सुन्नै छोडियो कृषिप्रधान देश

अनलाइनखबर

राजेश विद्रोही

सानोमा प्रशस्तै सुनिन्थ्यो- नेपाल कृषिप्रधान देश हो । तर, अचेल त्यो सुनिन छोडिएको छ । यतिसम्म कि हाम्रो पाठ्यक्रममा कृषि शिक्षा छुट्टै कोर्स पढ्नुपर्थ्यो । बालीनालीको बारेमा धेरै ज्ञान आर्जन हुन्थ्यो । कम्पोस्ट मल कसरी बनाउने सिकाइ हुन्थ्यो । आमाबुवाले एकाबिहानै उठाएर खेतबारीमा काम गर्न लगाउनुहुन्थ्यो । समयमै स्कूल जानुपर्थ्यो । अहिले यी सबै कुराहरू सपना जस्तो भएको छ । कथा जस्तै भएको छ । युग र प्रविधिको विकास अनुसार हरेक कुरा फेरिएको छ । स्कूलको पाठ्यक्रम फेरिएको छ । खेतीकिसानीको विधि फेरिएको छ । हामी भने कृषिप्रधान देश खोजिरहेका छौं ।

कुनै समय दश फीट कुवा खनेपछि जमीनबाट प्रशस्त पानी निस्किन्थ्यो । कृषि उत्पादनले समयमै मनसुन पाउँथ्यो, प्राकृतिक हराभरा जीवन्त हुन्थ्यो । कृषि उत्पादनले खुशियाली भित्र्याउँथ्यो । मनग्गे आम्दानी हुन्थ्यो । मनभरी काम र पेटभरि माम पाउँथ्यो । अहिले जमीनसँगको नाता हुने श्रमिक वर्ग देशमा छैनन् । भएकाहरूको पनि आफ्नो उब्जाउने भूमि छैन । अरुकै भूमिमा पसिना बगाउनुपर्ने अवस्था छ । बाँकी युवा श्रमिक विदेशको भरमा बाँचेको छ । गोलमाल राजनीतिक व्यवस्थाले जमीन र मजदूर वर्गबीचको सम्बन्ध तोडिएको छ । दलाल वर्गको हातमा जमीन खुम्चेको छ । अहिले यही जमीनमा सयौं फिट डीप बोरिङ गाडे पनि पानी निस्किंदैन । पानी पाताल भासिएको छ ।

कृषिमा जति प्राविधिक सुविधाहरू आएको छ त्यसको सही र वैज्ञानिक व्यवस्थापन छैन । प्रकृति विनाशतिर गइरहेको छ । हराभरा वनजङ्गल हेर्न आँखाले धेरै मिहिनेत गर्नुपर्छ । सीमित ठाउँमा वातावरणीय प्रभाव छ । विस्तारै त्यो पनि ह्रास हुँदै गएको अवस्था छ । मानव जीवनसँग अभिन्न सम्बन्ध प्राकृतिक अवयवहरू त्राहिमाम् अवस्थामा छन् । मानवीय गतिविधिले विनाशलाई सघाइरहेको छ । यसलाई कुन सरकारले र राज्यले जोगाउने हो ? यसकै परिणाम हुन् समयानुकूल फरक खालको महामारीको प्रकोप ।

जुन देशमा जल, जमीन, जङ्गल लगायतका प्राकृतिक सम्पत्तिहरू व्यक्तिको नाममा लालपुर्जासहित सुनिश्चित गरिदिएको हुन्छ, त्यो देशको लोकतन्त्र र त्यहाँको व्यवस्था र अवस्था कस्तो चरित्रको हुन्छ भन्ने कुरा त्यसै अनुमान गर्न सकिन्छ ।

त्यसैले यो असमान रूपमा प्राकृतिक सम्पत्तिको निजीकरण सबैभन्दा ठूलो विभेदको खाडल हो । यहाँ जमीनले न‌ै गरीब र धनी, सत्ता र शक्ति, शासन र शासकबीच ठूलो खाडल बनाएको छ । र, समाजमा विभेद, उत्पीडन र असमानता कायम गरेको छ । जुन दिन राज्यले भूमि आफ्नो नियन्त्रणमा लिन सक्छ वा समान रूपमा नागरिकलाई वितरण गर्छ, त्यो दिन मात्र जमीनसँगको गहिरो साइनो र प्रेम रहेको मजदूर, किसान, गरीब दलित वर्गको मुहारमा चमक आउँछ । देश पनि वास्तविक रूपमा कृषिप्रधान देशको रूपमा नयाँ ढंगले फड्को मार्न सक्छ ।

जतिबेला किसानले अर्गानिक उत्पादन गर्थे, राज्यको एक पैसा लगानी हुँदैनथ्यो त्यतिबेला उत्पादनको मूल्य थिएन । यतिबेला ती जमीनले न्यून उत्पादन दिन्छ, त्यो पनि विष मिसिएको उत्पादन । मानिसहरूले भान्सामा स्वाद मानी मानी मन्द विष खानुपर्ने अवस्था छ । यसको नतिजा सन्तान दरसन्तानसम्मले भोग्नुपर्ने अवस्था छ । मानिस विस्तारै बोइलर जस्तो बन्दै गइरहेको छ । यस्तो उत्पादनले मान्छेदेखि जमीन र वातावरणलाई समेत क्षयीकरण र भ्रष्टीकरण गरिरहेको छ ।

जमीनको मूल्य अनावश्यक रूपमा आकाशिएको छ । प्लटिङको रूपमा बिजनेश कम्प्लेक्स बनेको छ । त्यसमा राज्यको अनावश्यक लगानी छ, कृषिको नाममा दिनदहाडै ब्रह्मलुट छ ।

प्रकाशित मिति: : 2021-08-14 07:16:00

प्रतिकृया दिनुहोस्