मानव वन्यजन्तु द्वन्द्व कसरी कम गर्ने?
पछिल्लो एक दशकयता जुम्लाका गाउँघरमा भालुले आतंक मच्चाएकाे खबर सञ्चार माध्यममा सम्प्रेषण भइरहेका छन्। उसाे त भालुकाे आक्रमणमा परि घाइते भएका मान्छेहरुका प्रशस्तै कहानी अहिले पनि गाउँघरमा सुन्न पाइन्छन्।
तीनैमध्येकाे एक प्रतिनिधि कहानी हाे, आज भन्दा ३७ वर्ष अगाडि तातोपानी गाउँपालिकाकाे गिडीखाेलामा घटेकाे घटना। कार्तिक महिनामा गिडीखाेलाका लक्षिराम सार्की बन्दुक लिएर सिकार खेल्न जंगल गएका थिए। त्यहीँ अचानक भेटिएको भालुले उनकाे टाउकाेमा आक्रमण गर्याे। एउटा आँखा गुम्याे भने टाउकाेमा गहिराे चाेट लाग्याे।
त्यतिबेला जुम्ला अस्पतालमा एकजना विदेशी डाक्टर भाेलेन्टियर भएर आएका थिए। उनैकाे सहयाेगमा उनकाे उपचार भएपछि बाँच्न सफल भए। उनकी छाेरी जुनकली सार्कीले सुनाए अनुसार उनले त्यसपछि मात्र नागरिकता बनाएका थिए। उनले भनिन्,'नागरिकतामा चस्मा लाउन नमिल्ने हुनाले फाेटाेमा बुबाकाे एउटा आँखामा पट्टी बाँधेकाे देखिन्छ। बुबा भालुले आक्रमण गरेकाे १२ वर्षसम्म बाँच्नुभयाे।'
२०७६ असाेज २९ गते जुम्लाको गुठीचौर गाउँपालिका -५ मा बिहान कालो भालु बस्तीमा पसेर मान्छेहरुलाई आतंकित बनायो र तीन जनालाई आक्रमण गर्यो। उक्त आक्रमणमा परी गुठिचौर -५ का काले दमाई, बसन्ती भण्डारी र खगेन्द्र अधिकारी घाइते भएका थिए।
त्यसबेला डिभिजन वन कार्यालयको टोलीले सुरुमा भालु धपाउने प्रयास गरेकाे थियाे। त्यसपछि पनि गज्र्याङकोटका मानबहादुर भण्डारी र ईश्वर बुढालाई घाइते बनायो।
मान्छे स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने स्थिति नबनेपछि गाउँलेले प्रहरीलाई भालु मारिदिन आग्रह गरे। अन्तत: प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० (ख) बमोजिम भालु मार्ने आदेश दियो। ऐनको दफा १० (ख)मा 'कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर आई, मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नुपर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिनेछ' भन्ने प्रावधान छ र सोही अनुसार भालु मारियो।
बिहिबार (साउन २९ गते) बिहान मात्रै भालुले चन्दननाथ नगरपालिका -४ निवासी २९ वर्षीया हिमबहादुर रोकाया र २६ वर्षीया निर्मला थापा रोकायालाई आक्रमण गरि घाइते बनाएको थियाे। कार्कीबाडामा श्रीमान् हिमबहादुर रोकाया नुहाई रहेको अवस्थामा भालुले आक्रमण गरेकाे श्रीमतीले थाहाँ पाउँदा उनलाई समेत घाइते बनायाे। त्यसपछि झिल्लिएकाे भालुले लुक्नलाई गाेठमा पस्ने बेला सिंहाचौरका हिरा सार्कीलाई आक्रमण गरि घाइते बनाएपछि स्थानीय प्रशासनले माथि उल्लिखित ऐन अनुसार नै भालु मार्ने आदेश दिएकाे थियाे।
भालु मार्नै पर्ने थियाे त?
