अर्थमन्त्री जनार्दन शर्माले अभिभावकत्व (धर्मपुत्री) लिएका एक बालिकालाई रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१० का वडाध्यक्ष गंगाराम चनाराका छोराले बलात्कार गरेको खुल्न आएको छ।
गंगारामका छोरा कुश्माखर चनारा (रवि) ले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय आठबीसकोटमा जाहेरी दिएकी छन्। इलाका प्रहरी कार्यालय, आठबीसकोटका प्रहरी निरीक्षक कपिल शाहीले आइतबार पीडित बालिकाले जबर्जस्तीकरणीमा जाहेरी दिएको पुष्टि गरे। उनले कुश्माखरका बुबा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको उजुरीसमेत दिएको बताए।
पीडित बालिकाले उजुरीमा वडाध्यक्षका छोरा कुश्माखर चनारा (रवि) ले पटक–पटक जबर्जस्ती करणी गरेको उल्लेख गरेकी छन्। प्रहरी निरीक्षक शाहीका अनुसार, निवेदनमा बालिकाले दुई वर्षदेखि निरन्तर बलात्कार गरेको र हाल आठ दश साताको गर्भ रहेकोसमेत उल्लेख गरेको बताए।
आफूविरुद्ध प्रहरीमा जाहेरी परेसँगै कुश्माखर फरार भएका छन्। प्रहरी निरीक्षक शाहीले उसको खोजीकार्य जारी भएको बताउँदै गंगाराम र सुनितालाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ भइरहेको जानकारी दिए।
वर्तमान अर्थमन्त्री शर्माले तीन वर्षअघि अभिभावकत्व लिएर ती बालिकालाई सिस्ने हिमाल बालगृहमा भर्ना गरेका थिए। जाहेरीअनुसार २०७७ चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सञ्चालिका सुनिताले ती बालिकालाई आठबीसकोट-१० स्थित आफ्नो घरमा लगी काममा लगाउने गरेकी थिइन्। वडाध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा उनलाई चारो हाल्न नियमित लगाएको जाहेरीमा उल्लेख छ।
‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडाध्यक्ष गंगाराम र सुनिताका कान्छा छोरा कुश्माकर चनारा (रवि) ले पछाडिबाट आएर मुख थुनी बलात्कार गरेर कहीँ कतै भनेमा मारिदिने धम्की दिएको हो,’ उनले जाहेरीमा उल्लेख गरेकी छन्।
नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा १९ भदौमा उनलाई आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो। जाँचमा बालिका गर्भवती रहेको देखिएको छ। उनको पेटमा रहेको बच्चा ९ देखि १० साताको रहेको तथ्य रिपोर्टले देखाएको छ।
पीडित बालिकाले १७ भदौमा आफू कोठामा पढिरहेका बेला वडाध्यक्ष गंगारामले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै वडाध्यक्ष, बालगृह सञ्चालिका सुनिता र बलात्कार गर्ने रविमाथि हदैसम्मको कारबाहीको माग गरेकी छन्।
२०७४ मा बालगृहमा पढ्न भनेर बसेकी ती बालिका कक्षा ३ मा भर्ना भएकी थिइन्। उनीसहित बालगृहमा बसेका १२ जना अभिभावकविहीन बालबालिकालाई २०७६ मा माओवादी केन्द्रका नेता शर्माले अभिभावक बनेर विद्यालय भर्ना गरेका थिए।