फेरि नेपाली उपभोक्ता फसाउँदै ‘नेटवर्किङ व्यापार’को जालो

आयोमेल

काठमाडाैं

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा प्रतिवन्धित पिरामिड शैलीको (नेटवर्किङ व्यवसाय) माथि निगरानी बढाएको छ।

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा अनुमति पाएका कम्पनीले नेटवर्किङ धन्दा चलाएको उजुरी र गुनासो आउन थालेपछि विभागले त्यस्ता कम्पनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

आयोमेलसँग कुराकानी गर्दै विभागका प्रवक्ता शिवराज सेढाईंले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा अनुमति पाएका कम्पनीले नेटवर्किङ धन्दा गरेको गुनासो बढ्न थालेपछि निगरानी बढाएको बताए।

नेपाल तथा विदेशमा रहेका नेपालीलाई समेत नेटवर्किङमा आबद्ध गरी ठगी गरेको तथा पूँजी पलायन गरेको विभागमा उजुरी परेपछि नेपालको ९ वटा कम्पनीमाथि कारबाही सुरू गरेको हो।

विभागले हाइपर फन्ड ग्लोबल, जोसियल, सीआरयू, विन्टर, क्राउड वान, सोलम्याक्स, पोइन्टलगायत स्वदेशी तथा विदेशी व्यक्ति-फर्म एवं कम्पनीले समेत प्रत्यक्ष बिक्रीका नाममा गैरकानुनी रूपमा अनलाइन माध्यमबाट नेटवर्किङ शैलीमा व्यवसाय गरिरहेको उजुरी र गुनासो बढेपछि अनुगमनमा तीब्रता दिएको हो।

नाम चलेको व्यक्तिको आवरण नेटवर्किङ व्यवसायमा सञ्चालन भइरहेको कुरा बाहिरिएपछि विभागले ४ वटा कम्पनीको कागजातहरु जफत गरी अनुसन्धान थालेको हो।

विभागले ललितपुरमा रहेको नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, काठमाडौंमा रहेको हेल्दी लिभिङ नेपाल प्रालि र ग्लोबल ओरियन्स प्रालिमा छापा मारेको थियो।

टोलीले अनुसन्धानका लागि भन्दै कम्पनीले खरिद–बिक्री गरेका बिल, बिक्रीका लागि तयार पारेका सामग्रीसमेत जफत गरेको छ। यद्यपि यी ४ कम्पनीमाथि अनुसन्धान भएपछि मात्रै केही थप कुरा भन्न सकिने विभागको भनाई छ। बाँकी ५ वटा कम्पनीमाथि पनि हाम्रो निगरानी बढाइएको प्रवक्ता सेढाईंले बताए।

 

प्रकाशित मिति: : 2021-09-06 13:18:00

प्रतिकृया दिनुहोस्