पछिल्लो पटक जुम्ला बजारकाे मुटुमै भालुले आक्रमण गरेपछि त्रसित बनेका नागरिकलाई थप त्रसित नगराउन पनि भालु मार्नुपर्ने स्थिति आएकाे प्रजिअ बिजया प्रसाईंले बताइन्। 'नियन्त्रण गर्न खाेज्ने सुरक्षाकर्मीमाथि नै आक्रमण हुने अवस्था आएपछि मार्नु परेकाे हाे,' उनले भनिन्, 'मान्छेकाे ज्यानभन्दा ठुलो जंगली जनावर नभएकाे गुनासो नागरिकबाट आउन सक्ने सम्भावना भएपछि निर्णय लिनु परेकाे थियाे।'
उनले भनेजस्तै ज्यानकाे सुरक्षा गर्नुपर्ने, स्थिति कन्ट्रोल भन्दा बाहिर गयाे भने प्रजिअकाे आदेशले जंगली जनावर मार्न सकिने लामटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा भालु सम्बन्धि अन्तर्राष्ट्रिय संस्था आईयुसीएनकाे लागि नेपाका तर्फबाट प्रतिनिधित्व गर्ने विज्ञ भुपेन्द्र यादवले बताए।
'भेटेरेनरीकाे, मान्छे, डाक्टर, इक्युप्मेन्टहरु, डार्ट गन (बीस हालेकाे गाेली हानेर बेहाेस बनाउने बन्दुक) भएकाे खण्डमा रेस्क्यु गर्न सकिन्छ। सकेसम्म नमार्ने भन्ने नै हाे। किनभने हरेक प्राणीकाे मान्छेकाे जस्तै बाँच्न पाउने अधिकार हुन्छ,' उनले भने, 'एकपटक साेलखुम्बुमा युवा भालु घाइते भएर फसेपछि उद्दार गरि चिडियाखानामा ल्याएर राखिएको थियाे। तर, अहिले चितवन बाहेक अन्य ठाउँमा त्यस्ताे बन्दाेवस्त नभएकोले अन्य ठाउँमा मार्नुपर्ने स्थिति आउन सक्छ।'
वन्यजन्तुकाे उद्दार गर्ने सम्बन्धि सुविधा, सुविधासम्पन्न ठाउँमा भएपनि घटना कुनै टाढाकाे ठाउँमा हुँदा संरक्षणकर्मीले समेत वन्यजन्तु मार्नुपर्ने अवस्था आउँदा चुप लाग्नुपर्ने स्थिति रहेकाे आइलाग्ने उनले बताए। उनले भने, 'नीति बनाएर सबै प्रदेशमा रेस्क्यु सेन्टर स्थापना गरिएकाे भए मानव वन्यजन्तु द्वन्द्व कम गर्न सकिन्छ। अहिले त स्थानीय तहले समेत वन र वन्यजन्तु संरक्षणबारे बजेट छुट्याएर काम गर्न सक्छन्।'
भालु गाउँ किन पस्छ र मानव वन्यजन्तु द्वन्द्व हुन्छ?
जुम्ला बजारको मुटुमै भालु पस्दा नागरिक त्रसित भएपनि यस्ता घटना संयाेगले मात्र घट्ने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जंग खत्रीले बताए। उनका अनुसार शारीरिक सम्पर्क र बच्चा हुर्काउने समय बाहेक अन्य समयमा भालु एकान्तप्रिय मानिन्छ। मानव बस्ती नजिकको वनजंगलमा बस्ने भालुहरु साँझपख र राति सक्रिय हुने क्रममा बजारसम्म आएकाे हुन सक्छ। यसले पनि द्वन्द्वकाे स्थिति आयाे।
'मानव बस्ती नजिककाे जंगलमा बस्ने भालु आहारको खोजीमा राति सक्रिय हुने हुनाले बालीनाली तथा फलफूलको बगैंचामा पसेर खाने र बिगारिदिने गर्छ,' उनले भने, 'त्यही बेला केहिलेकाहीँ मान्छेसँग जम्काभेट हुन्छ र आक्रमण गर्छ। तर उ मान्छेलाई नै आक्रमण गर्छु भनी आएकाे हुँदैन। याे मिटिङ सिजन (सहबासकाे समय) भएकाले पाेथीकाे खाेजि गरिरहेकाे हुन्छ भने फेरि यस्ताे बेलाकाे भालु रिसालु पनि हुन्छ। जन्मेको दुई देखि तीन वर्षपछि आमासँग छुट्टिएर आइसनेलेटेड हुन खाेज्छ। यसैक्रममा मानव बस्तीमा समेत उ पस्न र फस्न सक्छ।'
