सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई तत्कालै उद्धार गर्ने निर्णय गरेको छ।
बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको हो।
अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै मन्त्री कार्कीले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय भएको छ।’
त्यस्तै भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका बाँकी रहेका समस्या सम्बोधन गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशनमा नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताए।
उनले यो समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको र प्रक्रिया अगाडि बढिसकेकोले आमरण अनसन फिर्ता लिन सरकारले आह्वान गर्ने निर्णय भएको बताएका छन्।