झापामा अन्तरजातीय विवाह गरेकी एक महिलाले बुबाकाे काजक्रिया गर्नबाट बञ्जित भएकी छिन्। अन्तरजातीय बिहे गरेकै कारण विर्तामाेडकी सीता ढुङ्गाना (बिक)ले आफ्ना बुबा ९३ वर्षीय धर्मानन्द ढुङ्गाना काजक्रिया गर्न नपाएकी हुन्।
विश्वकर्मा जातीसँग विवाह गरेदेखि माइत फर्कन नपाएकी सीताले बाबुकाे निधनपछि चाहेर पनि माइतीका दाजुभाइसँगै बसेर काजक्रिया गर्न पाइनन्। उनले अहिले आफ्नाे घरमा काजक्रिया गरेकी छिन्।
दाजु भाईको व्यवहारका कारण उनले २१ वर्षदेखि माइतमा खुट्टा हालेकी छैनन्। उनले मात्र होइन, श्रीमान छविलाल विश्वकर्मा र छोराले मावली देखेका छैनन्। १० दिनअघि बुबा धर्मानन्दको दमकमा निधन थियाे। माइला छोराको घरमा बस्दै आएका बुबाको निधन भएको खबर पनि उनलाई कसैले सुनाएनका थिएनन्। उनले सामाजिक सञ्जाल फेसबुकबाट बुबा बितेको थाहा पाएपछि अहिले घरमै काजक्रिया गर्न थालेकी हुन्।
राजनीतिक आन्दोलनका क्रममा भेटिएका छविलालसँगको प्रेम सम्बन्धका कारण उनीहरुबीच भागी विवाह भयो। पाँचथर रानीगाउँका उनीहरु विवाहपछिको तनाव सहन नसकेर झापा आए। झापा आएपछि पनि श्रीमान–श्रीमति नै राजनीतिमा सक्रिय छन्। सीता अखिल नेपाल महिला संघ झापाको जिल्ला सहसचिव हुन् भने छविलाल एमाले झापाका प्रभावशाली नेता हुन्। राजनीतिमा सक्रिय भए पनि दुई दशकदेखिको जातीय विभेदबाट उनीहरुको परिवारले मुक्ति पाएको छैन।
राजनीतिक परिवार भएका कारण उनीहरुको घरमा समवेदना दिन आउनेको बाक्लै भिड लाग्ने गरेको छ। हरेक दिन आउनेहरुले काजक्रियामा समेत विभेद् हुनु असामान्य अपराध भएको बताउँछन्। सिताको दाजुभाई र दिदीबिहीनीले दमक मै काजक्रिया गरिरहेका छन्। उनी एक्लै बुबाको काजक्रिया विर्तामोडमा गरिरहेकी छन्।
छोरी कथित कामीसँग गई भनेर बुबाले जिउँदै काजक्रिया गरिसक्नु भएको थियो। ९ दिन कोरा बसेर कपाल काटेर सीताको काजक्रिया गरिसकेका बुबाले छोरीलाई त्यागेको सन्देश दिएका थिए।
‘विवाहअघि नै आमा वित्नु भएकाले पनि मैले माइतबाट माया पाउन सकिन, यदि आमा जीवित हुनुहुन्थ्यो भने यत्तिका हद हुने थिएन।’ सीताले बिएल कर्मीसँग भनिन्।’ छविलालले विवाहको २१ वर्षसम्म पनि विभेद भोग्नु परेको भन्दै अझै परिवर्तनको आन्दोलन जरुरी भएको बताए।
‘विवाह गर्दै समस्या बारे थाहा थियो तर विस्तारै परिवर्तन हुन्छ भन्ने विश्वास गरेका थियौं। अझै पनि बुबाको काजक्रिया परिवारमै बसेर गर्न नपाउँदा दुःख लागेको छ।’ छविलालले भने।
समवेदना लिएर आउने कमल गाउँपालिका अध्यक्ष एवम् अनेमसंघ प्रदेश–१ अध्यक्ष मेनका काफ्लेले अहिले पनि विभेद् हुनु दुःखद् भएको बताइन्। उनले जातीय विभेद्को अनेमसंघ घोर भत्सर्ना गरिन्। जातीय मुक्तिको आन्दोलनमा वर्षौदेखि क्रियाशिल भएको भन्दै काफ्लेले आगामी दिनमा पनि विभेद्विरुछ महिला क्रियाशील हुने बताइन्।
‘सबै खाले विभेदबाट मुक्ति नपाएसम्म त्यसविरुद्ध लडिरहने प्रतिज्ञा गर्छु’ काफ्लेले भनिन्, ‘दुःखको बेला समेत एकै ठाउँमा बसेर काजक्रिया गर्न नपाउनु विडम्बडा कुरा हाे।’