साथी

शिलापत्र

नवराज पराजुली
पाकिस्तानमा 'ह्याम्लेट' नाटकमा अभिनय गर्दै नवराज पराजुली र दिलीप रानाभाट ।
पाकिस्तानमा 'ह्याम्लेट' नाटकमा अभिनय गर्दै नवराज पराजुली र दिलीप रानाभाट ।

ब्याकस्टेजमा सेतो कपडाले बेरिएको मृत शरीरलाई चार जनाले बाँसमा बोक्छन्। ब्याकस्टेजबाट 'राम नाम सत्य हो, राम नाम सत्य हो' भन्दै पात्रहरूले लासलाई स्टेजतिर लान्छन्। स्टेजको बीचमा निकै अग्लो चिता राखिएको छ। पात्रहरूले चिताको वरपर लासलाई तीनपटक घुमाउँछन्। र, चिताको बीचमा लगेर सुताउँछन्। लास र लासको छोरोलाई एक्लै छोडेर सबै स्टेजबाट बाहिरिन्छन्। छोरो दर्शकतिर फर्किएर एकछिन रुन्छ। अनि चितातिर फर्किएर आफ्नो संवाद बोल्छ। तर, एक्कासि लास चिताबाट जुरुक्कै उभिन्छ । कात्रोसँगै उभिएकाले लासको अनुहार अझै देखिएको छैन। छोरो आत्तिन्छ। लासले आफूलाई ओढाइएको सेतो कात्रो अनुहारबाट अलिअलि गर्दै हटाउँछ। अब लासको अनुहार देखिन्छ। लासले कात्रोलाई हातमा लिएर हावामा फरफराउँछ। चितामाथि हल्का नाच्छ। अनि आफ्नो संवाद बोल्छ।

नाटकको कथा डेनमार्कको हुन्छ। लेख्ने सेक्सपियर बेलायतका हुन्। खेल्ने कलाकारहरू नेपालका। मञ्चन पाकिस्तानमा हुँदै हुन्छ। अन्तर्राष्ट्रिय नाटक महोत्सव भएकाले दर्शकहरू संसारभरिबाट हुन्छन्।

सबैभन्दा सुन्दर पुग्नु भनेको भाषा र भूगोललाई नाघेर पुग्नु हो।

नेपालबाट थिएटर भिलेज पाकिस्तानको कराँची पुगेको हुन्छ।

नेपाली कलाकारहरू नदी वा चरा पुगेजस्तै गरी भाषा र भूगाेललाई नाघेर पाकिस्तान पुगेका हुन्छन्। तर, फरक यो हुन्छ कि चरा वा नदीले पासपोर्टमा भिसा लाउनु पर्दैन।

प्रकाशित मिति: : 2021-09-09 09:35:00

प्रतिकृया दिनुहोस्