धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
भ्रष्टाचार र अनियमितताको आरोप लाग्दै आएको वीपी प्रतिष्ठानमा बिहीबार अख्तियारले छापा मारेको हो।
अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयको टोलीले प्रतिष्ठानमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।
प्रतिष्ठानका पदाधिकारीमाथि औषधि तथा उपकरणमा भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार प्रतिष्ठानका पदाधिकारीविरुद्ध उजुरीपछि छानबिनका लागि टोली खटाइएको हो। टोलीले छानबिनका लागि आवश्यक कागजातहरु संकलन गरेको उनले बताए।
प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आएयता बेथिति बढेको भन्दै यहाँका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित छन्।