भालु सिजनल माइग्रेसन गरिरहने स्वभावकाे जंगली जनावर भएकाे विज्ञ यादवले बताए। 'भालु बाली पाक्ने बेला आज एक गाउँकाे बाली र भाेली अर्काे गाउँकाे बाली खान पुग्छ,' उनले भने, 'यस्ताे बेला झुक्किए, गाउँ शहरमा पुग्न सक्छ।'
पछिल्लो समय मानव बस्तीसँग जंगली जनावरहरुको सम्पर्क बढ्दो छ। आहारा प्रजाति हुने जनावरका लागि ठुलो जंगल चाहिन्छ। विभिन्न कारणले जंगल खण्डीकरण हुँदा उनीहरुले बच्चा जन्माउने, हुर्काउने र चर्ने ठाउँ कम भइरहेको छ भने आहारा पनि घटिरहेको छ। जंगलमा आहारा नपाएपछि भालु मानिसको बस्तीसम्म पस्न सक्छ।
जुम्लामा कृषि विकास कार्यालयले 'एक घर एक बगैंचा' अभियान चलाइरहेकाे छ। तर अधिकांश बगैंचा जंगल फडानी गरेर बनाइएकाले वन्यजन्तुकाे चरण क्षेत्र घट्दा पनि मानव वन्यजन्तु द्वन्द्व हुने खतरा बढेकाे वन डिभिजन प्रमुख खत्रीले थपे।
पानीका मुहान र स-साना खोलानाला जोगाउन पनि जंगल जोगाउनुपर्छ। जंगल जोगाउनु भनेको शाकाहारी प्रजातिका जन्तु बढ्नु हो। तिनले त्यहाँको पारिस्थितिक प्रणाली सन्तुलित राख्न भूमिका खेल्छन्। तर तिनको संख्या बढ्यो भने जंगल मासिँदै जान्छ। मांसाहारी जीवले तिनको संख्या सन्तुलन राख्छन्।
हिमाली भालु सामान्यतया शहर नपस्ने भएपनि जंगलमा शिकार गर्न नसक्ने अवस्था हुँदा फलफूल, मकै पाइने सिजनमा भालु गाउँ शहर पस्न सक्ने भएपनि मानव बस्ती जंगल नजिक सर्दा समस्या बढी आउने जीव वैज्ञानिक नारायण काेजुले बताए।
'पछिल्लो समय भालु शहर पसेको भन्दा पनि शहर जंगल नजिक सर्दै गएकाे छ। जंगली जनावर बस्ने ठाउँकाे नजिकै शहर जाँदा जनावर र मान्छे बीच द्वन्द्व बढेकाे छ,' उनले भने, 'जंगलमा डिस्टर्भ हुँदा वा अर्काे बलियाे भए जंगली जनावर शहर पस्न सक्छ। वन्यजन्तुकाे आहार क्षेत्र कम भएको हुनाले मानव वन्यजन्तुकाे द्वन्द्व बढिरहेकाे छ।'
मानव वन्यजन्तु द्वन्द्व कसरी कम गर्ने?
जुम्लाकाे यथार्थ अवस्था थाहा नपाए पनि लामटाङमा आफूले भालु सम्बन्धि अध्ययन गरेकाे आधारमा जुम्ला बजारमै भालु पस्नुले भालु मान्छेसँग अभ्यस्त भएकाे हुनसक्ने विज्ञ यादवले बताए।
'पहिलाे पटक मात्र मान्छे देखेकाे भालु एकदम डराउँछ। तर दुई तीनपटक देखिसकेकाे छ भने डराउन छाेड्छ। यस्ताे अवस्थामा उ आक्रमण गर्न पनि सक्छ,' उनले भने, 'समस्याकाे समाधान एकजनाकाे प्रयासबाट सम्भव हुँदैन। त्यसका लागि परिपक्व नीति र त्यसकाे प्रभावकारी कार्यान्वयन जरुरी छ।'
उनका अनुसार तत्काललाई सात वाट प्रदेशमा एक एक वटा रेस्क्यु सेन्टर राख्दा पनि मानव वन्यजन्तु द्वन्द्व काम गर्न सकिनेछ। कहाँ, कसरी रेस्क्यु युनिटहरु राख्ने विषयमा साेच्याे भने वन्यजन्तु मार्ने स्थिति आउँदैन। तर अहिलेकाे जस्ताे स्थितिमा किन मार्ने भनेर मात्र हुँदैन।
भालुकाे सुघ्न सक्ने क्षमता बढी भएपनि कान एकदम कम सुन्ने भएकाले ठूलाे आवाजदेखि डराउने गरेकाे वन डिभिजन प्रमुख खत्रीले थपे। उनले भने, 'ठुलाे ठुलाे आवाजले कराउँदा आउँदा डराएर भाग्न थाल्छ। पानीमा जाने रुखमा चड्ने मुर्खता गर्नु हुँदैन किनभने उ यी दुबै कार्यमा सिपालु छ।'
उपयोगी भालुकाे पित्त
