नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि ६ सदस्यीय कार्यादल गठन गरेको छ।
स्थायी कमिटीको मंगलबार बसेको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने गरी कार्यदल बनाएको हो।
कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
‘१० बुँदे प्रस्ताव कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्याहरु समाधान गर्न केन्द्रीय कमिटीले १० प्रतिशत मनोनयन गर्ने सुझाव दिएको छ। ती सदस्यहरु मनोनयन गर्न र केन्द्रीय निकाय तथा विभागहरुलाई पूर्णता दिन र आवश्यकता अनुरुप पुनर्गठन गर्ने गृहकार्य गर्न एउटा कार्यदल बनाइएको छ।’ बैठककाे निर्णयमा भनिएकाे छ।
माधव नेपालको पार्टीमा गएकाहरुको हकमा कार्यदलले टुंगो लगाउने भएको छ।
१.पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने। १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटी तथा पार्टी सदस्य समक्ष प्रेसित गर्ने।
२. १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाइएको छ। उक्त कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।
३.२०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नविकरण अगाडि बढाइने। नविकरणको क्रममा एकीकरणको क्रममा आवद्ध भएका सदस्यहरूको पनि नविकरण गरिने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यहरूको पनि नविकरण असोज मसान्तसम्म गर्ने निर्णय भएको छ।
४. पार्टीको विधान महाधिवेशन यही असोज ४,५ र ६ गते काठमाडौंमा गर्ने र पार्टीको १० औं महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ मा गर्ने निर्णय। विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटी बैठक आयोजना।
५.पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्नको लागि देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने।
६.पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्नको लागि २०७८ साल भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकहरूको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला र जनसंगठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिनेछ।
७.पार्टी केन्द्रीय कमिटीको बैठक भदौ १० गते काठमाडौंमा आयोजना हुनेछ।
८. यसलगायत अन्य निर्णय र यसको दूरगामी परिणाम र समसामयिक राजनीतिक प्रभाव र राजनीतिक स्थितिबारे प्रष्ट पार्न भोलि पार्टी अध्यक्षलगायत नेताको उपस्थितिमा ११ बजे पत्रकार सम्मेलन गर्ने निर्णय पनि गरेको छ।