लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वलीले विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुुरुपयोग गरेको भन्दै आपत्ति जनाएकी छिन्।
माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष ४१ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठनको दावी गर्दा वलीको नाम पनि समावेश गरिएको छ।
उनले आफू एमालेमै रहेको र मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको पनि प्रष्ट पारेकी छिन्।
‘म निर्वाचित भएर प्रदेशसभामा क्रियाशिल हुँदैगर्दा पार्टीप्रति मेरो केही गुनासा थिए। एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको म प्रति गुनासा हुनु स्वाभाविकै थियो। ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु।’ उनले विज्ञप्तीमा भनेकी छिन्,‘मैले सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकोले एमाले छाडेर माओबादी रोज्ने कुरा। पनि कानुनी रुपमा ठीक नभएकोले एमालेमै रहेको स्पष्ट पार्दछु।’
त्यस्तै उनले केही समयदेखि स्वास्थ्यमा समस्या आएकाले बाहिर सम्पर्क नहुँदा सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका विभिन्न खाले टिप्पणीप्रति गंभीर ध्यानाकर्षण भएकाे बताएकी छिन्।
प्रदेशसभा सदस्य वली 'सूर्य' चिन्ह लिएर तत्कालीन नेकपाबाट ०७६ सालमा भएको उपचुनावमा निर्वाचित प्रदेशसभा सदस्य हुन्। एमालेको विघटनपछि केही समय एमालेमा लागे पनि उनी एमाले र माओवादीको तानातानमा परेकी थिइन् । माओवादीमा लागेको दाबी गरिँदैआएको थियो।
एमाले उनका पति उत्तरकुमार ओलीको निधनपछि उनले उपचुनाव लडेर जितेकी थिइन्। उनी यसअघि माओवादीमा लागेको बताइएको थियो।