२०३३–०३४ सालतिरको कुरा। फेवातालको छेउमै नयाँ घरको जग हालिएछ। फेवाताल किनारमा घर बनाउन तत्कालीन अञ्चलाधीशको सिफारिस लिनुपर्थ्यो। अञ्चल विकास समितिले सो क्षेत्रमा मापदण्ड तोकेको थियो। अञ्चलाधीश थिए– प्रा.डा. शंंकरराज पाठक। हिमागृहनेर नयाँ घर बन्न थालेपछि अञ्चलाधीश पाठकले सोधखोज गरेछन्। बन्दै गरेको घर त तत्कालीन अर्थ राज्यमन्त्री भेषबहादुर थापाको पो रहेछ।
राजा वीरेन्द्रलाई पढाएका र राजाले नै अञ्चलाधीश बनाएका शंकरराज पाठकले भेषबहादुर थापासँग सोधेछन्, ‘घर बनाउने स्वीकृति कहाँबाट आयो?’
‘सरकारले नै बनाऊ भनेर हुकुम भा’छ, नत्र किन बनाउँथे र?’ मन्त्री थापाले जवाफ दिएछन्।
अञ्चलाधीश पाठकलाई मन्त्रीको कुरा चित्त बुझेन।
‘स्वीकृति दिएकै भएपनि राजाले मलाई भन्नुपर्थ्यो, राजाको हुकुम प्रमाणित गर्ने त सचिवले हो, सचिवले पनि मलाई भन्नुपर्ने हो, चिठी आएको छैन!’ पाठकले घर निर्माण रोक्ने निर्णय गरे।
‘त्यसपछि मैले मन्त्रीलाई तपाईंले बनाउने हो भने बनाउँदै जानुस्, म रोक्दै जान्छु भनेँ,’ उनले त्यो बेलाको कुरा सम्झँदै भने, ‘मैले सहायक अञ्चलाधीश टेकनाथ भट्टराईजीलाई बोलाएर भनेँ, ल तपाईं हरेक हप्ता निर्माण रोक्न चिठी लेख्नुहोस्। उसले बनाउँदै जान्छ भने बनाउँदै जाओस् तर म रोक्दै जान्छु भनेँ।’
यता मन्त्रीको घर तयार हुँदै थियो, हरेक हप्ता निर्माण रोक्न चिठी पनि जाँदै थियो। त्यत्तिकैमा घर ठडियो। त्यही बेला राजा वीरेन्द्र पोखरा आए। राजाले हिमागृहनेर बनेको घरबारे चासो राखे।