पूर्वसभामुख महराका छोराछोरी, जसले बन्दूक बनाउन र बारुद भर्न बाबुबाटै सिके

दिलिप कुवँर

काठमाडौँ
Breaknlinks
Breaknlinks

सभामुखबाट यौनदूराचारको आरोपमा राजीनामा गरेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उक्त आरोप मिथ्या प्रमाणित भएसँगै राजनीतिमा फेरि फर्किएका छन्– माओवादी केन्द्रको प्रवक्ता र प्रकाशन विभागको जिम्मेवारीसहित।

एक साताअघि मात्रै पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो। सङ्गठन विभागको जिम्मेवारी भने अर्थमन्त्री जनार्दन शर्मालाई दिइएको छ।

महराले शान्तिप्रक्रियामा आएदेखि नै पार्टीभित्र र बाहिर भलाद्मी नेताको छवि बनाए। उनै महरालाई पछिल्लो करिब डेढ वर्ष ठूलो फौजदारी अभियोगबाट गुज्रिनुपर्यो।

०७६ को असोज १२ गते साँझ संसद् सचिवालयमै काजमा खटिएकी महिला कर्मचारीले महरालाई आफूमाथि बलात्कार गरेको आरोप लगाइन्। जतिबेला उनी सभामुख नै थिए। 

आरोपपछि महरामाथि विभिन्न नैतिक प्रश्नहरु खडा भए। सुरुमा महरा र उनको सचिवालयले आरोपको खण्डन गर्ने प्रयास गर्यो, तर जब महरा र ती महिलाबीचको 'कल रेकर्ड' र 'सीसी टीभी'को फुटेज प्रहरीको हातमा पर्यो, तब भने घटनाले नयाँ मोड लियो।

घटनापछि देशभरिबाटै नकारात्मक टिप्पणीहरु भए। उनले तत्कालै सभामुखबाट राजीनामा दिए पनि। उनकाे यस निर्णयले भने केही साथ पायाे।

करिब पाँच महिनाको कारागार बसाइपश्चात् अन्ततः फागुन ५ गते महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दियो। कानूनी रुपमा त उनले सफाइ पाए तर समाजले भने उनीमाथि अझै औँला ठड्याइरहेको छ– नैतिकताको प्रश्नसहित। जुन अब अर्थहीन छन्।

महराको शालीन र भद्र स्वभाव लोभलाग्दो छ। उनी आज पनि भद्र छन्, शालीन छन्। पार्टीभित्रै आज पनि उनको दर्जामा कोही नेता आउन सक्दैनन्।

महराको इतिहासलाई हेर्ने हो भने उनी छोटो समयमै उच्च ओहोदामा पुग्ने थोरै नेतामध्ये एक हुन्। त्यसो त उनले देशको उपप्रधानमन्त्री तथा गृहमन्त्री र सञ्चार मन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारी पनि त्यसअघि नै पूरा गरिसकेका छन्। 

०४८ सालको आम निर्वाचनमा रोल्पा २ नम्बर क्षेत्र, ०६४ सालको संविधानसभा निर्वाचनमा दाङ ३ नम्बर क्षेत्र र दोस्रो संविधानसभा निर्वाचन २०७० मा रोल्पा १ नम्बर क्षेत्रबाट विजयी भएका थिए।

०३६ सालदेखि वाम राजनीतिमा लागेका थिए– महरा। १२ वर्षसम्म रोल्पाको सदरमुकाम लिबाङस्थित बाल कल्याण माध्यमिक विद्यालयमा शिक्षण पनि गरे। 

०५२ सालमा माओवादीले सशस्त्र विद्रोह गरेपछि महरा पनि भूमिगत भए। अनि महरासँगै उनको परिवार पनि भूमिगत भयो।

आफ्ना सन्तानलाई विदेशका राम्रा शिक्षण संस्थामा पढाउने अनि गरीब गुरुवाका छोराछोरीलाई चाहिँ बुर्जुवा शिक्षा बहिस्कार गरौँ भन्दै पढाइ छुटाइदिने नेताहरु माओवादीमै पनि छन्। जुन राणाकालदेखि नै एउटा कूसंस्कारको रुपमा विकसित हुँदै आयो। जनताका सन्तानलाई विद्रोहमा लगाउने वा प्रयोग गर्ने नेताहरु अझै पनि हाम्राे समाजमा प्रशस्त छन्। यस विषयमा भने महरा अलि फरक नै प्रमाणित भए। उनले जनताका छोराछोरीसँगै आफ्ना सन्तानलाई समेत विद्रोहका लागि भूमिगत बनाए।

