भारतका सुपुत्र श्रीराम र नेपालकी सुपुत्री सीताको पाणिग्रहणले गर्दा भारत र नेपालको मैत्रीसम्बन्ध पौराणिक कालबाट रहिआएको छ। जो धार्मिक दृष्टिकोणले आज पनि यथावत् छ।
सीता माताको जन्मभूमि हेर्न भारतबाट धेरै पर्यटकहरू, भक्तालुहरू नेपाल जाने गर्छन्।
नेपालबाट पनि धेरै पर्यटकहरू र भक्तालुहरू श्री रामको जन्मभूमि हेर्न भारत आउने गर्छन् तर अहिलेचाहिँ आउने-जानेमा काेराेना महामारीले खलनायकको भूमिका खेलिरहेको छ।
सन् १९९० मा भने काेराेनाभाइरसको जन्म भएको थिएन। भारत–नेपालबीच पारस्परिक आऊ-जाऊ सुमधुर थियो तर एकपल्ट सोनिया गान्धी नेपाल जाँदा पशुपतिनाथ दर्शनकाे प्रयास सफल भएन। हिन्दुहरूको लागि मात्रै प्रवेशको परम्परा रहेको पशुपतिनाथमा गान्धी ‘इसाई’ भएको कारण प्रवेशबाट रोक लगाइएको थियो।
उबेला नेपालका तत्कालीन राजा वीरेन्द्र थिए। उनले मन्दिरको मामिलामा हस्तक्षेप गरेनन्। साेनियालाई पशुपतिनाथ प्रवेश नदिएपछि भारत–नेपालबीचको मैत्रीसम्बन्धमा फाटो आएकाे थियाे। नेतृत्व स्तरमा फाटाे मात्रै आएन नेपालीले १८ महिनाको आर्थिक नाकाबन्दी पनि खेप्नुपरेकाे इतिहास जिबितै छ।
संसार– परमाणु बमको प्रदूषणबाट मुक्त भइ सुन्दर बनोस् एवम् भारत र नेपालको मैत्रीसम्बन्धमा कहिल्यै फाटो नआओस् भनी, मैले कथा लेखेँ।
कथाको नाम हो- 'बीसौं शताब्दीकी मोनालिसा'। कथा लेखेको झण्डै तीन दशक पुगे छ। सन् १९९० मा दिदीको हातबाट भाइटीका लगाउन असम गएको बेला दिदीकै घरमा बसी 'बीसौं शताब्दीकी मोनालिसा' लेखेको थिएँ।
कथाको नाममा थप १५ वटा कथा मिलाएर कथा-संग्रह 'बीसौं शताब्दीकी मोनालिसा' तयार पारेँ।
यही कथा-संग्रह 'सप्तर्षि सांस्कृतिक संघ', असमले प्रकाशित पनि गरिदियो। 'साहित्य अकादेमी पुरस्कार' पनि भारत सरकारबाट 'बीसौं शताब्दीकी मोनालिसा'ले पा़यो।
तर दु:खको कुरा- अधिकांश नेपालका नेपाली र भारतका गोर्खाहरू तथा भारतका अन्यजनलाई पनि थाहा छैन। भारत र नेपालको मैत्रीसम्बन्ध सुदृढ रहोस् भनेर सन् १९९० मा लेखिएको कथा हो- बीसौं शताब्दीकी मोनालिसा...
