एमालेका उपाध्यक्ष वामदेव गौतमको पत्नी तुलसा थापा मन्त्री बन्ने आश्वासन पाएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छिन्। प्रतिनिधिसभामा समानुपातिकतर्फकी सांसद् निर्वाचन आयोग पुगेर सनाखत गरेकी हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेपालले गौतमलाई पार्टीको नेतृत्व गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए। दोस्रो पटक एमाले फुटाएको कलङ्क नबोक्ने भन्दै गौतम पार्टी विभाजनमा सहभागी नभएका हुन्। उनले सरकारमा जान पनि अस्वीकार गरिसकेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि पहल नगरेको, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद्को चुनाव हुनुपर्नेजस्ता आफ्ना मागबारे एमाले स्थायी कमिटी बैठकमा एजेन्डा नबनाइदिएको भन्दै उनी रिसाएका छन्।
एमाले अध्यक्ष ओलीले पनि गौतमलाई भाउ नदिएपछि उनी तटस्थ बसेका छन्। ओलीबाट 'भावी अध्यक्ष' को आश्वासन आउला भन्ने आशमा अझै नेपाल पक्षमा लागेका छैनन्। यसअघि एमाले बैठकमा जानेगरेका उपाध्यक्ष गौतम एमालेको पछिल्ला बैठकमा सहभागी समेत भएका छैनन्।
नेपालले आफ्ना दृष्टिकोणलाई पार्टीमा स्थान दिने भन्दै उनी 'बार्गेनिङ'मा छन्। आफूले संसद्मा चुनाव हारेकाले समानुपातिकतर्फबाट पत्नी तुलसालाई समानुपातिक सांसद् बनाएका गौतमले नवगठित नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मन्त्री बन्ने आश्वासनपछि पत्नी तुलसालाई नेपाल पक्षमा लगाएका हुन्।
गौतमपत्नी थापासहित माया ज्ञवाली, शारदा भट्ट र सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा गए पनि आयोगमा हस्ताक्षर सनाखत हुनसकेन। दल दर्ताको निवेदन दिँदा हस्ताक्षर नगरेकाले आयोगले उनीहरु चारजनाको नाम सनाखत गर्न अस्वीकार गरेपछि माधवको पार्टीमा २९ जना सांसदको मात्रै सनाखत भएको छ।
माधव नेपाल पक्षमा लागेका १० जना स्थायी कमिटी सहभागी भएको एमाले स्थायी कमिटी बैठकमा पनि उपस्थित नभएका गौतम केही दिनदेखि मौन छन् तर उनले पत्नी तुलसालाई भने माधव नेपालको पार्टीमा पठाएकाले गौतम अन्तत: नेपालतिरै लाग्ने देखिएको छ। पत्नीलाई मन्त्री नबनाएमा भने गौतम पुन: एमालेमा फर्कने छन्।