलाई दाउरा-सुरुवालभन्दा मौलिक कछाड नै प्यारो थियो।

उनी कछाडमै संसदमा उपस्थित भए। उनको हुलिया देखेपछि संसदीय सचिवले तत्कालै एउटा कुनामा बोलाएर कानमा खुसुक्क भनेछन, 'माननीय ज्यू, आज राजा आइबक्सदै छ। कृपया दाउरा सुरुवाल लगाइदिनु पर्यो।'

ती संसदीय सचिवको कुरा सुनेपछि वर्मनको दिमाग तात्तिएछ। र जंगिदै जवाफ दिएछन्, 'अब मैले मौलिक पोशाक फालेर तिमीहरुको पोशाक लगाइदिनु पर्ने ? कुन पोशाकको स्तर के हो, मलाई राम्ररी थाहा छ। कृपया जोड नगर्नुहोस्।'

पछि संसदमा राजा विरेन्द्र ले पनि वर्मनलाई एकहोरो भएर हेरे।

वास्तवमा 'साधा जीवन उच्च विचार'को पनि पर्याय हुन्, वर्मन। उनले जीवनभर जे गरे, जनताकै लागि गरे। जति कमाए, जनतामै खर्च गरे। जनादेशमा उनले भनेका छन्, ‘सांसद हुँदा मासिक तलब चार हजार थियो। दुई हजार पार्टीले लग्थ्यो, दुई हजार गाउँका मानिसहरुको गाडि भाडा खर्चमा सकिन्थ्यो।'

सांसदको कार्यकाल सकिएपछि उनी राजधानीबाट थबाङ फर्किए। गाउँमा राजनीतिक चेत बाँड्न थाले। गाउँलेहरुलाई केन्द्रीय राजनीतिमा हुने स्वार्थ र सत्ता लोभको बारे स्पष्ट पारे।

पछि ०५१ सालको मध्यावधि निर्वाचनमा भने माओवादीले बहिस्कार गर्ने नीति लिएपछि वर्मनकै अगुवाइमा थबाङले बहिस्कार गरिदियो। जतिबेला धौ-धौ चार मतमात्र खस्यो।

त्यस्तै ०५२ सालमा होलेरी चौकी आक्रमण गरेर माओवादीले जनयुद्ध सुरु गरेपछि थबाङ पनि युद्धमै होमियो। ०५४ सालको स्थानीय निर्वाचनमा पनि थवाङले शून्य मच खसाल्यो। ०५६ सालको आम निर्वाचनमा भने सरकारले सदरमुकाम लिवाङबाट दुई जनालाई हेलिकोप्टरमा लगेर मतदान गरायो। त्यसबाहेक अरु भोट शून्य।


वर्मन विरामी हुँदा कृष्णबहादुर महरा अस्पतालमै पुगेर स्वास्थ्यावस्था बुझ्दै

वर्मनले यस्ता विभिन्न किस्साहरू सुनाउँदासम्म पसलकी साहुनीले टक्राएकाे चिया पनि सकिनै लागिसकेकाे थियाे। चिया खाएर सक्किनै लाग्दा वर्मनले शसस्त्र युद्धमा थबाङीहरुले भाग्नुपरेको दुःख सुनाए।

०५८ सालको चैत १५ गते गाउँमा नेपाली सेना पसेपछि गाउँलेहरु जंगलतिर भाग्नुपरेको बाध्यताले आफूलाई झस्काइरहने वर्मन बताएका थिए। ४६ दिनसम्म सेनाले थवाङी जनतालाई दिएको दुःख सम्झदा उनी अझै पनि क्रोधित हुन्थे। ३७ घरहरु जलाइनुको साथै ३३ जनाले मृत्युवरण गरेको घटनाले आफूलाई विक्षत बनाएकाे वर्मनले दुःख पाेखेका थिए।

शान्ति सम्झौतापश्चात ०६४ सालको संविधानसभा निर्वाचनमा थबाङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मत हालेर जितायो। तर समय एउटै रहेन। ०७० सालको दोश्रो संविधानसभामा भने थबाङले नै एक भोट पनि खसालेन। यो बीचमा जे जति राजनैतिक घटना र गतिविधिहरु भए, त्यसको अगुवाइकर्ता वर्मन नै थिए।

दुई पटक चिया खाँदासम्म वर्मनले करिब ४५ मिनेटसम्म मलाई आफ्नाे दुःख र संघर्षकाे कथा सुनाए। उनले चियाको अन्तिम चुस्की तान्दै भनेका थिए, 'नेताहरुमा लोभ गर्ने बानी छ बाबु, जनताको लागि निष्पक्ष राजनीति गर्ने पात्रहरु दुर्लभ भइसकेँ।'

दास्राेपल्टकाे चिया लगभग सकिनै लाग्दा उनका आफन्तीहरूले आसपासका पसलहरुमा कपडा र फलफूल किनेर गाडिमा राखिसकेका थिए।

चिया सकेर अन्त्यमा छुट्टिदा मैले त्यो पसलकी साहुनीलाई सोधेँ, 'दिदि कति भयो रुपैयाँ ?' (मैले सोधीनसक्दै वर्मनले आफ्नो अस्कोटबाट सयका दुई वटा नोट निकाले र चियाको मुल्य तिर्न तम्सिहाले।)

साहुनीले भनिन्, '९५ रुपैयाँ भयो भाइ।'


निधन भएपछि वर्मनकाे लासमा झण्डा ओढाउदै प्रचण्ड र वर्षमान पुन

मैले उनलाई रुपैयाँ अस्कोटमै राख्न दबाब दिँदै भने, 'ह्या बा पनि, तपाईसँग बसेर चिया खान पाउनू मै मेरो लागि ठूलो कुरा हो। तपाईलाई बील तिर्न लगाएर म पाप बोक्न चाहन्न।'

त्यसपछि उनको हातमा रहेको सयका दुई वटा नोट मैले आफै खोसेँ र जबरजस्ती उनकै अस्कोटको बाह्य खल्तीमा राखिदिएँ।

चिया पसलबाट निस्केपछि करिब २० मिटर अगाडि रोकिएको जीपसम्म सँगै गयौँ। गाडि स्टार्ट भइसकेको थियो। सह-चालकले भन्दै थियो, 'मिलेर बसुम् है, मिलेर बसुम्।'

यति भइसकेपछि हामी बिदा भयौँ। आ-अफ्नो बाटो लाग्यौँ। उनी लागे जेल्वाङ हुँदै थवाङ जाने बाटो। म लागे उही सुलिचौरतिर।

कम्युनिष्टको सिद्धान्त र विचारको कुशल उपभोक्ता उनै वर्मनसँग मैले तेस्रो भेट गर्न सकिनँ। र अब चाहेर पनि भेट्न सक्दैन। कारण अघिल्लो वर्ष (०७७ साउन ७ गते बुधबार) आन्द्राको क्यान्सरबाट उनको निधन भयो।

नेपालको कम्युनिष्ट आन्दोलनमा वर्मक एक नक्षत्र तारा थिए। उनी सदा सदा तारा नै रहनेछन्।

अन्त्यमा- काश्, उनीसँग तेस्रो भेट हुन्थ्यो भने म सोध्थे होला,  'बा, तपाईजस्तै बन्न के गर्नुपर्छ ?'



पूर्वसभामुख महराका छोराछोरी, जसले बन्दूक बनाउन र बारुद भर्न बाबुबाटै सिके

र, माधव नेपालले तीन लाख २५ हजार भाडा भएकाे घरमा रिबन काटे !

प्रकाशित मिति: : 2021-09-18 11:07:00

प्रतिकृया दिनुहोस्