माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ।
संघीय संसदको नवौं अधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारवाही र पार्टी विभाजनलाई लिएर अवरोध गरेर स्थगित गर्न बाध्य पारेका बेला एकीकृत समाजवादीले प्रतिवाद गर्ने भएको हो।
एमालेको संसदीय दलको बैठकले पनि कारवाही गरिएका माधव नेपालसहित १४ सांसद संसदमा सहभागी भए बैठक चल्न नदिने निर्णय गरेको थियो।
उक्त निर्णयमा प्रतिक्रिया जनाउँदै समाजवादीका नेता विरोध खतिवडाले सदनमै जवाफ दिने चेतावनी दिए। 'हाम्रो बारेमा केपी ओलीले उठाएका प्रश्नबारे सभामुखसँग समय लिएर प्रतिवाद गर्ने निर्णय भएको छ,' खतिवडाले भने।
समाजवादीले संसद बैठकमा संयमित रूपमा सहभागी हुने र एमालेले निहुँ खोजे प्रतिवाद गर्ने जनाएको छ।