गत पुष पाँच गतेबाट नेपालको राजनीतिक वृत्तमा विभिन्न अनपेक्षित घटनाहरु घट्दै आए।
नेकपा (एमाले)का अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नै विघटन गर्ने प्रयास गरेपछि केन्द्रीय राजनीतिले नयाँ मोड लिएकाे थियाे।
ओलीको त्यो निर्णयले पार्टीभित्रै नसोचिएको उथलपुथल त भयो नै, अन्य प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि सहकार्य गर्ने दुर्लभ अवसर पाए।
एमालेभित्रैका नेता तथा कार्यकर्ताहरु अध्यक्ष ओली र वरिष्ठ नेता (तत्कालिन) माधव नेपालसँग लागेर दुई भागमा विभाजित भएपछि यसको प्रत्यक्ष असर प्रदेश र स्थानीय तहमा परेको सत्यलाई नकार्न सकिदैन।
ओली नेतृत्वको सरकारलाई ढाल्न माओवादी र कांग्रेससँग हातेमालो गरेर माधव समूहले नै महत्वपूर्ण भूमिका खेल्यो। यहाँसम्म कि आफ्नै पार्टी नेतृत्वको सरकारलाई 'तारो' हानेर कांग्रेस र माओवादीको 'वाण' बन्यो।
काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव समूहले के-के मात्रै गरेन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र देउवासँगै शहरका सडकहरुमा 'चक्कल' मारेरसमेत बस्नुपर्यो। यति भइसक्दासम्म एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगिसकेको थियो।
कूर्सीदेखि कूर्सीसम्मकाे यात्रा
त्यसो त, सर्वोच्च अदालतको परमादेश अनुसार देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा माधव नेपालसहितका नेताहरुले हस्ताक्षर गर्दासम्म ओली शान्त नै थिए। सामान्य रुपमै प्रस्तुत भइरहेका थिए। तर ओलीले माधव नेपालको अनुहार नै नहेर्ने गरी त्यतिबेला जंगिए, जब माधव समूहका नेताहरुले संसदमा पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए।
ठीक यही घटनाले एमालेमा खैलाबैला मच्चायो। विभिन्न सार्वजनिक कार्यक्रमहरुमै ओली र नेपालले एकअर्काप्रति कटाक्षहरु प्रहार गरे। यो भीडमा प्रचण्ड पनि सामेल नै थिए। बरु देउवाले भने केही संयमता अपनाएकै हुन्।
विभिन्न कार्यक्रमा ओली, प्रचण्ड र नेपालको अभिव्यक्ति सुन्दा कुनै 'दोहोरी'भन्दा कम देखिएन। ओलीले बारम्बार 'माधव नेपालको लागि एमालेको ढोका बन्द भइसकेको' बताइरहँदा नेपालले पनि 'ओलीजस्तो तानाशाहसँग अब सहकार्य गर्न नसकिने' टिप्पणी गरिरहे।
यसबीचमा पार्टी उपाध्यक्ष भीम रावल माधव समूहमै सक्रिय भए। रावलसहित अन्य १० जना सांसदहरुले ओलीलाई सबैभन्दा ठूलो दुश्मनी ठाने। तर यो क्षण लामो समयसम्म टिक्न सकेन। र मुलतः एमालेभित्रै तेस्रो धारका नेताहरु 'एक्सपोज' भए।
ओली र नेपाललाई सहमतिमा ल्याएर पार्टी एकता जोगाउन तेस्रो धारका नेताहरुले दिनरात नभनी लागि परिरहे। तर उनीहरुको प्रयास 'फगत' सावित भइदियो।
माधव नेपालले नयाँ दल निर्माण गर्ने घोषणा गरेपछि एमालेभित्रै फेरि नयाँ माहोल तात्तियो। त्यसपछि भने भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्टलगायतका नेताहरु ओलीकै छत्रछायाँमा बस्न मन्जुर भए। तर मेटमणि चौधरी, रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आलेलगायतका नेताहरु भने नेपालसँगै लागे।
निर्वाचन आयोगमा नयाँ दल निर्माणको लागि सनाखत हुनुभन्दा दुई दिन पहिले नै नेता नेपालले ८० भन्दा बढी सांसद, नेता तथा कार्यकर्ताहरुलाई लिएर चन्द्रागिरी रिर्सोटमा पुगेपछि ओलीले व्यगं गर्दै भनेका थिए, 'नेताहरुलाई जबरजस्ती टाकुरामा थुनेर बनाएको पार्टी कति दिन टिक्ला र !'
