प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै, गठबन्धनका शिर्ष नेताहरुले मन्त्रीहरुकाे नाम बुझाउने

नयाँ सरकार गठन भएको दुई साता भइसक्दा पनि मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन। तर, आज बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले भने आज या भोलिमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसबाटै रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ सहभागी थिए।

बैठकमा एमाले वरिष्ठ नेता माधव नेपाल भने सहभागी थिएनन्। बरु उनले आफ्नो समूहबाट  प्रतिनिधित्व गर्दै विजय पौडेललाई पठाएका थिए। जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धन पार्टीका शिर्ष नेताहरुले आज साँझ वा भोलिसम्म प्रधानमन्त्री देउवालाई सहभागी हुने मन्त्रीहरुको नाम दिनेछन्।

उनले बिएल नेपाली सेवासँग भने, 'प्रधानमन्त्रीलाई चाँडै गठबन्धन पार्टीबाट सहभागी हुने मन्त्रीहरुको नाम बुझाउँदैछौं। सोही अनुसार उहाँले मन्त्रिपरिषद विस्तार गर्नु हुनेछ।'

त्यसाे त बैठकले बाँकी रहेका पाँच प्रदेशका प्रमुखलाई बर्खास्त गरेर भागबण्डाकाे आधारमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने पनि निर्णय गरेकाे छ। 



मन्त्रिपरिषद् बैठकद्वारा दुई प्रदेशप्रमुख बर्खास्त, लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ नयाँ प्रदेश प्रमुख

प्रदेश प्रमुखमा दोहोरिन चाहन्नथे लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन

प्रकाशित मिति: : 2021-07-28 12:15:00

प्रतिकृया दिनुहोस्