गगन थापाले भने– ओली सरकारको जस्तो नयाँ सरकारलाई कुनै पनि अपराध गर्न छुट छैन (भिडियाेसहित)

नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारजस्तो नयाँ सरकारलाई कुनै पनि अपराध गर्ने छुट नभएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन्। उनले भने, ‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ। यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन्।’

नेता थापाले विधि र विज्ञान नमान्ने अघिल्लो सरकार बालुवाटारबाट बार्दली पुगेको बताएका छन्।

उनले भने, ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार।’

उनले नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए। ‘यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्छ। न त यो संसदलाई बेवास्ता गर्न दिइने छ, न त कामविहीन बनाउन', उनले भने, 'न त मनोमानि ढङ्गले स्थगित गर्न दिइने छ न त छल्न। यो संसद सरकारसँग डराउने होइन । सरकार यो संसदसँग डराउनुपर्ने छ– सांसदको प्रश्नसँग, संसदको निगरानीसँग।’ 

प्रकाशित मिति: : 2021-07-27 14:44:00

प्रतिकृया दिनुहोस्