केही दिनअघि अमेरिकाको न्युजर्सीमा २४ वर्षीय मिलन घिमिरेले ग्यास स्टेशन (पेट्रोलपम्प) मा सँगै काम गर्दै आएका फु छेवाङको गोली हानेर हत्या गरेको समाचार सार्वजनिक भयो।
घिमिरे ५६ वर्षीय छेवाङसँगै बसोबास पनि गर्थे। उनी पक्राउ पनि परेका छन्। दोषीले सजाय पनि पाउलान् तर जसको ज्यान गएको छ, उनी फर्किएर आउनेवाला छैनन्। घटना निकै ह्रदयविदारक छ।
यस्तो घटना किन घटछ? यो कि गोली हान्नेलाई थाहा होला, कि मृत्यु हुनेसँगै यस्ता घटनाका कारण पनि चिहानमा बिलिन भइसकेको छ। तर, समाजशास्त्रको विद्यार्थी भएका कारण पंक्तिकारलाई लागेका केही संभावित कारणाका आशंका यहाँ प्रस्तुत गर्न खोजेको छु।
थेसिस नम्बर एकः कुनै पनि नेपाली अमेरिका आउँदा ऊ एउटा व्यक्तिभन्दा पनि पत्रकार, साहित्यकार, कलाकार, खेलाडी, नेताजस्ता आफ्नो नामको अगाडि अनेक फुर्को जोडेर आउने गर्दछ। यी सबैलाई सबै कुराको ज्ञान भएको भ्रम ऊभित्र हुन्छ।
अध्यागमनको विषयमा सबै जानकार छन्। कसले 'ग्रीन कार्ड' पाउने वा नपाउने– त्यो एउटा नेपालीलाई सोधेमा उसले फरर बताइदिन्छ।
अझ तन्नेरी नेपालीसँग कुराकानी गर्ने हो भने त उनीहरुले नै 'अमेरिका मैले धानेको छु' जस्तो गरी प्रस्तुत हुन्छन्। हामीलाई 'कसले के नै गर्नसक्छ र' भन्ने खोक्रो घमण्डले भरिएका उनीहरु कसैलाई मान्छे गन्दैनन्। यो विषय छेवाङले घिमिरेलाई बताउन खोज्दा घटना भएको हुन सक्छ।
थेसिस नम्बर दुईः नेपाली समुदायमा शक्तिशालीले कमजोरलाई उसको जात, शारीरिक रुप, रङ्ग आदिको मध्यमबाट जिस्काउने र होच्याउने चलन छ। यिनीहरुको हकमा पनि यस्तै कारणले रिसलाई नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको हुनसक्छ।
थेसिस नम्बर तीनः छेवाङ र घिमिरे एउटै कोठामा बस्ने हुँदा घर कसले सफा गर्ने, खाना कसले बनाउने जस्ता झिना–मसिना कुरामा वादविवाद भएको पनि हुन सक्छ। यसरी सँगै बस्ने दुई तीन जना हरेकको मनमुटाव भएको हुन्छ, तर आर्थिक कारणले सँगै बस्नुपर्ने बाध्यता छ। यस्तै कुरामा विवाद बढ्दै गएको र यो दुर्घटना भएको हुनुपर्छ।
थेसिस नम्बर चारः ग्यास स्टेशनमा सँगै काम गर्ने र दुवै जनाले पैसामा हेरफेर गरेको र एकले अर्काको पोल खोल्ने वा खोलिदिने डरले यो घटना घट्न गएको हुन सक्छ।
चौथो नम्बरको कुरालाई बल पुग्ने गरी जानकारी पनि आइरहेका छन्, तर यसमा कति सत्यता छ, त्यो अनुसन्धानपछि खुल्ने कुरा हो। यसमा विश्वास गर्न सकिने ठाउँ नभएको होइन। यस्ता घटना अरु स्थानमा पनि भएका छन्, तर गोली हानेर मान्छे मरेको भने सम्भवत: यो पहिलो घटना हुनुपर्छ।
पंक्तिकारले माथि नै भनेजस्तै यो केवल आशंका मात्र हो, तर यो आशंका बकम्फुसे भने होइन। यस्ता घटना फेरि नदोहरियोस् भन्नको लागि सम्बन्धित व्यक्ति आफैँ जिम्मेवार हुनु जरुरी छ। कसैले कसैको जिम्मा लिन सक्दैन।
यो दुर्घटनापछि आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने केही उप–बुज्रुकहरुले अनेक नाटक मञ्चन गरेका छन्, तर अपसोच! यस्ता तोरीलाहुरेहरुको कुरा यता कसैले सुन्दैन।