बुधबार, ११ मार्च २०२६

एनआरएनए अध्यक्षमा रोविन शेरचनको उम्मेदवारी दर्ता

News Image
• • •

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष रोविन शेरचनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा सुवास लामिछाने र ईश्वर गुरुङ रहेका छन् भने समर्थकमा बाबुराम भण्डारी र मोहन घले रहेका छन्। शेरचनले आगामी सन् २०२५–२७ कार्यकालका लागि माघ दोस्रो साता नै जापानमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

‘सुदृढ सङ्गठन, दरिलो एकताः हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उनी एनआरएनए नेतृत्वको दौडमा रहेका छन्। एनआरएनएको महाधिवेशन मार्च १४,१५ र १६ मा काठमाडौंमा हुँदैछ।

शेरचनले  ‘एक मन, एक सङ्गठन’ को अवधारणा अघि सार्दै संस्थाभित्रको आन्तरिक कलह र मनमुटावलाई सधैंका लागि अन्त्य गरी सबै अभियन्ता र गैरआवासीय नेपालीलाई एउटै छानोमुनि ल्याउने सङ्कल्प गरेका छन्।

यस्तै उनले गैरआवासीय नेपालीहरूको नागरिकता र मताधिकारको मुद्दालाई विशेष प्राथमिकता दिएका छन्। संविधानले प्रदत्त गरेको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका प्रशासनिक र कानुनी जटिलता हटाउन आफूले निर्णायक पहल गर्ने उनको भनाइ छ। विशेष गरी सर्वोच्च अदालतको परमादेश अनुसार प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग प्रभावकारी समन्वय गर्ने उनको प्रतिबद्धता छ।

करिब २०० वर्षदेखि अन्यायमा परेका भूतपूर्व गोर्खाहरूको समान पेन्सन र अधिकारको मुद्दालाई शेरचनले विशेष जोडका साथ उठाएका छन्।

बेलायत सरकारसँग भइरहेको जीटूजी वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउन एनआरएनएको तर्फबाट दबाबमूलक र सहयोगी भूमिका खेल्ने उनको योजना छ। साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, कार्यस्थलको सुरक्षा र हकहितका लागि ‘श्रम डेस्क’लाई थप प्रभावकारी र सक्रिय बनाउने उनले बताएका छन्।

आर्थिक एजेन्डामा शेरचनले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ लाई २५ अर्ब रुपैयाँको बनाएर साना लगानीकर्ताहरूलाई समेत समेट्ने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई आईपीओ मार्फत जोड्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छन्। नेपालमा विदेशी लगानी भित्र्याउन र एनआरएनहरूको लगानीलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक कानुनी सुधारका लागि लबिङ गर्ने उनको योजना छ।

निर्वाचित भएको ६ महिनाभित्र विधान अधिवेशन गरी सदस्यता वितरण र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्ने शेरचनले वाचा गरेका छन्। ‘कम बोल्ने तर कामको नतिजा देखाउने’ छवि बनाएका उनले थाइल्याण्ड, म्यानमार लगायतका देशमा पुस्तौंदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायलाई एनआरएन कार्ड उपलब्ध गराउने र उनीहरूलाई नेपालको मूलप्रवाहसँग जोड्ने विषयलाई पनि आफ्नो कार्ययोजनामा समेटेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!