पाखुरामा बल हुँदा हाई हाई, बुढेस कालको सहारा छैन् कोही। यो भनाई, मोरङको कानेपोखरी–७ छथरे टोलका ७५ वर्षीय भीमबहादुर राईको जीवनमा ठ्याक्कै मेल खाएको छ।
पत्नी वियोगपछि भोजपुरको बासिखोराबाट तराई झरेका भीमबहादुर यति बेला सहाराको खोजीमा छन्। एक मात्र छोरी अनुको घरमा सहारा लिएर बस्दै आएका भीमबहादुर यतिबेला सिकिस्त बिरामी छन्। उमेरमा पाखुरामा बल थियो। त्यसबेला भीमबहादुरलाई सबैले फकाई फकाई काम लगाए। कतिकोमा दुई छाक भातको भरमा काम गरे। अलि मनकारीहरुले दाम पनि दिए।
यतिबेला भीमबहादुरका हात गोडा बसेका छन्। कपाल फुलेर सेताम्मे भएको छ। अनुहार चाउरी परिसकेको। मुखमा केही मात्र दाँत बचेका छन्। उमेर चार कोरी पुग्नै लागेपनि उनले वृद्धभत्ता पाएका छैनन्। नेपाल मै जन्मिहुर्की गरेका राई अझै अनागरिक भएकोले सामाजिक सुरक्षा भत्ता नपाएका हुन्।
भीमबहादुर अहिले आँखा पनि देख्दैनन्। मुटुको बिरामले थलिएका भीमबहादुरकी छोरी अनुले भनिन्, 'मेरो पनि घामपानी छल्ने घर बाहेक केही छैन। गाउँघरमा चन्दा उठाएर उपचार गर्न लग्यौं। पैसा नपुगेपछि फेरि फर्काएर ल्याएका छौं।'
'करोडौं धन सम्पत्ति हुने ज्येष्ठ नागरिकहरूले वृद्धभत्ता पाउँछन्। तर, जो ज्येष्ठ नागरिकले अनिवार्य भत्ता पाउनु पर्ने हो तिनीहरू नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुन्छन्', स्थानीय सामाजिक अगुवा अमृत चेम्जोङले भन्छन्, 'तीनै तहका सरकारले गरिब र निमुखाप्रति सद्भाव देखाउन सकेका छैनन्।'
मोरङ क्षेत्र नं. ३ का मतदातालाई बिराटनगरको नोवेल मेडिकल कलेज शिक्षण अस्पतालले सहुलियतमा उपचार गरिदिन्छ। अति विपन्नलाई निशुल्क उपचार पनि गरिदिन्छ। तर, मतदाता परिचय पत्र नभएकाहरूले उपचार सुबिधा पाउँदैनन्। नागरिकता नभएको व्यक्तिले मतदाता परिचय पत्र पाउने व्यवस्था छैन। गाउँपालिकाले अति विपन्नको निशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ।
भीमबहादुर विपन्न छन्। उनीसँग नागरिकता नभएकोले स्वास्थ्य बीमा गर्न पनि पाएनन्। छथरे टोलका बासिन्दा भन्छन्, 'सरकार! गरिब विपन्नले उपचार नपाएरै मर्नु पर्ने हो?'