आईयुसीएनका अनुसार कालो कण्ठे भालु लोपोन्मुख समूहमा सूचीकृत छ। बासस्थान विनाश र चोरी सिकारीका कारण यो भालुको प्रजाति विश्वभर लोपोन्मुख अवस्थामा पुगेको छ।
यसको पित्त र छालाको अवैध व्यापार हुँदै आएको छ। विशेषतः यो वन्यजन्तुको पित्त पूर्वी एसियामा हजारौं वर्षदेखि परम्परागत औषधिका निम्ति उपयोग हुने गरेको पाइन्छ।
यसको प्रयोगबारे लेखिएको एक अभिलेख ईसापूर्व ६ सय ५९ वर्षअघि प्रकाशन भएको पाइन्छ। ज्वरो कम गर्न र कलेजो सुन्निएको निको पार्न यसको प्रयोग हुने गरेको बताइन्छ। यसको प्रयोगले आँखाको ज्योति बढ्ने र पत्थरी निको हुने जनविश्वास छ।
यसको पित्तमा महत्त्वपूर्ण जैविक रसायनहरु पाइन्छन्। यस्ता रसायनहरु मानव कलेजो उपचारमा उपयोगी हुन्छन्। पित्तमा पाइने रसायनले मधुमेह लगायत मस्तिष्क सम्बन्धी खतरनाक समस्या उपचारमा उपयोगी हुने जानकारी आईयुसीएनले दिएको छ।
यो प्रजातिको भालु इरान, अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, भूटान, चीन, कोरिया, ताइवान, जापान, कम्बोडिया, म्यान्मार, रूस, थाइल्यान्ड, भियतनाममा पाइन्छ।
नेपालमा पहाडी तथा हिमाली भेगमा पाइए पनि नेपालमा यसको संख्या कमै भएकाले यसलाई संकटापन्न (इन्डेन्जर्ड) समूहमा सूचीकृत गरिएको छ।
संख्या एकिन छैन
जुम्लाको जंगलमा कति वटा भालु छन्? यसकाे कुनै आँकडा छैन। तर, वन डिभिजन कार्यालय भने भालुको संख्या तिव्र रूपमा वृद्धि भएको हुनाले आहारा नपाएर गाउँ पसेको तर्क राख्छ। आईयुसीएन लाेपउन्मुख सुचीमा राखेकाे अवस्थामा संख्या नै एकिन नगरी अनुमानको आधारमा आएको वन कार्यलयको तर्कमा बलियो आधार छैन।
तर, जहाँ चितुवाको जाेखिम कम छ, त्यहाँ भालुकाे जाेखिम बढी भएकाे तर्फ वैज्ञानिक काेजुकाे छ। वन डिभिजन प्रमुख खत्रीका अनुसार जुम्लामा चितुवाकाे कुनै जाेखिम छैन।
भालुकाे प्रकृति र स्वभाव
साधारणतया भालु लामो थुतुनो, लामा रौंले ढाकेका खुट्टाहरु, लामा र बलीया नङ्ग्रा भएका पन्जा र छोटो खालको पुच्छर भएको जनावर हो भने हिँस्रक तथा खतरनाक वन्यजन्तु मानिन्छ। आधुनिक भालुको शरीर ठूलो र लामा रौंले ढाकेको हुन्छ।
ध्रुबीय भालु पूर्ण रूपमा मांसहारी हुन्छ भने यसकै अर्को प्रजाती ठूलो पाण्डा बाँसमात्र खाएर बाँच्छ। यी दुई प्रजाती बाहेकका अन्य ६ प्रजातिका भालुहरु सर्वहारी हुन्छन्। जसले वनस्पति तथा जनावर दुबैलाई आफ्नो आहार बनाउने गर्छन्। हिमाली भालु पनि यी छ प्रजातिभित्र पर्छ।
भालुले मानिसको टाउको र अनुहारमाथि आक्रमण गर्छ र मानिस भुइँमा लडेपछि मात्र टोक्ने गरेको बताइन्छ। तर रातको समयमा चर्न निस्कने हुनाले सितिमिति मान्छे र भालुको भेट भैहाल्दैन। मान्छे जति भालुदेखि डराउँछ उति नै भालु पनि मान्छेदेखि डराउँछ भन्ने मान्यता गाउँघरमा पाइन्छ।
वन डिभिजन कार्यालयका अनुसार जुम्लामा रातो र कालो भालु पाइन्छ। तर, पछिल्लो समयमा रातो भालु देखिएको छैन्। कालो भालुको विगविगी बढिरहेको छ।
जुम्ला बजारमा भालु पस्याे, तीन जना घाइते
बजार पसेको भालुलाई सात घण्टापछि मारियो