लुम्बिनीमा गठबन्धन सरकार: बहुमतको कमजोर धरातलमा चुनौतीका चाङ

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीले बिहीबार अपराह्न ५ बजे नै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समाले। शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन्।  

पदभार ग्रहण गरेपछि मुख्यमन्त्री केसीले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक सर्वोच्चता अंगालेर रचनात्मक ढंगले अघि बढ्ने बताए। संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा र संघीयता कार्यान्वयनसँगै प्रदेशको सर्वोपरी विकासका लागि आफू मुख्यमन्त्री बनेको प्रतिक्रिया उनले दिए।  

केसी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। प्रदेश सरकारको बाँकी १६ महिना माओवादी केन्द्र र कांग्रेसले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ। कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सुरुको ८ महिना मुख्यमन्त्री केसी र त्यसपछि आफूले सरकारको नेतृत्व गर्ने बताए। गठबन्धनलाई बलियो बनाउन उचित ‘पावर सेयरिङ’ गरिने उनले बताए।

प्रकाशित मिति: : 2021-08-13 06:48:00

प्रतिकृया दिनुहोस्