‘मुख्यमन्त्री रहँदा हेलिकप्टर प्रयोग गरिनँ, राज्यकोषबाट कुनै उपचार खर्च पनि लिइनँ’

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले साढे तीन वर्ष मुख्यमन्त्री रहँदा आफूले हेलिकप्टर र महंगा गाडी प्रयोग नगरेको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने पोखरेलले सामाजिक सञ्जालमार्फत् आफूले राज्यकोषबाट औषधि उपचार खर्च समेत नलिएको स्पष्ट पारेका हुन्।

ओली नेतृत्वको अघिल्लो सरकारमाथि महालेखापरीक्षकको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै आर्थिक बेथिति रहेको औँल्याएकै समयमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

लुम्बिनी प्रदेशमा बेरुजु सून्यमा राख्न सकिएकाे उनले दाबी गरेका छन्। पाेखरेलले भने, ‘यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आर्थिक मामिला मन्त्रालयको बेरुजु सून्यमा राख्न सकियो।’

संघीय, प्रदेश तथा स्थानीय सरकरमाथि बेरजु, अनियमितता र भ्रष्टाचारलाई लिएर भारी टिका–टिप्पणी भइरहेका बेला पूर्वमुख्यमन्त्री पोखरेलले आफ्नो कामलाई अहिलेको नेतृत्वले निरन्तरता दिनसके सुशासनमा केही योगदान पुग्ने जनाएका छन्। उनले भने, ‘बास नबसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिइएन। उपलव्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरियो।’


पूर्वमुख्यमन्त्री पोखरेलकाे भनाइः

साढे तीन वर्ष लुम्विनी प्रदेशमा मुख्यमन्त्री रहँदाः प्रदेश सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग भएन। मुख्यमन्त्रीका लागि नयाँ र महंगा गाडी किनिएन। औषधि उपचार खर्च राज्यकोषवाट लिइएन। बास नबसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिइएन। उपलव्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरियो। यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आर्थिक मामिला मन्त्रालयको बेरुजु सून्यमा राख्न सकियो। यसलाई अहिलेको नेतृत्वले निरन्तरता दिन सक्दा सुशासनमा केही योगदान अवश्य पुग्नेछ।


प्रकाशित मिति: : 2021-08-22 08:38:00

प्रतिकृया दिनुहोस्