एनआरएनए युएईमा भाँडभैलो, उपाध्यक्ष र महासचिव निलम्बित 

अधिवेशनको मुखैमा एनआरएनए युएईका पदाधिकारीहरुले एकआपसमा आरोप-प्रत्यारोप गर्दै भाँडभैलो गरेका छन्।

अधिवेशन तयारीका लागि सोमबार आयोजना गरिएको एनआरएनए युएईका पदाधिकारी तथा सल्लाहकारहरुको संयुक्त भर्चुअल बैठकमा एनआरएनए युएईका महासचिव निश्चल दहाल र सचिव रमेश क्षितिजबीच कार्यक्रम कसले संचालन गर्ने भन्ने विषयमै विवाद भएको थियो।

क्षितिजले कार्यवाहक अध्यक्ष निरन्जन शिलवालको निर्देशन अनुसार आफूले कार्यक्रम संचालन गर्न पाउनुपर्ने दावी गरिरहँदा महासचिव दहालले आपत्ति जनाएका थिए। उनले महासचिवको हैसियतले आफूले कार्यक्रम संचालन गर्ने भन्दै क्षितिज बोलिरहँदा विरोध गरेका थिए। सचिव र महासचिवको वादविवाद चलिरहँदा कार्यवाहक अध्यक्ष निरन्जन शिलवालसहित अन्य पदाधिकारीहरु मुकदर्शक बनेका थिए।

यसैगरी विवादका बीच संचालन भएको बैठकले उपाध्यक्ष पासाङ शेर्पा र महासचिव निश्चल दहाललाई संस्थाको विधानविपरीत कार्य गरेको ठहर गर्दै निलम्बन गरेको छ। उनीहरुमाथी कार्यवाहक अध्यक्ष निरन्जल शिलवालको हस्ताक्षर दुरुपयोग गरि आफूखुसी विभिन्न निर्णय गरेको आरोप लागेको छ। उपाध्यक्ष शेर्पाले भने उक्त बैठक नै अवैधानिक रहेकोले कारवाहीकाे औचित्य नरहेको बताएका छन्।

बैठकले आगामी ३१ जुलाईमा आयोजना हुने अधिवेशनका लागि ठाकुर प्रसाद ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) द्वारा संचालित परियोजनामा आर्थिक घोटाला भएपछि पछिल्लो समय युएईमा एनआरएनएको आवश्यकता माथि नै प्रश्न उठ्न थालेको छ। अधिवेशनको मुखैमा आउँदासमेत संस्थाको गतिविधि शून्य देखिएको छ।

यद्यपि, एनआरएनए निकट श्रोतले अधिवेशनको तयारी भित्र-भित्रै भईरहेको जानकारी दिएका छन्। यसपटक पनि राजनैतिक भागवण्डाका आधारमा पदाधिकारीहरु चयन गर्ने तयारी भईरहेको श्रोतको भनाई छ।

प्रकाशित मिति: : 2021-07-20 07:00:00

प्रतिकृया दिनुहोस्