एमालेले संसद् चल्न नदिनु नाजायज हो : मन्त्री भुसाल

Photo: newskarkhana
Photo: newskarkhana

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एमालेले सभामुखसँग आक्रोशित भएर संसद् चल्न नदिनु नाजायज भएको टिप्पणी गरेकी छन्।

निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकीकृत समाजवादीका सांसदलाई कारबाही गर्न नमिल्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले कानुन र अधिकार प्रयोग गरेको उनले दाबी गरिन्।

मंगलबार तनहुँ आएकी मन्त्री भुसालले कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै माधव नेपाल, प्रचण्ड र देउवाप्रतिको आक्रोश सभामुखलाई पोखेको उनको आरोप छ।

‘बेतुकको गैरराजनीतिक आरोप-प्रत्यारोपमा लागेर प्रतिगमनकारी सोचले आफ्नै पार्टी सिध्याउने, कम्युनिस्ट पार्टी सिध्याउने काम भइरहेका छ। यो ढंगले आफ्नो पराजय पतनको अभिव्यक्ति सभामुखमाथि दिइरहेका छन्। र, आफैँलाई नंग्याएका छन्’, उनले भनिन्। वार्ता, संवादको प्रक्रिया सभामुखले अपनाउँदा एमाले उपस्थित नभएको भुसालको भनाइ थियो।

उनले अब निर्वाचन केन्द्रित गतिविधिमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिइन्। ‘अबको ६/७ महिनामा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी लाग्नुहोला,’ उनले भनिन्। अबको निर्वाचनमा गठबन्धन नै मिलेर होमिन सक्ने उनले संकेत गरिन्।

एउटै पार्टीको बहुमत नआउने भएकाले निर्वाचनपछि पनि गठबन्धन सरकार बन्ने उनले दाबी गरिन्। तर, आफ्नै संगठनलाई बलियो बनाउनुपर्नेमा उनको जोड छ।

प्रकाशित मिति: : 2021-09-14 15:09:00

प्रतिकृया दिनुहोस्