कारण चाहे जेसुकै होस्– कतिपयको वैचारिक प्रतिबद्धता र निष्ठा होला, कतिपयका लागि विपरीत विचारको आलोचना/खण्डनको विषय, कसैलाई राजनीतिक स्वार्थका लागि ‘सार्वजनिक खपत’ (पब्लिक कन्जम्सन) होला, कसैका लागि उपहास/व्यङ्ग्य निर्माणको कच्चा पदार्थ। सकारात्मक होस् वा नकारात्मक अर्थमा यतिखेर ‘समाजवाद’ शब्द अझ चर्चित र लोकप्रिय भएको छ।
यो एकदमै गज्जब र सुखद कुरा हो। ‘समाजवाद’ माथि अझ धेरै, हज्जारौं कोणबाट मन्थन हुनुपर्दछ ताकि सारको नौनी अझ राम्ररी भेट्न सकियोस्, समाजवादको सौन्दर्य अझ सुन्दर ढङ्गले खिच्न सकियोस्।
नेपाल संविधानतः ‘समाजवाद–उन्मुख’ राज्य हो। कतिपयले यो संवैधानिक व्यवस्थामाथि प्रश्न नउठाएका हैनन्। संविधानमा ‘विचारधारा’ लेखिनु हुन्न, चाहे त्यो जुनसुकै होस् भन्ने तर्क नआएको हैन। तर, राज्यका आधारभूत सोच, चरित्र, विचार र संरचना संविधानमा झल्किनु स्वाभाविक, आवश्यक र विश्वव्यापी नियम हो। संसारभरिकै ‘संवैधानिक लोकतन्त्र’ मा यस्तो प्रचलन छ/हुन्छ।