एमाले फुटाएर नयाँ पार्टी बनाएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नयाँ पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ भएको छ।
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा नाम फेरेर उक्त नाम राखेर निवेदन दिइएको हो।
यसअघि 'नेकपा एमाले समाजवादी' नाम राखेर निवेदन दिएकोमा अब सो पार्टीको नाम फेरेर ‘नेकपा एकीकृत समाजवादी’ राखिएको हो।
पार्टी विभाजन गरी नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको समूहले पुरानो पार्टीकै नाममा कोष्ठ थपेर नाम राख्न दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेपछि पुन: नयाँ नाम राखेर निवेदन दिइएको हो।
साविक एमाले र माओवादीकेन्द्र एकीकृत हुँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको पुरानो दलसँग मिलेका कारण खारेज गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाअनुसार दुवै समूहले दिएका नाम राख्न नमिल्ने भनी निर्वाचन आयोगले जानकारी दिएपछि प्रस्ताव गरिएका नाम अस्वीकृत भएको थियो।