यो एउटा दु:खद् विडम्बना भनूँ, परिस्थितिको चेपारोले एउटै रगतबीच भंगालो ल्याइदियो- ‘नेपाली’ र ‘गोर्खाली’ को।
जतिबेला मैले सवंत् २०४० (सन् १९८५)मा नेपालबाट ‘रत्नश्री सुवर्ण पदक’, अंग्रेजीमा भन्नुपर्दा- रत्नश्री गोल्डमेडल प्राप्त गरेको थिएँ, त्यतिबेला ‘गोर्खाल्याण्ड आन्दोलन’ भएको थिएन।
सुवास घिसिङको मथिंगलमा ‘गोर्खाल्याण्ड’ लाई लिएर आन्दोलन गर्छु भन्ने सोचाइ बसेको पनि थिएन। (आन्दोलन गर्ने बाटो त उनले सन् १९८६ मा मेघालयका कोइलाखानीहरूमा काम गर्ने नेपालीहरूलाई अमानवीय उच्छेदन गरेका कारण भेटेका हुन्)। न नेपालका ‘नेपाली’ अनि भारतका ‘गोर्खाली’ वा ‘गोर्खा’ भनेर एउटै रगतमा विभाजन ल्याउँछु भन्ने सोचेका थिए।
त्यसबेला आजको जस्तो ‘हामी नेपाली होइनौं, गोर्खा हौँ’ भन्ने विसंगतिले दार्जीलिङलाई घेरेको थिएन। असमका अहिलेका गोर्खाहरूले अहिले पो ‘गोर्खा हौँ’ भन्दै ब्यूँझेका हुन्। तर मैले उक्त पदक पाउँदा अहिलेका असमका गोर्खाहरू ‘नेपाली’ को बर्को ओढेर मज्जाले सुतेका थिए।
सन् १९८५ सम्म ‘गोर्खा’ मात्र भन्ने हावा भारतमा बहेको थिएन। नेपालका नेपाली र आजका भारतेली गोर्खा तर त्यतिबेलाका नेपालीको सम्बन्ध परस्परमा मधुर थियो यसैकारण नाटक सम्राट् बालकृष्ण समले भनेका थिए,‘दार्जीलिङले आज जो देख्छ। नेपालले भोलि देख्छ।’
यसबाट स्पष्ट हुन्छ- नेपालले त्यतिबेला भारतेली नेपालीलाई शिखरमा देख्ने गर्थ्यो। तर, आज यसको विपरीत छ-‘तँ नेपाली, म गोर्खा।’
यसरी आज एउटै रगत आफैंमा सीमाबद्ध छ तर साहित्य सीमाबद्ध छैन। साहित्यको भौगोलिक सीमा हुँदैन। जीउँदो उदाहरण- सिलगढीवासी साहित्यकार सुकराज दियालीले गत वर्ष नेपालबाट साहित्यिक पुरस्कार थापेका थिए। नेपालमा थाप्न पुगेकाले तथा नेपालले दिएको कारण यो पुरस्कारलाई भारतेली नेपाली साहित्यले ‘अन्तर्राष्ट्रीय पुरस्कार’ को सूचिमा राखेको थियो।
साँच्चै, साहित्यको कुनै भौगोलिक सीमा हुँदैन यसैकारण मेरो जीवनको पहिलो साहित्यिक पुरस्कार ‘रत्नश्री सुवर्ण पदक’ मलाई नेपालले नै प्रदान गरेको हो।
नयाँ एकाउण्टमा जोडिएका मित्रवर्गलाई थाहा दिऊँ- यो पदक नेपालका राजमाता रत्नराज्य लक्ष्मी देवी शाहबाट प्रदान गरिएको थियो। मलाई कथामा। निबन्धमा पदक पाउने साहित्यकारको नाम सम्झनामा रहेन। कवितामा चाँदनी शाहलाई तर म समारोहमा उपस्थित हुन सकिनँ। पछि पदक र प्रशस्ति पत्र वरिष्ठ साहित्यकार नरबहादुर दहाल नेपाल पुगेका बेला लिएर आए, अनि मलाई दिए।
अहिले फेसबुक खेलाउने। कमेन्ट मात्र गर्न जान्ने तर बाहिरी ज्ञान नराख्ने आजका युवावर्गमध्ये धेरैलाई थाहा छैन होला नेपालको राज हत्याकाण्डमा मारिएकी ‘नेपालकी अन्तिम रानी ऐश्वर्य रत्नराज्य लक्ष्मी देवीको साहित्यिक उपनाम हो चाँदनी शाह।
चाँदनी शाहले धेरै गीत लेखेकी छन्। स्वरसम्राट् नारायण गोपालले गाएको गीत ‘एउटा मान्छेको मायाले कति फरक पर्छ जिन्दगीमा..’ चाँदनी शाहको कलमबाट निश्रित गीत हो।
मेरो उत्कट इच्छा थियो चाँदनी शाहलाई भेट्ने। तर मेरो नियति नै खोटो थियो। यसैकारण तिनलाई भेट्न नपाई नेपालको राजहत्या काण्डमा मारिइन्...