तिज : नारी विद्रोहको ‘हिन्दू–कथा’

कुनै वेला ‘हिन्दू नारी’ समूहमा मात्रै सीमित तिज पर्वका सिमानाहरू अहिले व्यापक भइसकेका छन्

नयाँ पत्रिका दैनिक

डा. डिला संग्रौला

सारमा बुझ्ने हो भने– ‘हिन्दू–कथा’को एउटा सानो अणु मात्रै हो तिज। पौराणिक युगको ‘हिमालय प्लट’मा बुनिएको यस कथाका पात्र हुन्– पार्वती र शिव।  एउटा पौराणिक प्रेम–कथा बिस्तारै हिन्दू नारीको एक ‘महान् पर्व’का रूपमा स्थापित भयो। र, यसलाई नेपाली हिन्दू नारीसँग गाँसेर मनाउन थालियो। पार्वतीले आफ्नो प्रेम (शिव) लाई पाएको त्यो ‘पवित्र’ दिन हरितालिका अर्थात् तिज भयो। कुनै वेला ‘हिन्दू नारी’ समूहमा मात्रै सीमित रहेको यो पर्वका सिमानाहरू अहिले व्यापक भइसकेका छन्। यसका दायरा र परिभाषा फराकिला भएका छन्। तिज मनाउने तरिका फरक भएका छन्। यसरी आजसम्म आइपुग्दा तिज सम्पूर्ण नारीको एउटा साझा पर्व भइसकेको छ। र, यसमा पुरुषहरू पनि कुनै न कुनै पाटोमा साझेदार हुन थालेका छन्। यो एउटा महत्वपूर्ण परिवर्तन हो। 

मूलतः तिज हाम्रो धर्म, संस्कृति र परम्परा अनि सामाजिक संस्कारको एउटा गहकिलो ‘प्याकेज’ हो। जसलाई हामीले स्वास्थ्य र विज्ञानका आधारमा समेत व्याख्या गर्न सक्छौँ। महिला अधिकार अनि स्वतन्त्रतासँग गाँसेर हेर्न सक्छौँ। नारीको प्रेमशक्ति अनि उसको त्याग, समर्पणको क्षमता अनि साहससँग गाँस्न सक्छौँ। यद्यपि हरेक पर्वलाई परिभाषित गर्ने र त्यसलाई अपनाउने आआफ्नै तरिका होलान्, त्यो पनि व्यक्तिगत स्वतन्त्रताको एउटा पाटो हो। 

प्रकाशित मिति: : 2021-09-10 10:31:00

प्रतिकृया दिनुहोस्