‘मैले त छोरीको परारै किरिया गरिसकेँ। छोरीको राम्ररी बिहे गरिदिउँला, ज्वाइँ नाति–नातिनाको मुख हेरेर मरौंला भनेको थिएँ, तर छोरी अचानक हराई, खोजी गरेँ। ऊ त पल्ला गाउँका केटीहरूसँग बम्बै पो गई भन्ने सुनेँ। मन कुँडियो। अब उसको आश भएन। बरु किरिया गरेर उम्किँदा ठीक होला भन्ठानेर शास्त्रअनुसार काजकिरिया गरी उम्किएँ।’
यो भनाइ हो– बर्दियाका एक बाबु, जसकी एक मात्रै छोरी रूपा (नाम परिवर्तन) बेचिएको २ वर्षपछि एउटा गैरसरकारी संस्थाको सहायतामा आफ्नो घर फर्केकी थिइन्।
मसँगको कुराकानीमा रूपाले भनेकी थिइन्, ‘धन्न! सास लिएर घर फर्कें, अब त घर छाडेर कहीँ कतै जान्नँ, बरु आधा पेट खाएर बस्छु।’
तर जब उनी घर पुगिन्, तब उनका बाबुले घोषणा गरिदिए– तेरो किरिया परारै गरिसकेँ!’
उता झापाकी तारा (नाम परिवर्तन) को पनि कथा उस्तै छ। उनी १४ वर्षको हुँदा विद्यालयकै शिक्षकको कुरा पत्याइन् र स्कुलका अन्य २ जना सहपाठीसहित नाताले अलि टाढाको दाइ पर्ने गाउँकै एक युवकसँग सिनेमा हेर्न र नजिकिँदै गरेको तीजको किनमेल गर्न भन्दै बाबु–आमासँग २ हजार रुपैयाँ मागेर सिमानापारि गइन् र हराइन्।
मैले कुरा गर्दा उनी ६ वर्षपछि कसैको सहयोगमा स्वदेश फर्किसकेकी थिइन्। तर घर जाने बाटोमा काँडेतार लगाएका थिए, उनका दाजुले। उसो त दाजु स्थानीय विद्यालयका शिक्षक तथा एउटा मूलधारको राजनीतिक पार्टीको पेसागत संगठनका सक्रिय सदस्य पनि हुन्। अनुसन्धानका क्रममा उनका दाजु र र बाबु–आमालाई भेट्दा थाहा पाइयो– ती किशोरीले नागरिकता बनाइदिन अनुरोध गरेकी रहिछन्, तर इज्जत फालेको आरोप लगाउँदै बाबुले नागरिकताका लागि सिफारिस नदिने मात्र होइन, घरमै नआउन आदेश दिएका रहेछन्।