म्यान्मार सैन्य 'कू'विरूद्ध जनयुद्धकाे घाेषणा, सैनिक अड्डामाथि आक्रमण गर्न जनसरकारकाे अपील

राजकुमार शर्मा

रंगुन, म्यान्मार
Photo: NUG
Photo: NUG

म्यान्मारकाे राष्ट्रिय एकता सरकारले सैन्य सरकारविरूद्ध 'रक्षात्मक युद्ध' घाेषणा गरेकाे छ। अपदस्त सांसदहरूकाे नेतृत्वमा गठन गरिएको छाया सरकारले मंगलबार सैनिक तानाशाहीविरूद्ध देशव्यापी युद्धकाे घाेषणा गरेको हाे। 

म्यान्मार छाया सरकारका कार्यवाहक राष्ट्रपति दुवा लाशी लाले स्वतन्त्र नागरिक सम्मिलित रक्षा फाेर्स र ठाउँ-ठाउँमा छरिएर सैनिकविरोधी गतिविधिमा संलग्न जातीय सशस्त्र समूहलाई क्रूर सैन्य कमान्डर मिङ आग ह्लाइड नेतृत्वकाे 'जुन्ता सरकार'विरूद्ध तत्काल विद्रोह गर्न आह्वान गरेका छन्।

उनले भने, 'याे जनताको प्रतिरोध युद्ध हाे। म्यान्मालीहरू देशमा प्रजातन्त्र पुनःस्थापन गर्न संघर्षरत छन्। जनताको युद्धमा सबै पक्षकाे साथ चाहिन्छ। हामीहरू जित्नेछाैँ। आउनुहोस् अन्तिमसम्म लडाैँ।'

जुन्ता सरकारविरूद्ध लामाे समयदेखि विद्राेह गरिरहेका सशस्त्र समूहहरूलाई कार्यवाहक राष्ट्रपति लाले तानाशाही सैनिक अड्डामाथि आक्रमण गर्न र आ-आफ्नो क्षेत्रमा नियन्त्रण कायम राख्न अपील गरे।

'अधिकार खाेसिएपछि म्यान्माली जनता क्रान्तिमा हाेमिन बाध्य भएका छन्। प्रतिराेध युद्ध अन्याय र पीडामा परेका नागरिकहरूकाे विद्राेह हाे। याे सैन्य सत्ता ध्वस्त पार्ने क्रान्ति हो। देशमा दिगो शान्ति र स्वतन्त्रताका स्थापन गर्नका लागि क्रान्ति गर्नैपर्छ,' उनले भने।

फेब्रुअरी-१ मा सेनाप्रमुख ह्लाइडको नेतृत्वमा जननिर्वाचित सरकारमाथि 'कू' गरेपछि पछिल्ला केही महिनाहरूमा म्यान्मार तनावपूर्ण स्थितिमा छ। सैन्य ‘कू’को विरूद्ध नागरिक सडकमा उत्रिएका छन्। प्रदर्शनकारीमाथि सैन्य दमनका कारण एक हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, भने लगभाग सात हजार थुनामा छन्।

राजनीतिक द्वन्द्व समाधानका लागि पश्चिमा र दक्षिण एसियाली राष्ट्रमार्फत भएका कूटनैतिक प्रयत्न असफल भएका छन्।

प्रकाशित मिति: : 2021-09-07 13:16:00

प्रतिकृया दिनुहोस्