बुधबार, १७ डिसेम्बर २०२५

अफगानिस्तानः अमेरिकी फौज पूर्ण रूपमा फिर्ता, तालिबानले बन्दुक पड्काएर मनाए खुसियाली

Photo : AFP
• • •

अफगानिस्तानमा अमेरिकी सेनाको २० वर्ष लामो उपस्थिति समाप्त भएकोे छ। अमेरिकाले मंगलबार काबुलबाट आफ्ना सम्पूर्ण सेना फिर्ता गरेसँगै अमेरिकी उपस्थिति अन्त्य भएको हो। मंगलबार अन्तिमपटक अमेरिकी दूत सवार सी १७ विमान काबुलबाट वासिंगटनका लागि प्रस्थान गरेको थियो। 

अन्तिम अमेरिकी विमान काबुलको आकाशमा उडेपछि तालिवानले बन्दुक पड्काएर खुसियाली मनाएका थिए। अमेरिकी सेनाले काबुल छोडेपछि तालिवान लडाकूले काबुल विमानस्थलमामा निगरानी बढाएको थियो। केही लडाकूले अमेरिकी सेनाले छोडेका सैन्य पोसाक लगाएका देखिन्थे। 

सन् २०२० को जनवरीमा भएको एउटा सम्झौतामा अमेरिकाले ३१ अगस्टभित्र आफ्ना सम्पूर्ण सेना फिर्ता गरिसक्नुपर्ने उल्लेख थियो। तोकिएको समयभित्र सबै सेना फिर्ता गर्न अमेरिकामाथि तालिवानले दबाब दिएको थियो। आफूहरुसँगै अमेरिका जान नसकेका अफगानीलाई कूटनीतिक नियोगले निरन्तर सहयोग गर्ने अमेरिकाले जनाएको छ। अमेरिकाले आफ्ना नागरिक र अफगान सर्वसाधारण गरी एक लाख २३ हजारलाई स्वदेश फिर्ता गरेको जनाएको छ। 

दुई दशक लामो अफगान युद्धमा अमेरिकाले ठूलो मूल्य चुकाएको छ। युद्धमा २४ सय अमेरिकी सेनाको ज्यान गएको छ। 

अफगानिस्तानमा सैन्य मिसन समाप्त

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिनकेनले छोटो समयमै आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरिएको बताएका छन्। उनले भने, ‘अब नयाँ अध्याय सुरु भएको छ। अफगानिस्तानको सैन्य मिसन समाप्त भएको छ। नयाँ कूटनीतिक मिसन सुरु भएको छ।’

आफ्नो मिसन पूरा गरेसँगै अमेरिकाले काबुलमा कूटनीतिक उपस्थिति अन्त्य गरेको छ। अब कतारको राजधानी दोहामा रहेको अमेरिकी मिसनले नै अफगानिस्तान हेर्नेछ। 

एक प्रसंगमा उनले तालिवानले अन्तर्राष्ट्रिय समुदायको समर्थन पाउन आवश्यक भएको बताए। त्यस्तै, तालिवानले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने उनले बताए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!