महराका चार सन्तान छन्। दुई छोरीहरु प्रगति र उन्नति छन् भने महरा छोराहरु निर्मल र राहुल हुन्। माओवादीभित्र निर्मललाई 'एटम' उपनामले चिन्छन्।  महरा-पत्नी सीताको भने कोरोना भाइरसकै कारण गत साल निधन भयो।

महराले सन्तानको नाम पनि अलिक फरक तरिकाले राखेका छन्। सन्तानका नामहरुले आफैमा नयाँ अठोट, विद्रोह र क्रान्तिको संकेत गर्छन्- 'एटम, राहुल - प्रगति, उन्नति'।

महराले आफ्ना छोराछोरीलाई नेपालकै शैक्षिक प्रणालीबाट पढाए। छोराछोरीलाई आफैँ बन्दुक बनाउन सिकाए। बारुद भर्न सिकाए। मध्यरातहरुमा जङ्गल यात्रा गर्न छूट दिए। विद्रोहको अर्थ सिकाए। क्रान्तिको परिचय सिकाए।

एटम हाल दाङकाे माओवादी केन्द्रकाे सचिवालय सदस्य छन्। उनले यद्धताका बेला माओवादी सेनाका लडाकूकाे व्रिगेड भाइस कमान्डर भएर महत्वपुर्ण जिम्मेवारी पनि निभाए। राहुल पनि 'वाइसिएल'काे केन्द्रीय काेषाध्यक्ष तथा राेल्पा जिल्ला कमिटी सदस्य भएर सक्रिय रूपमै काम गरिरहेका छन्।

उन्नति पनि पार्टीका विभिन्न भातृ संगठनहरूमा सक्रिय छिन्। उनले लामाे समयकाे प्रेम सम्बन्धपश्चात पुरण क्षेत्रीसँग विहे गरेकी थिइन्। जाे, हाल राेल्पा नगरपालिकाकाे मेयर छन्। र प्रगतिकाे परिचय भनेकाे 'क्रान्तिकारी गायिका'काे छ। उनी जन सांस्कृतिक मञ्चकाे लुम्बिनी प्रदेश सचिवालय सदस्य छिन्।

एटमलाई झस्काइरहने एउटा घटना

०५३ सालदेखि महराकाे सपरिवार नै भूमिगत भयाे। भूमिगत हुँदा एटमले धेरै कुराहरू सिके। भाेगे। र थाहा पाए पनि। एटम आज पनि एउटा घटना सम्झिएर झस्किरहन्छन्।

भएकाे के थियाे भने, एटमकाे आँखै अगाडि उनकाे साथीहरु हवाइ आक्रमणमा परेर साेत्तर भएका थिए। एटमलाई ठ्याक्कै समय थाहा छैन। तर हालका उपराष्ट्रपति नन्दकिशाेर पुन 'पासाङ'काे नेतृत्वमा एटमसहित सयाैँ संख्यामा रहेकाे समूह बेनी आक्रमण गर्न म्याग्दी पुगेका थिए। 'फायरिङकाे पाेजिसन'मा नआउँदै उनीहरुविरुद्ध अचानक हवाइ आक्रमण भयाे।

एटमले पुराना दिनहरु सम्झदै भने, 'ठ्याक्कै मिति त मैले बिर्सेँ। पासाङ (हालका उपराष्ट्रपति)काे नेतृत्वमा बेनी आक्रमण गर्न म्याग्दी पुगेका थियाैँ। तर त्यहाँ हामीलाई निशाना बनाएर हवाइ आक्रमण भयाे। आक्रमणमा परेर मेरै आँखै अगाडि साथीहरुकाे लास साेत्तर बन्याे। कतिपय साथीहरु घाइते भए। चाेट सहन नसकेर उनीहरु चिच्याए। कराए। त्याे घटना आज पनि मेराे आँखामा झल्किरहन्छ।'

उक्त आक्रमणमा एक सय १० जनाले ज्यान गुमाए। अन्य सयाैँ घाइते भए। ज्यान गुमाउनेहरु अधिकांश एटमकै साथीहरु थिए।

आफ्नै आँखा अगाडि प्रिय साथीहरुकाे लास साेत्तर भएपछि त्यतिबेला उनी नराम्ररी दुखे। राेए। यहाँसम्म कि उनी केहीसमय भावह्विल भएर बाँचे। याे घटनालाई सम्झदा एटम आज पनि झसङ्ग हुन्छन्।

प्रकाशित मिति: : 2021-09-06 22:14:00

प्रतिकृया दिनुहोस्