पोखरामा पहिरोमा परी ३ जनाको मृत्यु

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

अविरल वर्षापछि आएको पहिरोले पोखरामा ३ जनाको ज्यान लिएको छ। हिजो रातिदेखि परेको वर्षा पछि आएको पहिरोमा परी पोखरा काहुँखोला र पोखरा २० भलाममा गरी ३ जनाको मृत्यु भएको हो।

घरमाथिबाट एक्कासी पहिरो खसेर घर पुरिँदा पोखरा-११ का लक्ष्य नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। कच्चीघर माथिबाट पहिरो खस्दा नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए।

४२ वर्षीय  नेपालीको उपचाका क्रममा मृत्यु भएको थियो। छोरी १४ वर्षीय सृष्टी नेपालीको दुवै दुट्टा र ढाडमा चोट लागेको डिएसपी  हमालले बताए।उनका अनुसार परिवारका अन्य सदस्य भने सकुशल छन्। यस्तै पोखराकै २० नम्बर वडा भलाम निवासी ३५ वर्षीय सुन माया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको पनि पहिरोमा परी मृत्यु भएको छ।

पहिरोले च्यापिएर टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो भने उनका छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन्। अर्का ९ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भएको डिएसपी हमालले जानकारी दिए। क्षतिको थप विवरण आउन बाँकी नै छ।

प्रकाशित मिति: : 2021-09-02 11:03:00

प्रतिकृया दिनुहोस्