खोप लगाउन महाभारत...

चर्को घाममा पसिना चुहाँउदै नयाँबजारकी लक्ष्मी श्रेष्ठ खोप लगाउने लाइनमा थिइन्। ५८ वर्षे श्रेष्ठ नयाँबजार स्थित शहरी स्वास्थ्य केन्द्रमा मंगलबार डेढ घण्टादेखि लाइन लागेकी रहिछन्। 

लगभग २ घण्टा लाइन लागेपछि उनको खोपाउने पालो आयो। गेटबाट भित्र छिरिन्। भित्र फेरि अर्को लाइन लागिन्। उनको खोप लगाउने पालो आउन मात्रै के पाएको थियो। भित्रबाट स्वास्थ्यकर्मीले कराए, ‘अघि ल्याएको खोप सकियो। अब केही छिन पर्खिनुस् है ! खोप आउदै छ।’

डेढ घण्टा लाइन लागेर बल्लतल्ल पालो पाएकी लक्ष्मी लाइन लागेकै ठाउँमा फ्यात्त बसिन्। ‘अब त पालो आयो भनेको फेरि सकियो,’ लक्ष्मीको मुखबाट फुत्कियो। 

कास्कीमा साउन ४ गते भित्रमा खोप लगाएकाहरुलाई अहिले खोपको दोस्रो डोज लगाइदै छ। भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो डोज दिइदै छ। २४ गतेदेखि सुरु भएको खोप कार्यक्रम २७ गतेसम्म चल्दै छ। 

आलुमाइला चोकका तुल्सिराम शर्मा पनि लक्ष्मी जस्तै डेढ घण्टादेखि खोप लगाउने लाइन लागेका थिए। ५७ दिउँसोको चर्को घाममा डेढ घण्टादेखि लाइन लागेर खोप लगाउने पालो के आएको थियो। खोप सकिएको खबर आयो। ‘बिहानै आएको थिएँ। बल्लबल्ल भित्र छिरेको खोप सकियो भन्छन्, खै के हो के हो ? नलाइ नि नहुने,’ उनले गुनासो पोखे। 

तुल्सिरामका सँगै राजकुमार गिरी पनि चर्को घाममा खोपको पर्खाइमा थिए। राजकुमार तुल्सिराम सँगै लाइनमा थिए। ‘यत्रो बेर घाममा उभियौ। अहिले फेरि खोप सकियो भन्छन्। सिस्टम अलि भएन,’ उनले भने, ‘लाइन लाग्दा लाग्दा छिर्न के पाइएको थियो। खोपै सकियो भन्छन्।’

स्वास्थ्यकर्मीहरुले बिहान ४ सय डोज खोप ल्याइएकोमा सबै खोप लगाएर सकिई सकेको बताए। स्वास्थ्यकर्मीहरुले संयमित भएर खोप लगाउन आग्रह गर्दै थिए। ३ दिनसम्म चल्ने खोप कार्यक्रमका लागि कास्कीमा २३ वटा खोप केन्द्र तोकिएको छ। 

यसअघि साउन ४ गतेसम्म कास्कीमा ४६ हजार ५ सय जनाले भेरोसेल खोप लगाएका थिए। पहिलो मात्रा ४६ हजार ५ सयले लगाए  पनि दोस्रो मात्रा ४६ हजार ४६ हजार ९ सय ६० जनाले भेरोसेल खोप लगाएका छन्।

कास्कीलाई जम्मा १ लाख ३३ हजार ९ सय ५० खोप प्राप्त भएकोमा अझैं ४० हजार ४ सय ९० खोप बाँकी छ। यस्तै कोभिडशिल्ड ६६ हजार ९ सय ५० खोप आएको थियो। कोभिडशिल्डको दोस्रो डोज लगाउन छुटेकाहरुका लागि फागुन यता खोप नै आएको छैन।

कोभिडशिल्डको पहिलो डोज ४८ हजार ९ सय ९७ जनाले लगाएका थिए। दोस्रो डोजमा १७ हहजार ३ सय १३ जनाले लगाए। जम्मा ६६ हजार ३ सय १० जनाले कोभिडशिल्ड खोप लगाएकोमा अहिले कोभिडशिल्डको पहिलो डोज लगाएकामध्ये ३२ हजारले दोस्रो डोज पाएका छैनन्। 

अर्को जन्सनको कास्कीमा २५ हजार १ सय ५० डोज आएकोमा २५ हजार ३० जनाले पहिलो डोज लगाएका छन्। आएका खोपमध्ये १ सय ३० डोज खोप बाँकी छ।

खोप केन्द्रमा अनावश्यक व्यक्ति जम्मा भएर भीडभाड बढेको चर्को गुनासो पछि मंगलबार गण्डकीका मुख्यमन्त्रीले पोखराका खोप केन्द्र अनुगमन गरेका थिए। उनले प्रमुख जिल्ला अधिकारीलाई खोप केन्द्र व्यवस्थित बनाउन निर्देशन पनि थिएका थिए। 

प्रकाशित मिति: : 2021-08-11 11:47:00

प्रतिकृया दिनुहोस्