१३औँ शताब्दीमा तिब्बतबाट 'लामा मेला' र उनका लँगौटिया साथी नाप्पो जाम्बा डोल्पाको काइकेमा आए। तिब्बतबाट कुममा कुम मिलाएर सँगै नेपाल आइपुगेका यी दुई लामाका आ–आफ्नै घर्म थिए। एउटाले काग्यु धर्म मान्थे भने अर्का थिए भुम्बवाला।
त्यो बेला डोल्पा पुगेका यी दुवै लामा शक्तिशाली थिए। उनीहरुको शक्ति देखेर काइकेका बासिन्दा चकित हुन्थे। तिब्बतबाट हिँडेर दुई लामा डोल्पाको काइकेमा पुगेको र उनीहरु शत्तिशाली भएको कुरा पूरै डोल्पा जिल्ला हुँदै जुम्ली राजाको कानमा पुग्यो।
जुम्ली राजाले रातारात दुवै लामालाई जुम्ला बोलाए र राजाको दरबार पुगेका उनीहरुले शक्ति देखाए। शक्ति प्रदर्शनमा भुम्ब धर्मका लामा मेलाले जिते।
लामा मेलाको शक्ति देखेर जुम्ली राजासमेत चकित परे। जुम्ली राजाले इनामस्वरुप लामा मेलालाई तामामा सुनले लेखेको पत्र दिएर दुवै लामालाई बिदाइ गरे।
जुम्ली राजाबाट सुनले लेखेको पत्र पाएर लामा मेला दङ्ग पर्दै आफ्नो चेलाको साथमा प्रतिस्पर्धा हारेका लामा नाप्पो जाम्बासँगै डोल्पा हानिए। डोल्पामा बासको व्यवस्था थिएन। सदरमुकाम दुनै नजिकै पाल्चो खोला (सेलुङ) नजिकै एक गुफामा बास बसे। प्रतिस्पर्धामा हारेका लामा नाप्पो जाम्बा पनि सँगै थिए। उनलाई राती निन्द्रा परेन। हारेको मान्छे कसरी गाउँ जाने?
उनलाई तनावले च्पाप्यो। गाउँलेले त थाहा पनि पाइसके होलान्, रात झन् महिना दिनभन्दा लामो लाग्यो। झन्–झन् त्यो रात ऐठन हुन थाल्योे। उनले मनमनै योजना बनाए– लामा मेलालाई मारेर उनले हासिल गरेको सुनको पत्र खोसेर हिँड्ने।
शक्ति प्रदर्शनीमा जितेका लामा मेलाका चेलालाई आफ्ना हातमा लिन सुरु गरे। लामा मेलालाई विष खुवाएर मार्न लगाए। लामा नाप्पो जाम्बाले लामा मेलाको चेलालाई मारेको बदलामा एक मुठा (त्रिकोस) असर्फी दिए। उनले त्यो सुनको पत्र हासिल गरेपछि त्यो असर्फी गोबरमा परिणत भयो।
लामा मेलाको मृत्यु हालको काइके गाँउपालिका वडा नम्बर ७ स्थित धारापानीमा भएको थियो।
धारापानीबाट बैजीबारा देखिने भएकाले लामा मेलाले त्यही आएर प्राण त्याग गरेको किंवदन्ती छ। लामा मेलाले प्राण त्याग गरेको स्थानमा हाल उनको सम्झनामा स्तुपा छ।
डोल्पाको काइके गाँउपालिका वडा नम्बर ५ स्थित तीर्थस्थललाई काइके मात्र हैन, डोल्पाका सम्पूर्ण बोन धर्मावलम्बीहरुले ठूलो तीर्थस्थलका रुपमा मान्ने गर्छन्।
१३औँ शताब्दीमा तिब्बतबाट आएका दुवै लामा मेला यही तीर्थमा बसेर तपस्या गरेका थिए।
फरक फरक धर्म मान्ने भएका कारण एक आपसमा शक्ति प्रदर्शन हुन थाल्योे । दुवैजना शक्तिमा कोही कम थिएनन्।
दुई लामा बसेको स्थान ठीक वारि र पारि छ। वारिपारिबाट शक्ति प्रदर्शन हुन थाल्योे। लामा मेला बसेको स्थानलाई बोन धर्मावलम्बीले तीर्थस्थल मान्न थाले।
यो तीर्थस्थलमा प्रत्येक वर्षको भदौ पुर्णिमामा विषेश पूजा हुने गर्छ। पूजामा काइके गाँउपालिकाको ओइरो लाग्छ।
माओवादी सशस्त्र द्वन्द्वअघि भदौ पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्थ्यो तर सशस्त्र द्वन्द्वपछि मान्छे आउनै छाडे। मेला नलागे पनि पूजा भने अहिले पनि कायमै छ। माओवादी सशस्त्र द्वन्द्व सकिएपछि फेरि भदौ पूर्णिमाका दिन यहाँ आउनेहरु बढ्न थालेका छन्।
सधैँका वर्ष झै यो वर्षको भदौ पूर्णिमाका दिन पनि लामा मेला तपस्या बसेको स्थानमा पूजा गरेर तीर्थको परिक्रमा (कोरा) गरिएको छ।
यस पटकको पूजामा बैजीबारास्थित युङडुङ स्युछल गुम्बाका खेम्पो घेसे निमा कुन्क्याप रिम्पोछे सहभागी भए।
यो वर्षको पूजा झन् भव्य भएको थियो।
पूजामा काठमाडौंबाट गएका लामा र गाँउका लामाहरुको सहभागिता थियो। भदौ पूर्णिमाभन्दा दुई दिनअघिदेखि गाँउको गुम्बामा पूजा गरिन्छ।
भदौ पूर्णिमाको बिहानै गुम्बाका खेक्पोलाई खेम्पा नभए गाउँका प्रमुख लामालाई अघि लगाएर बैजीबारा गाउँ र छोरीडाँडा हुँदै लामा मेला बसेको तीर्थस्थल पुगिन्छ।
परिक्रमा (कोरा) गर्दै लामा मेला तपस्या बसेको गुफामा पुगेपछि यसरी पूजा गरी लामा मेलालाई सम्झिन्छन्।
पूजा सकेपछि गाँउलेहरुले सामुहिक भोज (खाना) खाने र रमाइलो गरी बस्ने, साँझ तीर्थस्थलको अन्तिम भागमा परिक्रमा (कोरा) गरी गाउँको गुम्बामा फर्किन्छ।
गुम्बा पुगेपछि वाङ थाप्ने चलन छ। वर्षभरि राम्रो होस्, दिनदशा नलागोस् भनेर लामाको हातबाट वाङ थाप्ने चलन छ। यस वर्षको भदौ पूर्णिमा पूजा गरी वाङ थाप्ने काम सम्पन्न भयो। खेम्पा घेसे कुन्क्यापबाट पूजामा आएका सबैले वाङ थापेका थिए।