पोखरा महानगरभित्रैको सडक एक महिनादेखि ठप्प 

अर्चलबोटका विशाल भुजेल बिहानै पुरञ्चौर हिडेका थिए। दाईले किनेको जग्गा हेर्न उनी पुरञ्चौर जानु थियो। स्कुटरमा लामाचौर हुँदै बिशाल पुरञ्चौर हानिए। 

लामाचौरबाट अघि लाग्ने बित्तिकै अलिकति उकालो उक्लिनुपर्छ। एल एञ्जल बोर्डिङ स्कुल भुवनपुरेदेखि करिब १ सय मिटर जति के उक्लेका थिए। पहिरोले रोकि हाल्यो। ‘दाईले किनेको जग्गा छ पुरञ्चौरमा। तिरो तिर्न भनेर हिडेको बाटो बन्द रैछ। थाहै भएन,’ उनले भने। 

पुरन्चौर, भुजुङ खोला, गण्डकी रेम्बो ट्राउट लगायतका ठाउँलाई पोखरासँग जोड्ने यो बाटो एक महिनादेखि अबरुद्ध छ। पोखरा १९ अन्र्तगत भुवनपुरेमा माथिपट्टीबाट पहिरो खसेपछि आउजाउ गर्ने बाटै थुनिएको छ। 

वैकल्पिक बाटो थाहा नहुनेहरु भुवनपुरेसम्म आउछन्। बाटो पहिरोले थुनिदिएको छ। बिच बाटोबाटै फर्कन्छन्। 

स्थानीय इश्वरी परियार बर्खा लाग्ने बित्तिकै बाटोको यहीँ हालत हुने बताउछन्। ‘पोहोरदेखि लथालिंग छ यो बाटो। पोहोरदेखि पहिरो खस्न थालेको थियो। बर्खा लाग्ने बित्तिकै पहिरो खस्छ,’ उनले भने, ‘अहिले पनि बर्खा सुरु भएपछि पहिरो खस्न थालेको हो। एक महिना जति भयो होला अहिले पूरै बाटो नै बन्द छ।’

पहिरोले काम विशेषले हिडेकाहरुलाई मात्र नभई आफूहरुले पनि सास्ती खेप्नु परेको उनले बताए। पानी परेपछि पहिरो फेरि खस्न थाल्छ। ढुंगा खस्ने डर पनि उत्तिकै रहन्छ। पहिरोले घाँस, दाउरा गर्न समेत गाह्रो भएको उनले सुनाए। ‘उता चितेपानीमा खेत छ हाम्रो। बाटो बन्द भए पनि रोपाईँ गर्न त जानु प¥यो,’ उनले भने,‘पहिरोले एकदमै गाह्रो बनायो। चार खुट्टा टेकेर रोपाईँ गर्न जाने आउने ग–यौं।’

लामाचौर हुँदै भुजुङ, पुरन्चौर जाने यो बाटो पहिरोले थुनेपछि वैकल्पिक बाटो समाउनुपर्छ। हेम्जा हुँदै जान सकिन्छ। लामाचौरबाट ठुलीपोखरी, मैदान हुँदै पहिरो छलेर जान पनि सकिन्छ। तर, यो बाटो निकै फेरो पर्छ। यसरी वैकल्पिक बाटो समातेर पुरञ्चौर पुग्न भुवनपुरे हुँदै जाँदा लाग्ने समय भन्दा डेढ घण्टा बढी समय लाग्छ। 

स्थानीय धनबहादुर परियार पहिरोले सास्ती खेप्नु परेको बताए। पहिरोले जोखिम मोलेर खेती गर्न हिड्नु परेको उनको दुःखेसो छ। ‘पातालबाट हिड्न पनि जोखिम, पहिरोले बाटो थुनेको छ,’ उनले भने।

वडाध्यक्ष शोभामोहन पौडेल बर्खा नसकिएसम्म माथिपट्टीबाट पहिरो खस्न नरोकिने हुँदा पहिरो हटाउन नसकिएको बताउछन्। पानी पर्ने बित्तिकै पहिरो खस्छ। बर्खामा कुन बेला पानी पर्छ थाहै हुन्न। पानीको निधो नभएकाले हेम्जा र घार्मीबाट वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको उनले सुनाए।

‘माथिबाट पहिरो खसेको खस्यै हुनाले फाल्ने अवस्था छैन। तलपट्टी भोटी खोलाको सिँचाई, आज ५ दिन भयो लामाचौरमा खानेपानीमा पनि आएको छैन। बाटो बन्द भएको त एक महिनै हुन लाग्यो,’ उनले भने, ‘त्यही पहिरोको कारणले। सिँचाइ कुलो पाइप लगाएर खेत रोप्ने काम गरियो। त्यो माटो पनि त्यही फाल्न पाइन्न। त्यसलाई निकाल्न पर्छ। ढुंगा, माटो बगि रहने हुनाले दुई दिन राम्रोसँग घाम नलागि जान सकिन्न।’ घाम लाग्दा पनि फुको पहिरो झरि रहने हुुँदा पहिरो हटाउन नसकिएको उनले सुनाए। घाम लागे पनि डोजर चालकलाई जोखिम मोल्न लगाउन नसकिने उनले बताए। 

अबरुद्ध खानेपानीको लाइन पुन सञ्चालनमा ल्याउने प्रयास भई रहे पनि बाटो तत्काल सञ्चालनमा ल्याउन नसकिने उनले बताए। ‘माथिपट्टीबाट पहिरो खसिरहने तल काम गर्नुपर्ने। एकदम पूरानो रोगी जस्तो भएको छ, दुवै एक ठाउँमा जोडिएका छन्,’ उनले भने, ‘हामीले कोसिस गरेका छौं। तर, राम्रोसँग घाम नलागेसम्म बाटो खुलाउन सकिन्न।’ 

बाटो सञ्चालनमा ल्याउन आफूहरूले सक्दो कोसिस गरिरहेको उनले बताए।

प्रकाशित मिति: : 2021-07-21 07:29:00

प्रतिकृया दिनुहोस्