पहिले ओली, अहिले देउवाले बनाए सिंहदरबार अस्तव्यस्त

१५ मन्त्रालय दुई महिनादेखि मन्त्रीविहीन

तत्कालीन प्रधानमन्त्री ओलीले चार मन्त्रीका भरमा २१ दिन २१ मन्त्रालय चलाए, २९ असारमा प्रधानमन्त्री बनेका देउवाले पनि चार मन्त्री मात्र नियुक्त गरेका छन्, १७ मन्त्रालय आफूसँगै राखेका छन् ।  फाइल बोकेर सिंहदरबारदेखि बालुवाटारसम्म धाइरहेका सचिवहरूले प्रधानमन्त्रीको समय नपाउँदा नियमित काम पनि अड्किएका छन्

प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा एक महिनादेखि १७ मन्त्रालयको भार छ । देशका कार्यकारीले सबै मन्त्रालयलाई समय दिन नसक्दा मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार अस्तव्यस्त बनेको छ । विभागीय मन्त्री नहुँदा विभिन्न नीतिगत निर्णयका लागि सचिवहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालयदेखि बालुवाटारस्थित निवाससम्म धाइरहेका छन् । तर, प्रधानमन्त्री देउवाको समय पाउनै मुस्किल छ । नीतिगत निर्णय नै रोकिने अवस्था निम्तिँदा समेत मन्त्रिपरिषद् विस्तारमा भने अस्वाभाविक ढिलाइ भइरहेको छ । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्षको ५ पुसमा प्रतिनिधिसभा विघटन गरेसँगै सिंहदरबार अस्थिर बनेको थियो । ८ जेठमा दोस्रोपटक संसद् विघटन गरेपछि ओलीले २१ र २७ जेठमा मन्त्रिपरिषद् विस्तार गर्दै २५ सदस्यीय बनाएका थिए । तर, ८ असारमा सर्वाेच्च अदालतले कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्न नसक्ने आदेश दिएपछि २० मन्त्री पदमुक्त भए र प्रधानमन्त्रीसहित पाँच मन्त्रीले २१ मन्त्रालय धानेका थिए ।

२८ असारमा सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्‍यो । २९ असारमा शेरबहादुर देउवा  प्रधानमन्त्री नियुक्त भए । उनले त्यही दिन चारजनालाई मन्त्री नियुक्त गरेका थिए । १७ मन्त्रालय अहिले पनि नेतृत्वविहीन छन् । अहिले माओवादी केन्द्र, जसपा र एमाले माधव नेपाल पक्षको समर्थनमा प्रधानमन्त्रीको कुर्सीमा आएका देउवाले सिंहदरबारमा ऊर्जा फर्काउन सकेका छैनन् । 

प्रकाशित मिति: : 2021-08-13 14:54:00

प्रतिकृया दिनुहोस्