पोखरा हस्पिटलको ल्याब र फार्मेसी सिल

पोखरा हस्पिटल एण्ट रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित हस्पिटलको ल्याब र फार्मेसी सिल भएको छ। 

दर्ता बिना नै सञ्चालन भइरहेको खुल्न आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ल्याब र फार्मेसी सिल गरेको हो। 

आफूहरुलाई झुक्याएर फार्मेसी र ल्याब सञ्चालनमा ल्याइएको भन्दै अस्पतालका एक शेयर सदस्यले आपत्ति जनाए। 

आफूहरुलाई दर्ता गरेर फार्मेसी र ल्याब सञ्चालन गरेको बताएर अध्यक्ष डाक्टर गोपी हिराचन र सोही अस्पतालका प्रबन्ध निर्देशक सञ्जय कोइरालाको मिलिमतोमा गुमराहमा पारेको उनको आरोप छ। 

अवैध तरिकाले लाखौं राजस्व छलि गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार अस्पतालमा अनुगमन गरेको थियो।

सोही अनुगमनका क्रममा दर्ता नगरेको थाहा भएपछी फार्मेसी र ल्याब सिल गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। 

प्रशासनले बुधबार १० बजे सम्मका लागि दर्ता गरेको प्रमाणपत्र पेश गर्न समय तोकेको थियो। यद्यपि, अस्पतालले प्रमाण पेश गर्न सकेन। 

‘दर्ता बिनै ल्याब र फार्मेसी सञ्चालन भइरहेको छ भन्ने उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट गएर छानबिन गर्यौं। दर्ता भएको रहेनछ' प्रमुख जिल्ला अधिकारी गौतमले भने।

विस २०५५ देखि सञ्चालनमा आएको अस्पतालमा यसअघि टेण्डर गरेर फार्मेसी चलाइएको थियो। अस्पतालले २०७७ साउनबाट फार्मेसी र २०७८ जेठ २ गतेबाट ल्याब सञ्चालन थालेको थियो।

अस्पतालका प्रबन्ध निर्देशक सञ्जय कोइरालाले आफूहरु दर्ता प्रक्रियामै रहेको बताए। बिरामीको सुविधाका लागि फार्मेसी र ल्याब सञ्चालनमा ल्याएको बताउदैं उनले भने, 'दर्ता प्रक्रियामै रहेको बेला प्रशासनले सिल गर्यो।' 

प्रकाशित मिति: : 2021-08-04 20:35:00

प्रतिकृया दिनुहोस्