अन्ततः नेकपा (एस) दर्ता गरिसकेपछि यतिबेला माधव नेपालका दाहिने हात मेटमणि चौधरी र रामकुमारी झाँक्री बनेका छन्।
दाेस्राे तलामा झलनाथ खनाल, तेस्राे तलामा माधव नेपाल
शुक्रबार नेता नेपालले नेकपा (एस)को केन्द्रीय कार्यालयको उद्घाटनसमेत गरिसकेका छन्। उनले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन्। नयाँ बानेश्वरस्थित आलोकनगर (तीनकुने पुल दक्षिण)मा रहेको एक घरमा केन्द्रीय कार्यालय तोकिएको छ। घरमालिक पुजा थापा बस्नेत छिन्। बस्नेतलाई अब नेकपा (एस)ले मासिक घरभाडा तीन लाख २५ हजार बुझाउनेछ।
उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधर, विरोध खतिवडा, प्रेमबहादुर आले लगायतका नेताहरू उपस्थित बने।
कार्यालयमा माधव नेपाल आउनुपूर्व नै विभिन्न नेता तथा कार्यकर्ताहरू उपस्थित भइसकेका थिए। ठीक १० बजे रिबन काटेर उद्घाटन गर्ने कार्यक्रम तय गरिए पनि नेता नेपाल केही ढीला आए।
नेता नेपाल आफ्नो गाडिबाट ओर्लदा उनलाई स्वागत गर्न र उनीसँग फोटो खिच्न चाहनेहरुको बाक्लो भीड थियो। तर उनी भने गाडिबाट ओर्लिएर सुरक्षाकर्मीको बीचमा घेरिएर सरासर कार्यालयको गेटमा पुगे।
उद्घाटनको लागि कार्यकर्ताहरुले रिबन र फूलामाला तथा दोसल्ला तयार पारिसकेका थिए। एकजना कार्यकर्ताले ठूलो साउन्ड बक्स जोडिएको माइकमा 'माधव नेपाल आइपुग्नु भयो' भनेपछि नेता नेपालले रिबन काटेर कार्यालयको उद्घाटन गरे।
कार्यालयको संरचना
तीनकुने पुलनजिकै रहेको उक्त घर तीन तलाको छ। घरको अन्तिम फ्लोरमा दायाँपट्टी बाहिरै 'रिसेप्शन'को बनावटजस्तै एउटा कुर्सी र टेबल राखिएको छ। त्यसको छेवैमा रहेको एउटा कोठालाई कार्यालय सचिवको कार्यकक्ष तोकिएको छ।
दोस्रो तलामा तीन वटा कोठालाई प्राथमिकताको रुपमा प्रयोग गरिएको छ। जसमध्ये दायाँको कोठालाई बैठक कक्ष तोकिएको छ। यस कोठामा एउटा ठूलो राउन्ड टेबलसहित केही कुर्सीहरु राखिएका छन्।
त्यस्तै बायाँको कोठालाई वरिष्ठ नेता झलनाथ खनालको कार्यकक्ष तोकिएको छ। यस कोठाको भित्ताहरुमा वाल पेन्टिङ पेपर टाँसिएको छ। जसले कोठाको सुन्दरता थपेको छ। नेता खनालको लागि एउटा कुर्सी र टेबल सजाइएको छ। सामुन्नेमा करिब चार जना अट्ने एउटा सोफा पनि छ। त्यस्तै खनला कुर्सीमा बस्दा बायाँ पर्नेगरी एउटा दराज राखिएको छ।
यस कोठाको ठीक अगाडि सचिवालय प्रमुखको कार्यकक्ष तोकिएको छ। यस कोठामा पनि एउटा कुर्सी र टेबलसहित करिब पाँच जना अट्ने सोफा छ।
घरको तेस्रो तलामा पार्टी अध्यक्ष माधव नेपालको कार्यकक्ष राखिएको छ। यस कोठामा एउटा कुर्सी र दुई (एउटा सानो, एउटा ठूलो) महंगो टेबल राखिएका छन्। नेता नेपालको बायाँ र सामुन्ने पर्ने गरी दुई भव्य सोफा राखिएको छ। जहाँ ८ जना सजिलै बस्न सक्छन्। उक्त कोठाकै बायाँपट्टी अध्यक्षको सचिवालयको कार्यकक्ष तोकिएको छ।
यसरी उक्त घरमा जम्मा १५ वटा कोठा छन्। ती मध्ये ११ वटा कोठा प्रयोगमा आइसकेका छन् भने बाँकी कोठाहरुमा पनि विभिन्न प्रयोजनको लागि प्रयोग हुने बताइएको छ।
'क्षितिजमा उदाएको नयाँ तारा'
उद्घाटनपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफ्नै पार्टीलाई 'क्षितिजमा उदाएको नयाँ तारा'को संज्ञा दिए।
'तपाईंहरुकै गठबन्धन सरकारले दुई महिनासम्म पनि किन मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको?' भन्ने पत्रकारको प्रश्नमा उनले एक साताभित्रै मन्त्रिपरिषद् विस्तारको कामले पूर्णविराम पाउने बताए। उनले भने, 'केही समस्याहरु थिए। अब हल भइसकेको छ। साताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ, ढुक्क हुनुहोस्।'
साथै उनले केही दिनअघि एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटलाई सम्झदै सात वटा शर्तबारे जानकारी दिए।
पहिलो शर्त, ‘एमसीसीमा कुनै सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने शर्त छ कि छैन ? त्यस्तो शर्त हामीलाई मन्जुर छैन भनेका छौँ। हामी कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्ने शर्त मान्य छैन।’
दोस्रो, 'स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, पञ्चशीलको सिद्धान्त अवलम्बन गर्दै असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहने भएकाले यसविपरीत हुने कुनै पनि शर्त स्वीकार्य हुने छैन।'
तेस्रो, 'छिमेकीप्रति कुनै किसिमको आशंका हुने परिस्थिति स्वीकार्य हुनेछैन।'
चौथो,‘प्रोजेक्टआउँदा यसको हाइटेन्सन लाइन बन्ने जग्गा नेपालको स्वामित्वमा रहने, सार्वभौम अधिकार नेपालको रहने सुनिश्चित हुनुपर्छ।'
पाँचौँ, 'यसको बौद्धिक सम्पत्तिमा नेपालको अधिकार रहने सुनिश्चितता हुनुपर्छ।'
छैठौँ, 'एमसीसी परियोजनामा नेपाली कामदार, नेपालीले रोजगारी पाउने कुराको सुनिश्चितता हुनुपर्ने छ।'
र सातौं शर्त, 'एमसीसी परियोजनाको लेखा परीक्षणमा महालेखा परीक्षकको अधिकार रहने सुनिश्चितता हुनुपर्छ।'